२०९औं भानुजयन्ती : राष्ट्रिय कविता प्रतियोगितामा रामेछापका परियार प्रथम
भञ्ज्याङ न्यूज

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्तीका अवसरमा मंगलबार आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु नगरपालिका-४ चुँदीरम्घामा आयोजना गरेको कविता प्रतियोगितामा २४० अंक प्राप्त गरी परियार प्रथम भएका हुन् । प्रतियोगितामा उनले ‘सूर्यमुखी फूल’ शीर्षकमा कविता वाचन गरेका थिए ।
प्रतियोगितामा पर्वतका तारानाथ पराजुली २३८ अंक प्राप्त गरी द्वितीय भएका छन् । उनले ‘नजन्माइएका छोरीहरु’ शीर्षकमा कविता वाचन गरेका थिए । पर्वतकै लक्ष्मीदेव गौडेल २३६ अंक प्राप्त गरी तृतीय भएका छन् । उनले ‘प्रिय कविको सम्झनामा’ शीर्षकमा कविता वाचन गरेका थिए ।
यस्तै, अछामका मीनप्रसाद पाण्डे २३५ अंकसहित सान्त्वना प्राप्त गरेका छन् । उनले ‘मुजारे गुराँस’ शीर्षकमा कविता वाचन गरेका थिए । मोरङका केशव भण्डारी कञ्चन २३१ अंक प्राप्त गरी सान्त्वना प्राप्त गरेका छन् । उनले ‘देश छाड्नुअघि’ शीर्षकमा कविता वाचन गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १५ कविको सहभागिता रहेको थियो । ३५ जिल्लाबाट ११२ कविता प्राप्त भएकामा प्रतियोगिताका लागि १५ कविता छनोट गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र सान्त्वना हुने दुइ जनालाई जनही रु पाँच हजार प्रदान गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।
पुरस्कार वितरण असार २९ गते बुधबार भानु जयन्तीको अवसरमा गरिनेछ । प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल संयोजक रहेका थिए भने सदस्यमा प्राज्ञ धीरेन्द्र प्रेमर्षी र डा विन्दु शर्मा थिए ।
यसैगरी भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुस्मिता तिमिल्सिना प्रथम, मधुकला आचार्य द्वितीय, सञ्जय श्रेष्ठ तृतीय, विदुर खनाल र केशवप्रकृति तिमिल्सिना सान्त्वना स्थान प्राप्त गरेका छन्। विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा अभिप्सा सापकोटा प्रथम, आयुष आचार्य द्वितीय, आशीर्वाद कट्टेल तृतीय, वीनाभक्त नेपाली र विनिषा श्रेष्ठ सान्त्वना भएका छन् ।