तनहुँमा चुनावको तयारी तीव्र : मतदान अधिकृत र सहायक अधिकृतलाई प्रशिक्षण

दमौली : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर १) र निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर २) द्वारा छनोट गरिएका कर्मचारीलाई सोमबार र मंगलबार तालिम प्रदान गरिएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत तथा क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत छनोट भएका छन् । उनीहरूलाई मतदान केन्द्र सञ्चालन, मतपत्र प्रयोग विधि, बदर मत न्यूनीकरणका उपाय, मतगणना प्रक्रिया तथा आकस्मिक व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनलाई प्रविधिमैत्री र त्रुटिरहित बनाउन तालिमलाई विशेष प्राथमिकता दिइएको बताए। उनले भने, “निर्वाचनको सफलता मतदान केन्द्रमा खटिने कर्मचारीको कार्यदक्षतामा निर्भर गर्दछ । त्यसैले हामीले कर्मचारीहरूलाई मतदान प्रक्रियादेखि मुचुल्का तयार गर्नेसम्मका हरेक पक्षमा अभ्यस्त बनाएका छौँ ।” उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्वयंसेवकसमेत परिचालन गरिसकिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनका अनुसार जिल्लाभर मोबाइल टोली, स्ट्राइक टोली तथा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ ।
जिल्लामा कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्री जिल्लामा प्राप्त भइसकेका छन् । क्षेत्र नम्बर १ को सामग्री दमौलीस्थित कार्यालयमा र क्षेत्र नम्बर २ को सामग्री दुलेगौँडामा सुरक्षित राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा कायम गरिएको १४४ वटा मतदान केन्द्र मध्य ८ वटा अति संवेदनशील, ५२ वटा संवेदनशील र ८४ वटा सामान्य रहेको सूचिमा राखिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker