दुलेगौंडामा माइक्रो दुर्घटना, १६ महिने बालिका सहित ११ जना घाइते, बालिकाको अवस्था गम्भिर

तनहुँ : तनहुँको दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको यात्रु बहाक माइक्रो आइतबार दिउँसो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित हेल्थपोष्टचोकमा ग१ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी १६ महिने बालिका रोशनी थापासहित ११ जना घाइते भएकोमा दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचार गरी ५ जनालाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । बालिकाको टाउँकोमा चोट लागेको र उनको अवस्था गम्भिर रहेको बताइएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ४५ बर्षकी दलकुमारी रानालाई पनि जिएमसी पोखरा रेफर गरिएको छ । मध्यम घाइते उनको छाती र बायाँ हातमा चोट, लागेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दायाँ हात र ढाडमा चोट लागेकी गणपतेकी २१ वर्षीया रविना थापा, चिउडो र दायाँ खुट्टामा चोट लागेर मध्यम घाइते शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, टाउकोमा चोट लागेकी शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि जिएमसी रेफर गरिएको छ ।
उक्त माइक्रोले दुुलेगौंडाबाट लामागाउँतर्फ जादै गरेको ग१ज ६५५३ नम्बरको जीपलाई समेत ठक्कर दिएको थियो । जीपमा सवार १ जना घाइते भएको प्रहरी जनाएको छ ।










