सार्वजनिक सेवा प्रवाहालाई सहज बनाउन विभिन्न संघसंस्थाद्वारा आवश्यक सामाग्रि सहयोग

तनहुँ : गत भदौ २३ र २४ गते भ्रटचारको विरुद्ध र सुशासनको माग गर्दै जेनजी पुस्ताले गरेको प्रदर्शनीका क्रममा जिल्लाका सरकारी कार्यालयमा तोडफोड तथा आगजानी गरिएको थियो ।
उक्त तोडफोड र आगजानीका कारण जिल्ला प्रशासन कार्यालय तनहुँ, तनहुँ जिल्ला अदालत तथा शुक्लागण्डकी नगरपालिकाका केही वडा जलेर ठूलो क्षति पुगेको छ ।
तोडफोड र आगजानीबाट कार्यालयका महत्वपूर्ण कागजात, उपकरण तथा टेबल कुर्ची समेत बाँकी नरहदा सेवा प्रवाहमा समस्या देखिएको छ । सार्वजनिक सेवा प्रवाहालाई सहज बनाउने उद्देश्यले विभिन्न संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालय, अदालत तथा वडा कार्यालयहरुलाई आवश्यक सामाग्रिहरु सहयोग गर्न थालेका छन् ।
तनहुँ ख्रिष्टियत समाजद्वारा सहयोग
तनहुँ ख्रिष्टियन समाजले जिल्ला प्रशासन कार्यालय र तनहुँ जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी पश्चात् सामग्री जलेर नष्ट भएकाले सेवा प्रवाहमा असहज परिस्थिति सिर्जना भएपछि समाजले कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।

सामाजिक अभियान्ता सुदीप गफ्फारको समन्वयमा जिल्ला प्रशासन कार्यालय र तनहुँ अदालतमा आइतबार छुट्टाछुट्टै कार्यक्रमका बीच एक लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको समाजका अध्यक्ष केवी आलेले जानकारी दिए ।
उनका अनुसार प्रशासन कार्यालयलाई एक/एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरिएको छ भने तनहुँ अदालतलाई एक थान प्रिन्टर सहयोग गरिएको छ ।
आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गर्नु दुःखद भएको बताउँदै आलेले उक्त सामग्रीले कार्यालय सञ्चालनका लागि केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले कार्यालयबाट हाल नागरिकताको सेवा प्रवाह सुरु भइसकेको जानकारी दिँदै राहदानी र राष्ट्रिय परिचयपत्रको काम विस्तारै सुरु हुने बताए ।
फोटोग्राफर एशोसिएसन तनहुँद्वारा कुर्ची सहयोग

यस्तै, फोटोग्राफर एशोसिएसन तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँलाई कुर्ची सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी पश्चात् सबै सामग्री जलेर नष्ट भएपछि एशोसिएसनले कार्यालयलाई पाँच थान कुर्ची सहयोग गरेको हो ।
एशोसिएसनका अध्यक्ष लोक बहादुर कुमाल, सचिव अश्विनकिशोर श्रेष्ठ, निवर्तमान अध्यक्ष बलभद्र श्रेष्ठ, सदस्यहरु विष्णु शर्मा, सुशीलकुमार श्रेष्ठको उपस्थितिमा कार्यालयका जिन्सी शाखा प्रमुख गोपाल पोख्रेललाई उक्त कुर्ची हस्तान्तरण गरिएको थियो ।
वडा सञ्चालन गर्न वडावासीको सहयोग

यस्तै, शुक्लागण्डकी नगरपालिका–२ को वडा कार्यालयबाट पुनः सेवा सञ्चालन गर्न जनताले साथ दिएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कुर्ची, टेबल, दराज, प्रिन्टर लगायतका सामग्री वडावासीले नै सहयोग गरेका हुन्।
वडा कार्यालयलाई पुरानै लयमा फर्काउन वडावासीले ठुलो सहयोग गरेको वडाध्यक्ष सुमनबहादुर राना मगरले बताए। वडा कार्यालय सञ्चालनमा जनताले गरेको सहयोगले सरकार र जनताबिच सुमधुर सम्बन्ध स्थापना गर्न टेवा पुगेको बताए ।
नर्सरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ थान प्रिन्टर, नर्सरी युवा क्लबले कार्यालय टेबल २ थान र १० थान प्लाष्टिक कुर्ची, कालिका टोलविकास संस्थाले १० थान कुर्ची र शिवटोल विकास संस्थाले १ थान स्टिल दराज र ६ थान कुर्ची सहयोग गरेको छ ।
युवा क्लब, खानेपानी संस्था र टोलविकास संस्थाका प्रतिनिधिले वडाध्यक्ष मगर सहित कार्यपालिका सदस्य रितु नेपाली, वडा सदस्य भग्वान् पुन, कमलादेवी धमला पौडेल र मानबहादुर थापालाई हस्तान्तरण गरेको हो ।










