कविता संग्रह “मध्यरातमा मुर्कट्टा” सार्वजनिक
भञ्ज्याङ समाचारदाता/आँवु

कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक गरिएको छ । तनहुँको आँबुखैरेनीमा एक विशेष कार्यक्रमको आयोजना गरी विहीबार कवि श्रेष्ठको नयाँ कविता कृति ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक गरिएको हो । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि प्रमोद प्रधान, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्य लगायतले कृति सार्वजनिक गरेका थिए । संग्रहमा ३५ कविता छन् ।
कार्यक्रममा कवि प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अझै सशक्त भएर प्रस्तुत भएका छन् ।’
गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे । सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उहाँका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उनको भनाइ थियो । अर्का समीक्षक भीम रानाभाटले पनि श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राखे । कार्यक्रममा कवि सानुकाजी थापा, कवि अर्जुनकुमार ढकाल, संस्थाका अध्यक्ष एवं कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आफ्नो एक कविता वाचन गरेका थिए ।










