तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्ग : शिलान्यासको पाँच वर्षमा ४१ प्रतिशत प्रगति

कामको गति बढाउन शुक्लागण्डकीका नगरप्रमुख आर्थिक जमानी बसे

तनहुँ : वि.सं. २०५२ सालमा ट्रयाक खोलिएको तनहुँको दुलेगौडा–हर्कपुर सडक स्तरोन्नति नहुँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । ट्रयाक खुलेको २४ वर्षपछि यो सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भइ २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको भएपनि हालसम्म करिब ४१ प्रतिशत मात्र प्रगति देखाइएको छ ।
सम्झौताअनुसार वि.सं. २०७८ माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सडक स्तरोन्नती कार्यको पटक–पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शंकरमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा ठेक्का सम्झौता गरेको थियो ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडक’ अन्तर्गत अगाडि बढाइएको यस मोटरमार्गको स्तरोन्नतीको कामले तीब्रता नदिएपछि शुक्लागण्डकी नगरपालिकाले निर्माणको काम चाँडै सम्पन्न गर्न दबाब दिदै आएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
नगरपालिकाले कामलाई अगाडि बढाउन आइपर्ने समस्याको जमानि बसेपछि अलपत्र पारेर छाडेको निर्माण कम्पनी हाल काममा फर्किएर कामलाई तीब्रता दिन थालेको छ। शंकरमाली जेभिका प्रतिनिधि श्याम लामा अहिले मोटरमार्ग निर्माणमा आफै खटिएर स्तरोन्नतिको काम गर्न थालेको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले बताए ।
शुक्लागण्डकी–३ को बन्केवाको बगैचासम्मको १० किलोमिटर मोटरमार्ग कालोपत्रे गर्ने बनाउनेगरी काम भइरहेको बताउँदै नगरप्रमुख पण्डितले भने, ‘तत्कालका लागि कबिर ५ किलोमिटर सडक कालोपत्र गर्नका लागि हामीले दबाब दिएका छौ र यस कार्यका लागि आवश्यक पर्ने सामाग्रि खरिदका लागि आर्थिक जमानी समेत बसिएको छ ।’ प्रदेशको गौरवको आयोजना समयमा नै पूरा गर्न पटक–पटक दबाव दिएपछि हाल कामले गति पाएको नगर प्रमुख पण्डितले बताए ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।
निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताउँदै आएका छन् । उनका अनुसार  पहिलो चरणमा १० किमी सडक कालोपत्र हुनेछ । सडकको आठदेखि नौ मिटर चौडाइमा साढे पाँच मिटरको कालोपत्र गरिदै छ ।
पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार २०७८ माघ १६ गतेभित्र सडकको काम सक्ने कबुल गरेको शंकरमालीले पाँच बर्ष पूरा हुँदा पनि जम्माजम्मी ४१ प्रतिशत मात्रै काम गरेको छ ।
२०५१ सालमा स्थानीय विकास मन्त्री सीपी मैनाली पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्दै सडकको ट्रयाक खोलिएको थियो। ट्रयाक खुलेको २५ वर्ष बित्दा सडक स्तरोन्नती भएन । २०७६ मंसिर २४ गते सडक स्तरोन्नती गर्नलाई आयोजना गरिएको शिलन्यास कार्यक्रममा पञ्चेबाजामा नाचेर खुशीयाली मनाएका स्थानीय हिजोआज निराश÷आक्रोषित छन् ।
बर्खामा हिलो र पहिरोको सास्ती भोग्छन् । हिउँदमा बुङबुङ्ती धुलोले आजित स्थानीय सडकको अनुगमनमा आउने हरेक मन्त्री र नेतासँग आक्रोश पोख्छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसी गण्डकीकै पूर्वअर्थमन्त्री किरण गुरुङलाई साथमा लिएर मोटरमार्गको निरीक्षण गर्न पुग्दा निरीक्षणमा आएका मन्त्री, कर्मचारी, स्थानीय नेता र ठेकेदारका प्रनिनिधिसँग उपभोक्ताले समयमै सडक स्तरोन्नतिको काम सकिदन आग्रह गरेका थिए ।
दुलेगौंडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउनारायण श्रेष्ठ राजनीतिककरणले काममा ढिलाइ भएको आरोप लगाए । मन्त्री र नेताले भाषणमा सडक कालोपत्रेको आश्वासन दिएपनि पूरा नगरेको उनी बताउँछन् । ‘प्रत्येक चुनावमा वडा सदस्यदेखि लिएर माथि संसदसम्म दुलेगौंडा हर्कपुर बाटोको कागजपत्र घरघरमा बाँडिन्छ । अहिले होइन हिजैदेखि । प्रत्येक पार्टीका साथीहरुले हामीले बनाउँछु भन्छन् गएपछि बिर्सन्छन् । आफूहरुलाई झुठा आश्वासन नभइ काम चाहिएको छ ।’
स्थानीय विष्णुहरि गर्तौलाले सडक निर्माणमा सम्बन्धित निकायको चासो कम दिएको बताए । उनले भने, ‘हाम्रो आवाज एउटै मात्रै छ। जनताले चाहेको मोटरमार्ग कालोपत्रे हो । हाम्रो राइसकुकरमा, प्रेसरकुकुरमा चामल ल्याइदिउ भनेर हामीले कसैलाई पनि भनेका छैनौं ।’
शंकरमाली सेवाका प्रतिनिधि श्याम लामाले पूर्वाधार विकास कार्यालयले भुक्तानी दिनलाई आनाकानी गरेकाले पनि ढिलाइ भएको बताए । कोरोना महामारीसँगै निर्माण कम्पनीले व्यहोरेको नोक्सानीलेसमेत समस्या भएको उनको भनाइ थियो।
‘अहिले काम भइरहेको छ । भएको बिललाई प्राथमिकता दिएर १० लाख हुन्छ की २० लाख हुन्छ भुक्तानी दिएर काम सरासर भयो भने हुन्छ । नत्र काम यस्तै हो’, लामाले भने, ‘पैसा नभएसम्म कसैले १ रुपैयाँको सामान दिदैन । काम गरेपछि त पैसा पाए पो अगाढि बढ्छ ।’ उनले काम अनुसारको भुक्तानी नपाएपनि यात्रुलाई सहज वातावरण बनाइदिएको दाबी गर्छन् ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख इञ्जिनियर रविन्द्र तिवारीले हालसम्म १० करोड ५८ लाख ४ हजार ५०९ रुपैयाँ ९९ पैसा भुक्तान गरिएको जानकारी दिए । उनका अनुसार २५ करोड १० लाख ६० हजार ५० रुपैयाँ ६५ पैसा भ्याटसहितमा ठेक्का सम्झौता भएको हो ।
 निर्माण कम्पनीले काम गरेको खण्डमा सहजीकरण गर्न पूर्वाधार विकास कार्यालय तत्पर रहेको इञ्जिनियर तिवारीको दाबी छ । उनले भने, ‘तपाईंले ५० जना मान्छे झार्नुस हामीले १० देखि २० लाख विल पनि उठाइदिन्छौं । नभए वाहानाबाजी गरेर काम ढिला नगर्नुस् ।’
गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरेका छन। ‘तपाईंले ५० जना मान्छे झारेर काम गर्नुस’, निर्देशन दिदै उनले भने, ‘डिइ साबले उहाँको जे छ त्यो भुक्तानीलाई अगाडि बढाएर यो कामलाई गति दिनुहोला ।’
दुलेगौंडा–हर्कपुर मोटरमार्गको सम्झौता अवधि सकिएपछि पहिलो पटक २०७९ असार ३० गतेसम्मलाई म्याद थपिएको थियो । त्यो अवधिमा पनि पूरा नहुँदा दोस्रो पटक २०८० जेठ १४ गतेसम्मलाई थप भयो । तेस्रो पटक थपिएको म्याद आगमी असार १३ गते सकिदैछ ।
यस्तै, एमएस शंकरमाली निर्माण सेवा स्तरोन्नतिको जिम्मा लिएको भानु नगरपालिका–१३ को भानु मार्ग अन्तर्गत चन्द्रावति–पोखरीछाप सडक खण्डको काम पनि अलपत्र अवस्थामा रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker