शिःसाघाटे ठाडोभाका गीतका मूर्धन्य व्यक्तित्व देखमान दुरा
देव वस्न्यात

तनहुँ जिल्लाका ठाडोभाका गीतका सर्जकहरु मध्ये एउटा सुपरीचित नाम हो देखमान दुरा । उहाँ लमजुङ जिल्ला सिंदुरे गा.वि.स.को भागुमा वि.सं. २००९ सालमा जन्मनु भएको हो । उहाँ वीरबहादुर दुरा र सेती दुराको नाती, शेरबहादुर दुरा र धनमायाँ दुराको पुत्ररत्न हुनुहुन्छ । दुराहरु आफ्ना कला र संस्कृति प्रति अत्यन्त जिम्मेवार रहन्छन ।
आफ्ना संस्कृतिरुपि फूलवारीमा सिञ्चन गर्नु उनीहरु आफ्नो परमकर्तव्य सम्झने गर्दछन् । दुराहरु आफना उद्देश्य अनुसार आफ्ना संस्कृतिलाई सदैव जीवन्त राख्न चाहन्छन् । यसैले उनीहरुको संस्कृतिरुपि गीतको बगैंचामा ठाडोभाका गीत सुगन्धित भएर फूलोस फलोस भन्ने हामी सबैको चाहना हो ।
देउबहादुर दुरा, पञ्चसुवा गुरुङले जन्माए हुर्काएको ठाडोभाका गीतलाई लमजुङ रबै डाँडाका डा. देवीबहादुर गुरुङ र थानसिङ नेटाका भेंडीखर्के साइलाहरुले यस ठाडोभाका गीतको गोडमेल, संरक्षण र सम्वर्धन गर्नमा मरी मेटेर लागेका थिए । डा. देवीगुरुङ र भेडिखर्के साइलाले गोडमेल गरेको यस भाकालाई शिःसाघाट तनहुँका सुनबहादुर दुरा, देखमान दुरा, माथिल्लो साझा तनहुँकी सेती गुरुङ, बन्दिपुर तनहुँका उत्तम गुरुङ, अनिता गुरुङ, बन्दिपुर डुम्रेका शंकर परियारहरु मलजल गर्नेमा पर्नुहुन्छ । पुर्ख्यौली सम्पती सबैलाई अत्यान्तै प्यारो लाग्छ ।
यसैले त दुराहरु हरेक बैसाख पूर्णिमाका दिन बाजेबजै पूजा गर्ने र आफ्नै पूर्खाले रोपेको ठाडोभाका गीत संरक्षण सम्वर्धन गर्नलाई व्यास-६ शिःसाघाट तनहुँबाट व्यास-१ र ४ मा आइपुगेका सुनबहादुर दुरा र देखमान दुराहरु धकफुकाएर र्सार्वजनिक मेला पर्वहरुमा गीत गाउने गर्दथे । पुर्खाले आर्जेको ठाडोभाका गीत गाउन पाउँदा आफैलाई गौरान्वित सम्झन्छन् देखमान र सुनबहादुर दुरा । दुराभाका भनेर चिनिने ठाडोभाका गीतको खोजी नहुँदा चिन्तित देखिएका दुरा अहिले भने यस विषयमा वृहत योजना बनाएर यथासम्भव सत्यतथ्य विवरणहरुको खोजविन गरेर लिपिबद्ध अभिलेख तयार गर्न लागेको चर्चा हुन थालेकोमा उहाँमा आत्मसन्तुष्टि बढदै गएको छ ।
डाँडाको बसाइमा रहेका दुरालाई शिःसाघाटको समथर उपत्यकाले उहाँलाई मोहित नै बनायो । यसैले उहाँ लमजुङ जिल्ला सिंदुरे गा.वि.स. को भागुको बसाइलाई बिट मार्दै तनहुँ लमजुङ र कास्कीमा फैलिएको शिःसाघाट उपत्यकाको व्यास-६ शिःसाघाट बजार रोजेर बसाइ सर्नु भयो । केही समय पश्चात शिःसाघाट बजारको बसाइलाई पनि बिट मार्दै उहाँ व्यास-११ रामथुम्कीमा पुग्नु भयो । बाल बच्चाहरुको पढाइलाई ध्यान दिंदै अहिले उहाँ व्यास-४ जुडीपानीमा बसोबास गर्दै आउनु भएको छ । हाल उहाँको परिवारमा श्रीमती मायाँ दुरा, छोरा शंकर दुरा र छोरी पूजा दुरा रहेका छन् । सन १९७१ मा इण्डिया आर्मीमा भर्ती भइ सन १९८८ मा लेसनायक पदबाट अवकास लिनु भएको थियो । हरेक वर्षको चैते दशै मेला र फागु पूर्णिमाको दिन शिःसाघाट बजारमा सानो ठूलो मेला लाग्ने गर्दछ ।
विशेष गरेर हरेक वर्षको चैते दशैंको मेला यहीको दुरा समाज, कल्व, टोल विकास संस्था, विद्यालयहरु र व्यास-६ नं. वडाकार्यालय समेत मेला आयोजना गर्न उत्सुक रहन्छन् । शिःसाघाट समाजका अध्यक्ष श्री रामचन्द्र पन्थ यसलाई थप व्यवस्थित गर्दै लैजान समाज तत्पर रहेको बताउनुहुन्छ । शिःसाघाट सेवा समाजले जे जती गर्न सकेको छ त्यसको उचित मूल्याङकन गर्दै नेपाली पाखापखेरा र कन्दराहरुमा घन्कने लोकभाका गीत गायन क्षेत्रमा लाग्ने स्रष्टाहरुलाई स्मृति पुरस्कार राखेर सम्मानित गर्न सकेमा अझ सुनमा सुगन्ध थपिने उहाँको भनाई छ ।
शिःसाघाटकै सुनबहादुर दुरा, देखमान दुरा, शुशिला दुरा उर्फ कृष्णमाया दुरा, उपल्लो साझाकी सेती गुरुङ र थप्रेककी सान्नानी दुराले शिशाघाट बजारमा धेरै पटक ठाडोभाकामा गीतगाइ सकेका छन् । शिःसाघाटलाई हराभरा बनाउने लाहुरे देखमान छुट्टी आएको बेला बयापानी भञ्ज्याङका साथीको घर कोसेली पुर्याउन गएका थिए । कोसेली पुर्याउन गएका देखमान दुरालाई बयापानीका साथीहरुले पुतलीबजारको मेला भर्न पुर्याएका थिए । दुरा भएकै नाताले दुराजीलाई दुराभाका (ठाडोभाका)मा गीत गाउन हौसाए । रातभर पुतली बजारमा दोहोरी गीत पनि गाए । बिहानी पख सबैसाथी भाइले लाहुरेलाई ठेलोमा सहभागी हुन पनि सुझाए । देखमान पुतली बजारको ठेलो हान्ने कार्यक्रममा भाग लिए । दैवको लिला ठेलो हान्ने कार्यमा पनि भेखमानले प्रथम स्थान नै प्राप्त गरे । पहिलो पटक पुतली बजारमा सम्मानित हुन पाउँदा उहाँ हर्षले गदगद हुनु भएको थियो ।
अन्त्यमा दुराजी कै भनाइमा ठाडोभाका गीतको उद्धभव तथा जन्म स्थल कर्पुटार भएता पनि यसको लालन पालन र हुर्काउने काम भने तनहुँ जिल्लाका भानु न.पा. ११ स्थित टुहुरेपसलको पुतलीबजार, मिर्लुङको ठूलोढुङ्गा पोखरीछाप र शिःसाघाट बजार पर्दछ भन्नु भएकाले तनहुँका वासिन्दाले ठाडोभाका गीत संरक्षण सम्वर्धनमा जोड दिनु पर्ने बताउनु भयो। यसको साथसाथै शिःसाघाट बजारको आन्तरिक तथा बाहृय पर्यटन अभिवृद्धि गर्न शिःसाघाट निवासीले यहाँका सिरस्या रह, मादीमा बहित जाने (र्याफटिङ), कालिकामन्दिर, हात्तीढुङ्गा, जंगबहादुरको मितढुङ्गा, शिःसागुफा, शिःसाकोटी महादेव मन्दिर, सुन्दरीदेवी मन्दिर, मयुररुपी भालेपोथिढुङ्गा, बिलमादे झरना, नेपालकै मध्यविन्दुमा रहेको हुलाकी चौतारालाई, पवित्र धार्मिक स्थलहरु शिःसाघाट, शेषघाट र पितरघाट (पत्थरघाट) क्यासमा परिणत गर्न सक्नु पर्दछ भन्नु भयो ।
पर्यटनका प्रचुर सम्भावना भएर पनि यहाँका स्थनीय निकायले उचित व्यवस्थापन गर्न नसक्दा शिसाघाट बजार टुहुरो बन्न पुगेको छ । वास्तवमा शिःसाघाट बजार प्राकृतिक, ऐतिहासिक र धार्मिक दृष्टिकोणले भरिपूर्ण भएर पनि पर्यटन व्यवसाय मौलाउन यहाँसम्म पुग्न सकिने यातायात सुविधा, पहाडी आरोहणका लागि पदमार्ग, आवास एवं खानाका लागि होटल तथा घरवास सुविधा र पर्यटकका रुचि अनुसारका अतिरिक्त सुविधाहरुको व्यवस्थापन हुन जरुरी देखिन्छ । काठमाण्डौ कुन्छा शिःसाघाट, पोखरा हुँदै जुम्ला हुम्लासम्म जाने प्राचीन हुलाकीमार्ग, दमौली, शिःसाघाट, सातमुहाने देउराली हुँदै पोखरा जाने मोटरमार्गलाई अधिक चलनचल्तीमा ल्याउनका लागि यहाँका प्राकृतिक र परम्परागत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गर्न ध्यान दिन लोक गायक देखमान दुराले आग्रह गर्नुभएको छ ।










