व्यासनगर शिक्षा सुधार योजना पारित, एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

दमौली : तनहुँको व्यास नगरपालिकाले नगर शिक्षा सुधार योजना पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपनेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख केदार आचार्यबाट प्रस्तुत व्यासनगर शिक्षा सुधार योजनालाई सुझाव सहित पारित गर्ने निर्णय गरेको हो ।
अगामि मंगलबार हुने नगरसभामा विभिन्न प्रस्ताव तय गरी प्रस्तुत गर्न नगर प्रवक्ता एवं वडा नं. ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा ५ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङ, वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सुशीला दुरा गुरुङ र रनसिं नेपाली रहेका छन् ।
कार्यपालिका बैठकले नगरपालिकाको मध्यकालीन खर्च संरचना २०८२ पारित गर्ने निर्णय गरेको छ । बैठकले व्यास जयन्ती एवं गुरु पूर्णिमा मनाउनका लागि सम्बन्धित संघ संस्थासँग सहकार्य गरी मनाउने निर्णय गरेको छ ।
यस्तै, व्यास नगरपालिका भित्रका सामुदायिक तथा संथागत विद्यालयबाट यस वर्षको एसईई परीक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक वधाई ज्ञापन गर्दै सम्पूर्ण माध्यमिक विद्यालयलाई गतवर्षको तुलनामा प्रगती गरेकाले धन्यवाद ज्ञापन गरिएको छ ।
कार्यपालिका बैठकले स्वास्थ्य शाखालाई व्यवस्थित गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण प्राप्त प्रतिवेदनलाई संशोधनसहित आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ । नगरपालिकाको प्रशासनिक संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई अध्यावधिक गर्न नगरसभामा प्रस्ताव पेश गरिने भएको छ ।
यस्तै, नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को असार २० गतेसम्म आन्तरिक आयमा रु १४ करोड ९५ लाख प्राप्त भएको र नगरपालिका अन्तर्गतका कुल १०४३ योजनामा ८५३ (८१.७८%) सम्पन्न, सम्झौता भएको १८२ (१७.४५%) र सम्झौता हुन बाँकी योजना ८ (१.२८%) बाँकी रहेको जनाइएको छ ।
एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई
व्यास नगरपालिकाले एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई आइतबार सम्मान गरेको छ । जिल्ला सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतले विद्यार्थीलाई खादा लगाएर सम्मान गरेका थिए ।
नगरप्रमुख न्यौपानेले विद्यार्थीहरूलाई निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिँदै व्यास नगरपालिका सधैँ शिक्षा, युवा तथा भविष्य निर्माणमा समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नगरपालिकाभित्रको गत वर्ष २०८० मा एसईई सफलता दर ४५.०८ प्रतिशत मात्र रहेकामा यस वर्ष सो दर ७५.०७ प्रतिशतमा उक्लिएको नगरपालिकाले जनाएको छ ।










