तनहुँमा सात सय ३२ मा डेङ्गु सङ्क्रमण

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँले डेङ्गु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले यसबाट जोगिनु नै डेङ्ग्बाट जोगिने उपयुक्त उपाय भएको उहाँको भनाइ थियो ।
“डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षादको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ”, अधिकारीले भन्नुभयो, “एक्कासि तीनदेखि पाँचदिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो ।
यसरी आएको ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्दछ ।” उहाँका अनुसार ज्वरोका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गुका लक्षण हुन् ।
डेङ्गुबाट बच्नका लागि पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर तथा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बच्ने मलम प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बढी शुल्क लिएको गुनासोपछि अनुगमन

डेङ्गु परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएको गुनासो आएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको मङ्गलबार अनुगमन गरिएको छ । बजार क्षेत्रमा सञ्चालित अस्पताल तथा क्लिनिकले चर्को शुल्क लिएको गुनासोपछि प्रशासन कार्यालय तनहुँको नेतृत्वमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताउनुभयो ।
डेङ्गु परीक्षण गर्दा अत्याधिक शुल्क लिएको गुनासो आएपछि सोही विषयमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले रू छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
डेङ्गु परीक्षण गर्ने किटको औषत मूल्य तथा छिमेकी जिल्लाको अभ्यास समेतलाई दृष्टिगत गरी प्रति परीक्षण बढीमा रू छ सय शुल्क लिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताउनुभयो । “बैठकले बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालक जिम्मेवार हुने, जिल्लामा किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालय तनहुँले नियमित रुपमा अनुगमन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
जिल्लामा डेङ्गुको सङ्क्रमण बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker