पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित जगदीश्वर आधारभूत विद्यालयलाई सोही ठाउँ घर भई हाल नारायणगढ बस्ने इश्वरी श्रेष्ठले आर्थिक सहयोग गरेकी छन् । श्रेष्ठले आफ्ना बालबालिकाहरुले अक्षर सिकेको उक्त विद्यालयलाई एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेकी हुन्।
उक्त रकम सोमबार उनले विद्यालयका अध्यक्ष होमबहादुर थापालाई हस्तान्तरण गरेकी छन् । विद्यालयका प्रधानाध्यापक रामविलाश पोखरेलले विद्यालयको भवन निर्माणका क्रममा अभिभावक तथा पूर्व विद्यार्थीहरु सबैसंग सहयोगको अनुरोध गर्दै जाँदा जन्मभुमि र कर्मभुमि सम्झेर श्रेष्ठले सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा श्रेष्ठका सुपुत्र उमेश श्रेष्ठ तथा छोरीहरु रजनी र गोमा तथा ज्वाइहरु केशव र रजिनलालको उपस्थिति थियो । दाताको तर्फबाट बोल्दै रजिनलाल श्रेष्ठले आफ्ना बालबालिकाले कखरा सिकेको विद्यालयलाई सहयोग गर्न पाउँदा आमालाई आत्मसन्तुष्टिको अनुभुति भएको तथा यो नै पहिलो भएपनि अन्तिम भने नभएको बताए ।
उनले सहयोगलाई निरन्तरता दिइने र यस्ता सहयोगले एउटा प्रस्थान बिन्दुको रुप लिएर भावि दिनहरुमा अरु शुभेच्छुकहरुलाई पनि हौसला पुग्नुका साथै मुर्झाएको बिमलनगरलाई ब्युताउन विद्यालयको उन्नयन हुनुपर्ने बताए ।










