तनहुँमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन सहित विरोध सभा
भञ्ज्याङ न्यूज
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले तनहुँमा ‘शक्ति प्रदर्शन’ गरेको छ । संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन सहित विरोध सभा गरेका छन् ।

व्यास नगरपालिका-३ पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले दमौली बजार परिक्रम गर्दै अनशनचौतारी स्थित खुल्ला मैदानमा पुगेर विरोध सभामा परिणत भएको थियो ।


सभामा नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य पिएल श्रेष्ठ, नेकपाका नेताहरु चित्र थापा, शंकरनारायण श्रेष्ठ, अतिन्द्रकेशरी न्यौपाने, छितिज लामिछाने, विघटित प्रतिनिधि सभा सदस्य कलिला खान, रेखा बस्याल लगायतका नेता तथा कार्यकर्ताहरुले संसद पुनःस्थापना गर्नुपर्ने र सूर्य चिन्ह हाम्रो भएको दाबी गरेका थिए ।


विरोध र्यालीमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेसंगै अहिले जिल्लका वडा तहसम्म विरोध तथा समर्थनका कार्यक्रम हुन थालेका छन् ।











