एमाले तनहुँको अधिवेशन : पदाधिकारीमा कंडेल समुहको प्यानलै निर्वाचित, कस्ले कति मत पाए ?

नेकपा एमाले तनहुँको १०औं अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । गत शुक्रबारदेखि दमौलीमा आयोजित अधिवेशन अर्न्तर्गत मंगलबार साँझ सम्पन्न मतगणना अनुसार कंडेलले २९२ मत प्राप्त गरी निर्वाचित भएका हुन ।
अधिवेशनमा ५८५ मतदाता रहेकोमा ५६० जनाले मतदान गरेका थिए । पार्टीका नेताहरुले जिल्ला कमिटीको नेतृत्व र्सवसम्मत चयन गर्ने प्रयास गरेपनि त्यो सम्भव नभएपछि दुइ समुह बीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
चुनावी प्रतिस्पर्धामा कंडेल समुहको प्यानलै पदाधिकारीमा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त गरेका छन् । कंडेल समुहलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सहितका अन्य नेता तथा कार्यकर्ताको साथ रहेको थियो भने सिग्देल समुहलाई पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ रहेको बताइन्छ ।
यस्तै, जिल्ला कमिटीको उपाध्यक्षमा २७९ मत प्राप्त गरी राजेश्वर ढकाल निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी श्रीराम कार्कीले २१४ मत प्राप्त गरेका छन् । सचिवमा प्रदीपराज अधिकारीले २८० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि अनिल पाण्डेले २११ मत प्राप्त गरेका छन् ।
उपसचिवमा खिम कुमालले २९६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी आरके पोख्रेलले १८४ मत प्राप्त गरेका छन् । यस्तै, उपसचिव महिलामा सुनिता नेपालीले २८३ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उनकी प्रतिस्पर्धी बसुन्धरा घर्तीले १९७ मत प्राप्त गरेकी छन् ।
जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा २३ जना सदस्य निर्विरोध चयन भएका थिए भने अन्य पदमा आइतबार साँझ निर्वाचन भएकोमा अधिकांश सदस्यहरु कंडेल समुहका प्यानबाट निर्वाचित भएका छन् ।











