लोककवि अलिमियाँ स्मृति दिवसमा आकाशका दुई कृतिको लोकार्पण

पोखरा : नेपाली लोकसाहित्यका अमर साधक लोककवि अलिमियाँको स्मृति दिवस आइतबार विविध कार्यक्रमका साथ मनाइएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका–११ स्थित भानु स्मारक पार्कमा आयोजित कार्यक्रममा लोककवि अलिमियाँप्रति माल्यार्पण तथा पुष्पाञ्जलि अर्पण गर्दै उहाँको साहित्यिक योगदानको स्मरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कुसुमाकर न्यौपानेले लोककवि अलिमियाँ नेपाली लोकसाहित्यका साझा सम्पदा भएको उल्लेख गर्दै उहाँका सिर्जनाले सांस्कृतिक सद्भाव, मानवीय मूल्य र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। यस्ता स्मृति दिवसले नयाँ पुस्तालाई साहित्यिक तथा सांस्कृतिक धरोहरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

सोही अवसरमा साहित्यकार आकाश अधिकारीद्वारा लिखित ‘जादुमयी पखेटा’ (बाल निबन्ध संग्रह) र ‘चेतनाको चिराग’ (बाल नाटक संग्रह) को संयुक्त रूपमा लोकार्पण गरिएको छ। प्रमुख अतिथि न्यौपानेले लोकार्पण गर्नुभएका यी कृतिहरू अधिकारीका पाँचौँ र छैटौँ प्रकाशित पुस्तक हुन्। बालसाहित्यका क्षेत्रमा प्रकाशित दुवै कृतिले बालबालिकामा सिर्जनशीलता, नैतिक चेतना, कल्पनाशीलता र सकारात्मक जीवनदृष्टिको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरस्वती प्रतीक्षाको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले लोककवि अलिमियाँले नेपाली लोकगीत, लोकभाका र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँका सिर्जनालाई भावी पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको सञ्चालन अम्बिका प्रसाद भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार, संस्कृतिकर्मी, प्राज्ञ, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लोककवि अलिमियाँको स्मृतिमा आयोजित उक्त कार्यक्रमले नेपाली लोकसाहित्यका अग्रणी स्रष्टाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै आकाश अधिकारीका दुई नयाँ बालसाहित्यिक कृतिको लोकार्पणमार्फत नेपाली बालसाहित्यको समृद्धिमा नयाँ योगदान थपिएको विश्वास व्यक्त गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker