बन्दीपुरमा “चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता” गरिदै

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजना तथा बन्दीपुर गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका स्तरीय अन्तर वडा चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता–२०८२ सञ्चालन गरिने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ भलिबल र फुटबल खेल समावेश गरिएको छ। आगामि माघ २३ देखि २५ गतेसम्म बन्दीपुर गाउँपालिकाको खेल मैदान (भुमर्से) मा सञ्चालन गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक वडाहरूले आवश्यक कागजातसहित माघ १२ गतेभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्बन्धित वडा कार्यालयमार्फत टिम प्रमाणीकरण गराउन आग्रह गरिएको छ । प्रत्येक वडाबाट भलिबल र फुटबलतर्फ २/२ टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको र खेल तालिका भने माघ १४ गते सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।
सहभागी खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्ने र नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । प्रतियोगितामा खेल नकआउट प्रणालीमा सञ्चालन गरिने र भलिबल खेल सेमीफाइनलसम्म ३ सेट र फाइनल खेल ५ सेटको हुनेछ भने फुटबल खेल ७ (ए) साइडमा खेलाइने बताइएको छ ।
प्रतियोगिताका क्रममा कुनै खेलमा विरोध (प्रोटेस्ट) गर्नुपरेमा तोकिएको खेल सकिएको ३० मिनेटभित्र प्रति खेलाडी रु. ३,००० का दरले उजुरी शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रु. ६२,५००, रु. ३१,२५० र रु. १२,५०० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै, विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी वा नगद पुरस्कार प्रदान गरिने खेलकुद विकास समिति संयोजक रवि श्रेष्ठले जानकारी गराए ।










