विश्व वातावरण दिवसका अवसरमा आँवुखैरेनीले गर्यो वृक्षरोपण
भञ्ज्याङ न्यूज

विश्व वातावरण दिवसको अवसर पारेर तनहुँको आँबुखैरेनी गाउँपालिकाले वृक्षरोपण गरेको छ । गाउँपालिकाले वडा नं. १ स्थित आँधिमुल मन्दिर परिसरमा वेल, कपुर, अमला, तेजपत्ता, स्वामी धुपी लागायत विभिन्न प्रजातीका ३६ वटा विरुवा रोपण गरेको हो ।
धार्मिक रुपले पवित्र मानिने स्वामी र वेलको विरुवा रोपण गर्दै गाउँपालिका अध्यक्ष गिर वहादुर थापाले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधिमुल क्षेत्रको संरक्षण र सर्म्वर्दनका लागि सम्भाव्यता अध्यान तथा वातावरणीय प्रभाव मुल्यांकन गरी विस्तृत गुरुयोजना तयार गर्ने तयारी गरेको बताए ।
वृक्षरोपण गरिएको क्षेत्रको संरक्षण तथा रोपण गरिएका विरुवा हुर्काउन तथा तार जालिको बार लगाउन १ लाख रुपैयाँ बजेट व्यवस्था गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेलले बताए ।
२२ वटा धारा सहित २ पोखरी माछा र २ मन्दिर रहेको उक्त मन्दिर परिसर निकै रमणीय र धार्मिक महत्वको छ । यस क्षेत्रलाई गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कार्यक्रमहरु अगाडि बढाएको छ ।
२०३५ सालमा पाकुली परियारले मन्दिरको संरक्षणका लागि सानो मन्दिरको थपनाको रुपमा स्थापना गरेको र हाल सबै समुदायले संरक्षण गरी विकास गरिरहेको गाउँपालिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन् ।










