हिमालपारिको जिल्ला मुस्ताङमा बढ्यो चहलपहल

वासुदेव पौडेल/नीरज थकाली

कोरोना कहरका कारण दुइ वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैँलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर बस्न बाध्य सर्वसाधारण यतिखेर भ्रमणका लागि मुस्ताङ पुगेका छन् । दसैँको टीकालगत्तै पछिल्ला दिनमा मुस्ताङमा पर्यटकको आगमन बढिरहेको थासाङ गाउँपालिका-४ घाँसास्थित होटेल वर्ल्ड मुस्ताङका सञ्चालक विक्रम गौचनले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानबाट आएका पर्यटकहरू पोखराबाट स्थल मार्ग हुँदै कुस्मा बेनी हुँदै मुस्ताङसम्म आउने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना जोखिम कायमै रहेका कारण घाँसामा स्वदेशीका लागि दुवै मात्रा लगाइएको खोपको कार्ड वा पिसिआर रिपोर्ट वा एन्टिजेन परीक्षण रिपोर्टमध्ये एक र विदेशी पर्यटकको हकमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । पछिल्ला समयमा नेपालीमा पनि घुमफिर संस्कृतिको विकास हुँदै गएका कारण आन्तरिक पर्यटकहरू घुमफिरमा निस्कने गरेका छन् ।

मुस्ताङ आउने अधिकांश पर्यटक यहाँको भूबनोटको दृश्यावलोकनसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्ने गर्दछन् । मुस्ताङ आएकामध्ये कतिपय मुक्तिनाथको दर्शन गरेर मात्रै र्फकन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ पुगी नेपाल र चीनबीचको कोरोना नाकासम्म पुगेर फर्कन्छन् । पछिल्लो समय मुस्ताङका विभिन्न स्थानमा सुविधासम्पन्न होटेल निर्माण हुँदै गएका कारण पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विगतमा मुक्तिनाथ दर्शनका लागि जाने दर्शनार्थीले होटेल नहुँदा खानेकुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जानुपर्ने बाध्यता पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनेको छ । पछिल्ला वर्षमा यहाँ बनेका सुविधासम्पन्न होटेलमा पोखरा, काठामाडौँमा जस्तै सबै किसिमका सेवासुविधा उपलब्ध हुने गरेको होटेल ग्रान्ड साम्बाला मुक्तिनाथका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । दसैँको दिनपछि देखिएको आन्तरिक पर्यटकको चहलपहलले आफूहरूलाई उत्साहित बनाएको उहाँले बताउनुभयो ।

तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि भारतीय पर्यटकको आगमन हृवात्तै बढेकामा कोरोना कहरका कारण दुइ वर्षयता खासै भारतीय पर्यटक मुक्तिनाथ पुग्न सकेका छैनन् । कोरोनाको कहर साम्य भएसँगै आगामी दिनमा भारतीय पर्यटकको आगमन पूर्ववत् रूपमा नै बढ्ने विश्वास लिइएको पर्यटन व्यवसायीहरूले बताए ।

मुस्ताङमा पर्यटकको आगमन बढे पनि केही दिनयता परेको पानीका कारण यहाँ जाने मार्गअन्तर्गत काभ्रे डाँडा, रुप्से लगायतका स्थानमा बाटो बिग्रदा यात्रुहरूले समस्या भोग्नुपरेको छ । यात्रुको सहजताका लागि ब्रि्रेभत्केका बाटोमा सवारी साधन नरोकियोस् भन्ने उद्देश्यका साथ स्थानीयवासी एवं राज्यका सरोकारवाला निकायको पहलमा रोकिएका बाटो खुलाउने र सवारीसाधन सञ्चालनमा ल्याउने पहल पनि भइरहेको छ । पछिल्ला वर्षमा सडकको पहुँच र यातायातको सुविधा वृद्धि हुँदै गएसँगै मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायीको तर्क छ ।

होटेलमा पूर्वाधारको विकासका साथै बेनी-जोमसोम-मुक्तिनाथ सडक क्रमशः व्यवस्थित बन्दै जान थालेका कारण पनि नेपाली र भारतीय तीर्थालुको आवागमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । कोरोनाको कहरले दर्शनार्थीको आगमन प्रत्यक्ष प्रभावित भए पनि मन्दिर खुलेसँगै यस वर्ष स्रोह्र श्राद्धको समयदेखि नै फाट्टफुट्ट धार्मिक पर्यटकको आगमन बढेको र दुर्गा पक्ष सुरु भएपछि दिनानुदिन दर्शनार्थीको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो ।

मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रूपमा लिइन्छ । तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ती छ । यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वासका कारण पनि देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । दसैँयता जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङ लोमन्थाङसम्म आउने पर्यटकको संख्या दिनानुदिन बढिरहेको मेस्टिक होटेल लोमन्थाङका सञ्चालक राम गुरुङले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker