तनहुँमा डेंगुको संक्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगुका बिरामीको संख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । गत शनिबार मात्रै एघार जनामा डेंगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ ।

अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सय जनाको हाराहारीमा डेंगु संक्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेंङगु पोजेटिभ भेटिएको हो ।

एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले बताए । डेंगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उनले बताए ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच/सात जनामा डेंगु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुइ सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् ।

उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस-१ परीक्षण गर्दा डेंगु भेटिएको हो । उनले भने, ‘आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ । उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेंगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिन्छ ।’

पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको अहेबा क्षेत्रीले बताए । डेंगुबाट बच्नको लागि टोल-टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ ।

ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधि सेवन नगर्ने, सिटामल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अभिनन्दन तिवारीले बताए । आफ्नो घर वरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

यस्तै, हालसम्म डेंगुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार ९७५ जनामा सो रोग संक्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोमबार २६ कोरोना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५६९ छ ।

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker