म्याग्दे अध्यक्ष कपको उपाधी आयोजक म्याग्दे गाउँपालिकाले जित्यो

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । म्याग्दे गाउँपालिका–५ छाङपाटनमा बुधबार सम्पन्न फाइनल खेलमा लमजुङको दोर्दी गाउँपालिकालाई पराजित गर्दै आयोजक म्याग्देले उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा म्याग्देले दोर्दीलाई ४–३ ले पराजित गरेको थियो ।
शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै म्याग्दे फाइनल प्रवेश गरेको थियो भने बन्दीपुर गाउँपालिकालाई पराजित गर्दै दोर्दीले फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विजेता आयोजक म्याग्दे गाउँपालिकाले रु तीन लाख नगद प्राप्त गरेको छ भने उपविजेता दोर्दीले रु एक लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगेको बन्दीपुर र शुक्लागण्डकीलाई रु १५/१५ हजार प्रदान गरिएको छ ।
म्याग्दे गाउँपालिकाले खेलकुदको माध्यमबाट म्याग्देको पहिचान गराउन उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।