गल्ति गर्नेले नै सजाय पाउनुपर्छ : कांग्रेस महामन्त्री थापा

दमौली : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जस्ले गल्ति गर्छ उसैले सजाय पाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को दोश्रो क्षेत्रीय सम्मेलनलाई बुधबार दमौलीमा सम्बोधन गर्दै उनले कानुनको शासन भएको देशमा जस्ले गल्ति गर्छ उसले सजाय पाउनुपर्ने मान्यता कांग्रेसको रहेको बताए ।
‘कोहिपनी दोषी उम्कन नपाउन् र निर्दाेष नफसुन् भन्ने विषयमा आफु स्पस्ट छु’, उनले भने, ‘गति मति र अवस्थिति सुधारेर अलिकति मात्रै काम गर्ने तरिका बदल्यौ भने पनि नेपाली जनताको चाहना क्रमशः पुरा हुँदै जानेछन् ।’
२०६० देखि ०७० सालसम्म हतियारसँग र २०७० देखि ०८० सालसम्म संविधानसंग भुल्नपरेपनि अहिले देशले विकासको गति लिन थालेको चर्चा गर्दै महामन्त्री थापाले भने, ‘अहिलेको सरकार ०८४ सम्म जाने र केही समय पछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ । विकास निर्माण र सुशासन दिन हामी लागिपरेका छौं ।’
अहिले नकारात्मक र गलत सोचबिचार बढेकाले नयाँ पुस्ताका युवाहरू सँग संवाद गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘देशलाई अनिश्चितता तिर लाने हैन, बिकास, समृद्धि तिर देशलाई अगाडि बढाउनुपर्छ । अब हामीले बदल्ने हो ।’, उनले पार्टीको चुनाबको समय कुनै पनि बहानामा दायाँबायाँ नहुने बताएका छन् ।
क्षेत्रीय सभापति श्याम मौरतीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, अजयबावु शिवाकोटी, पार्टी तनहुँका सभापति जित प्रकाश आले, निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, नेपाली कांग्रेस चितवनका पूर्व पार्टी सभापति जितनारायण श्रेष्ठ, गण्डकी प्रदेश सदस्य अशोककुमार श्रेष्ठ, महिला संघ सभापति पवित्रा पौडेल, दयानिधी नराल, राजु बानिया लगायतका वक्ताहरूले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरू तथा क्षेत्र नम्बर १ का ४२ वटै वडाबाट नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीहरूले पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।










