महोत्सवमय गण्डकी

रासस/गण्डकी

‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य संघले चार वर्षछि सो महोत्सव आयोजना गरेको हो ।

अंग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा विहीबारदेखि सडक महोत्सव सुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाले आफ्नो ३२औँ संस्करण हालै पूरा गरेको छ ।

युनाइटेड युवा क्लब १२औँ संस्करणको पोखरा महोत्सव आयोजनाको संघारमा जुटेको छ । पोखरा महोत्सव यही पुस २६ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । यही पुस १९ गतेदेखि स्याङ्जा आँधीखोला महोत्सव सुरु हुँदैछ । स्याङ्जा चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त महोत्सव आगामी माघ २ गतेसम्म चल्नेछ । माघे संक्रान्ति पर्व पारेर म्याग्दीको बेनी, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा ठूलो मेला लाग्दैछ । यी मेला इतिहास र परम्परासँग जोडिएका छन् । चार्डपर्वका याममा गाउँघरमा आयोजना गरिने स-साना मेला, उत्सवले पनि उस्तै रौनक थपिरहेका छन् । यसै पनि हिउँद मेला-महोत्सवको याम हो ।

दुइ वर्षअघिसम्म कोभिड-१९ महामारीले मेला-महोत्सव ठप्प थिए । महामारी अन्त्यपछि मेला-महोत्सवको लहर नै चल्न थालेको हो । यस्ता मेला-महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध संघसंस्था, स्थानीय क्लबलगायत छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् ।

मुलुक आर्थिकमन्दीको मारमा परिरहेका बेला मेला-महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने गरेको व्यावसायिक क्षेत्रका अगुवा बताउँछन् । महोत्सवमा हुने किनमेल र बन्द व्यापारले थोरै भए पनि व्यवसायीले राहतको महसुस गर्न पाएका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधिमा मेला-महोत्सवले टेवा पुर्‍याउने बताउनुभयो ।

“महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्”, उहाँले भन्नुभयो, “कोरोना महामारी र आर्थिकमन्दीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुगेको छ ।” महोत्सवबाट नाफाघाटा मात्र नसोचेर आयोजकले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उहाँले बताउनुभयो । विगतका महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, चिडियाखाना निर्माण र पर्यटन प्रवर्द्धनमा खर्च गरेको क्लबले यसपालिको महोत्सवबाट बचेको रकमलाई न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा खर्च उद्देश्य लिएको छ ।

लेखनाथ महोत्सवको प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदीले बुधबारसम्ममा उक्त महोत्सवमा झण्डै रु पाँच करोड दस लाख बराबरको कारोबार भएको बताउनुभयो । यही पुस ५ गतेदेखि चलिरहेको महोत्सवलाई हालसम्म दुइ लाख १५ हजार बढी दर्शकले अवलोकन गरेको उहाँको भनाइ छ । आयोजकले महोत्सवबाट रु ९० लाख आम्दानी गर्ने र खर्च कटाएर रु दश लाख बचत गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवं बिक्री, शैक्षिक प्रदर्शनी, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष राखिएको छ । महोत्सवमा ३३४ व्यावसायिक कक्ष रहेको संयोजक सुवेदीले जानकारी दिनुभयो । जातीय वेशभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गर्ने गरिएको छ । महोत्सवमा दैनिकरुपमा कलाकारको साङ्गीतिक प्रस्तुति भइरहेको छ । रमाइलो बाल उद्यान, प्रतिभा पहिचान, हाँस्यव्यङ्ग्य प्रहसन, कविता प्रतियोगिता, लोकदोहोरी प्रतियोगितालगायत लेखनाथ महोत्सवका आकर्षाका रुपमा रहेका छन् । यस्तै ‘रेवान’ पोखराले आयोजना गरेको सडक महोत्सवलाई लक्ष्य गरी फेवा किनारलाई सिँगारेर चिटिक्क पारिएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने आदर्श वाक्यसहित सुरु भएको सो महोत्सवलाई करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो । विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शन, लोकदोहोरी प्रतियोगिता, सडक नाटक, झाँकी प्रदर्शन, रात्रिकालीन ‘कर्न्र्सट’ लगायत महोत्वका मुख्य आकर्षा हुन् ।

पोखराको पर्यटन विकास, प्रवर्द्धन र परिवर्तित समयमा पोखराको पर्यटनमा देखिएका अवसर र चुनौतीको विषयमा बहस कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायत कृषिउपजको प्रदर्शनीलाई पनि महोत्सवमा समेटिएको संयोजक पौडेलले बताउनुभयो । बुधबारदेखि सुरु भएको बागलुङ महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । यही पुस २१ गतेसम्म चल्ने महोत्सवको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

उक्त महोत्सवमा एक सय २० व्यावायिक र ३० वटा प्रवर्द्धनात्मक कक्ष रहेको आयोजकले जनाएको छ । लोकदोहोरी, भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन लगायत कार्यक्रमलाई महोत्सवमा समेटिएको अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवबाट मौलिक संस्कृतिको संरक्षण र जगेर्नामा पनि योगदान पुग्न उहाँको भनाइ छ । जातजातिका मौलिक वेशभूषासहितका नाच र झाँकीले महोत्सवमा आकर्षण थप्ने गरेका छन् । लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफैँ पनि लालयित हुन्छन् ।

पैसा खर्चेर भएपनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन् । डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले पोखरामा हुने हरेक महोत्सवमा गुरुङ संस्कृति देखाउने गरिएको बताउनुभयो । “मेला, महोत्सवले संस्कृति बचाउने काम गरेको छ, आयोजकले आमन्त्रण गरेको ठाउँमा हामी पुग्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको कुरालाई मानिस रमाउँछन्, चासोपूर्वक लिन्छन् ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker