क्षयरोगबाट तनहुँमा गत आर्थिक वर्ष २०७९/०८० सात जनाको मृत्यु

दमौली : गत आर्थिक वर्ष २०७९/०८० तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिकामा तीन, भानु नगरपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक र भिमाद नगरपालिकामा एकजना रहेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति सुदीप कँडेलले जानकारी दिनुभयो ।

तनहुँमा गत आर्थिक वर्षमा एक सय ५७ जनामा क्षयरोग पुष्टि भएको छ । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ सङ्क्रमित रहेका छन् । कँडेलका अनुसार भानु नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा २०, भिमाद नगरपालिकामा १३, देवघाट गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, घिरिङ गाउँपालिकामा सात, बन्दीपुर गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा छ र ऋषिङ गाउँपालिकामा तीनजनामा क्षयरोग पुष्टि भएको छ ।

क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको स्वास्थ्यकर्मी बताउँछन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । उहाँले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताउनुभयो ।

“उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपडताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताउनुभयो ।

क्षयरोगको शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker