कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित
भञ्ज्याङन्यूज

कौडा सर्जक तनहुँका रेशम गुरुङ जापानमा सम्मानित भएका छन् । तमू धीं जापानले टोकियोमा आयोजना गरेको २९औं तमू ल्होसार साँझ सन् २०२४ का अवसरमा गुरुङलाई ‘स्रस्टा सम्मान’बाट सम्मानित गरेको हो ।
नेपाली लोक गीत, संगित र गुरूङ चलचित्रमा योगदान पुर्याएको भन्दै तमू धीं जापानले गुरुङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष रोविन प्रसाद सेरचनद्वारा सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।
तनहुँको ऋषिङ गाउँपालिका-८ अर्चलेमा वि.सं. २०२५ वैशाख १३ गते जन्मिएका गुरुङले २०४० सालमा रेडियो नेपालको चौतारी कार्यक्रमबाट प्रत्यक्ष गायन यात्रा सुरु गरी २०४४ सालमा पहिलो गीत ‘हरियो मकैको टुप्पैमा फुरुका’ र २०४६ सालमा रेडियो नेपालबाट ‘साभुङ बजार’ गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका थिए ।
वेशी बेलघारी, सुन्तला र स्याउ, मंगोलियन हार्ट व्याण्डमा रहेको ‘रुमालै गोजीमा, जाउँ कान्छी चितवन’ जस्ता चर्चित गीतहरु गाएका गुरुङले गुरुङ, मगर समुदायका चर्चित कौडा गीत, तमु गीतहरुमा शब्द संगित भरेका छन् ।
२०५९ सालमा काशी फिल्मबाट तमु चलचित्र क्षेत्रमा प्रवेश गरेका गुरुङले म्हिथेवा, नानु, मिं, छ्याँवहानी, स्याङजाली ठिटो, मेरो सोल्टी, खैं ओ म्हिथेवा, जिउँदो लास, स्यू रु, ह्रोसै ङ्हो, रिपा लगायत दुइ दर्जन बढी तमू चलचित्र र केही नेपाली चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

‘रोधी’ सिने अवार्ड २०७३, मनास्लु राष्ट्रिय अवार्ड २०७५, मनास्लु राष्ट्रिय अवार्ड २०७५, प्रथम राष्ट्रिय आदिवासी संगित तथा चलचित्र अवार्ड २०८० लगायतका अवार्ड तथा विभिन्न संघ संस्थाहरुबाट गुरुङ सम्मानित भइसकेका छन् ।
तमू कलाकार संघ, नेपाल काठमाडौंका संस्थापक उपाध्यक्ष समेत रहेका रेशमले गुरुङ फिल्म एशोसिएसनको द्धितीय उपाध्यक्ष भई काम गरिसकेका छन् । आफुले गीत संगितको क्षेत्रमा गरेको योग्दानको उच्च मूल्याङ्कन गरी विभिन्न संघ संस्थाबाट हुने गरेका सम्मान तथा प्राप्त अवार्डले संगितिक क्षेत्र तथा ओझेलमा परेका र लोप हुँदै गएका परम्परागत संस्कृतिको संरक्षणमा लाग्न थप प्रेरित गर्ने गरेको उनले बताएका छन् ।










