नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

विहीबार साँझदेखि नेपाली लेखक–कविहरूले सामाजिक सञ्जालमा एकै खाले स्टाटस राखेर भारतका एक कविलाई भारइल बनाइरहेका छन् ।

भारतीय जनता पार्टीका कार्यकर्ताहरूले गएकाे ४ तारिखदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे कामलाई प्रचार गर्ने क्रममा सुरू गरेकाे एउटा झुटाे समाचार भाइरल भएपछि नेपालमा पनि त्यसकाे नेपाली अनुवाद भाइरल भएकाे थियाे ।

हिजाे दिउँसाे २ बजे नै उडिसाका स्थानीय लाेकप्रिय कवि डा. हलधर नागले आफ्ना बारेमा भाइरल भएकाे समाचार खण्डन गरिसकेका छन् । नेपालमा भने कविले खण्डन गरेकाे २० घन्टा बितिसक्दा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले भाइरल बनाएकाे समाचारकाे नेपाली अनुवाद नै भाइरल भइरहेकाे छ ।

याे समाचार सेयर गर्नेमा सामान्य साहित्यप्रेमी मात्र हाेइन, नेपालमा लाेकप्रिय, अध्ययनशील र प्रतिष्ठित कवि लेखकहरू पनि संलग्न भएका छन् ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आफ्नो अवस्थाबारे भाइरल बनाइएको पोस्टप्रति नागले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सो पोस्ट झूटो र मनगढन्त मात्र होइन, अपमानजनक पनि छ ।’

नेपालमा समेत भाइरल भएको भारतका प्रान्तहरूमध्ये उडिसाको सम्बलपुरी वा कोसली भाषाका प्रख्यात कवि डा. हलधर नागले हालै पद्मश्री पुरस्कार लिनका लागि राजधानी नयाँ दिल्ली जाने पैसा नभएको र यसबारे भारत सरकारलाई पत्र लेखी उनको पुरस्कार हुलाकबाट पठाइदिन आग्रह गरेको खबर भाइरल भएको थियो ।

डा. नागले यो झूटो खबर भाइरल बनाइएको बताएका छन् ।

उनले आफूले २०१६ मा नै पद्मश्री पुरस्कार प्राप्त गरिसकेको बताएका छन् । त्यो बेला पुरस्कार प्राप्त गर्दा पनि आफ्नो गरिबीको कारण देखाउँदै कुनै पत्र नलेखेको न त हुलाकबाट पुरस्कार पठाउन आग्रह गरेको उनले बताएका छन् ।

लोककवि डा. हलधर नागले पद्मश्री पुरस्कार उडिसाका मुख्यमन्त्री नवीन पटनायकले हस्तान्तरण गरेको पनि बताएका छन् । सोही अवधियता उनले मासिक १८ हजार भारू मासिक भत्तासमेत प्राप्त गरिरहेका छन् ।

उडिसा सरकारले उनका लागि घर निर्माणका लागि जमिन उपलब्ध गराएको र लोककवि नागका प्रशंसकमध्ये एक चिकित्सकले सो जमिनमा निजी खर्चबाट घरसमेत बनाइदिएको उनले प्रस्ट्याएका छन् ।

सन् २०१६ ताका पद्मश्री पुरस्कार लिँदा पनि केन्द्र सरकारले कारमार्फत रायपुर पुर्याएको र त्यहाँबाट उनलाई विमानमार्फत दिल्ली पुर्याइएको थियो । त्यो बेला सुविधासम्पन्न होटलमा राखिएको थियो । सो अवधिमा दिल्लीमा रहँदाको अवधिभरि उडिसाका वरिष्ठ आइएएस अधिकारी उषा पाढी र अरविन्द पाढीले पनि सहयोग गरेको स्मरण गरेका छन् ।

बेलाबेलामा आफूलाई भाइरल बनाइने गरेको, कहिले पानीसँग भात खाएको त कहिले चना बेचिरहेको तस्बिर हालेर बदनाम गर्ने गरेको उनले दुखेसो पोखे । यस्ता बदनाम गर्ने पोस्ट हाल्नेहरूप्रति कारबाही गर्न उनले माग पनि गरे । कहिलेकाहीँ त उनको बोली नक्कल गरेर अडियोसमेत राखेर भाइरल बनाउने प्रयास गरिने गरेको गुनासो गरे ।

सन् १९५० मार्च ३१ मा उडिसाको बरगढ जिल्लास्थित घेंस गाउँको एउटा गरिब परिवारमा जन्मिएका नाग बालक छँदा नै उनका पिताको निधन भएको थियो । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनले विद्यालय शिक्षा लिन पाएनन् र तीन कक्षामै उनको शिक्षा सीमित हुन पुग्यो । तर कवितामोह यस्तो कडा थियो कि उनलाई तिनै कविताले चर्चित बनायो ।

उनका कवितामाथि पिएचडी गर्नेहरू पनि निकै छन् । उनका कयौँ रचनाहरू छरपष्ट भएपछि ग्रन्थावली प्रकाशित गरिएका छन् । जसमध्ये हलधर ग्रन्थावली २ विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको छ ।

उनलाई सम्बलपुर विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मानित गरिएको हुनाले उनलाई डा. नाग पनि भन्ने गरिन्छ । हालसम्म उनका १३ वटा कृति प्रकाशित छन् । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker