दमौली पाटन महोत्सव : राजु र कमलाले तताए

तनहुँको व्यास-५ पाटनमा सञ्चालित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक राजु परियार र बाल कलाकार कमला घिमिरेले महोत्सव स्थल तताएका छन । कलाकारद्वय राजु र कमलाको दोहोरीले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो । कमलाले चिया छानेको, म्याउ बिरालो, डोको बुनेर लगायतका चर्चित गीतहरुको प्रस्तुति दिएकी थिइन् ।
यस्तै, कमला र राजुको दोहोरीमा दर्शकहरुको वान्स मोरको आवाज गुन्जिएको थियो । महोत्सव स्थालमा स्थानीय कलाकारहरुको पनि साँस्कृतिक प्रस्तुती रहेको थियो । महोत्सवको तेस्रो दिन ३ हजार ५ सय दर्शकले महोत्सवको अवलोकन गरेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । दर्शकहरु साँझसम्म पनि बसेर कमला घिमिरे र राजु परियारको दोहोरीमा रमाएको उनले बताए । न्यानो कपडाको स्टलहरुमा दर्शकको घुइचो लागेको महोत्सवका मुल संयोजक पवन चुमी थापा मगरले बताए । च्याउको मःमः, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्री, बोटेको ऐतिहासिक घर, ढाका उद्योग, महोत्सवको आकर्षण बनेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।
महोत्सव स्थल जान व्यास झुला र बोटेहरुले निर्माण गरेको बाँसको अस्थायी पुलमा प्रहरी राखेर थोरै मात्रामा दर्शकहरुलाई आवतजावत गराइएको थियो । मादी नदी वरपार गर्न २ वटा बोट राखेर ढुंगा समेत संचालन गरिए पछि महोत्सवको रौनक बढेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए। यस्तै, महोत्सवको चौथो दिने सोमबार कलाकारहरु धिराज राइ र छिरिङ भुटिया, पोख्रेली कलाकार साधना वास्तोला लगायतको सांगितिक प्रस्तुति रहने बताइएको छ ।










