विविध कार्यक्रम गरी २१०औं भानु जयन्ती मनाइने
भञ्ज्याङ न्यूज

विविध कार्यक्रम गरी २१०औं भानु जयन्ती मनाइने भएको छ । भानु जन्मस्थल चुँदीरम्घामा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती बिगतका बर्षहरुमा जस्तै विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले तीन दिनसम्म खुल्ला कविता र रामायण वाचन प्रतियोगिता, कवि गोष्ठी, दीपावली लगायतका कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
असार २७ गते साँझ दिपावली गरी जन्म जयन्तीका कार्यक्रमहरु सुरुवात हुने आयोजकले जनाएको छ । असार २८ गते खुल्ला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिनेछ । देशका विभिन्न ठाउँका कविहरुले इमेल मार्फ पठाएका कविताहरु कार्यक्रममा सहभागि भई वाचन गर्नेछन् ।
सोही दिन कवि गोष्ठी पनि आयोजना गरिएको छ । गोष्ठीमा ललितपुर, काठमाडौ, विराटनगर, कास्की, चितवन, पाल्पा, झापा, धनकुटा, भैरहवा, तेह्रथुम बुटवल, तनहुँ, गोरखा, लमजुङ स्याङ्जा र अन्य स्थानबाट कविहरूको सहभागिता रहने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । कविता प्रतियोगितामा सहभागि हुनेले असार २६ गतेसम्म इमेल मार्फ कविता पठाउनुपर्ने छ भने कविता वाचन गर्न भने कवि स्वयं उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ ।
खुला कविता प्रतियोगितामा प्रथमलाई नगद रु. १० हजार, प्रमाणपत्र तथा विर्खे टोपि प्राप्त गर्नेछन् । द्वितीयले ७ हजार र तृतीयले ५ हजार नगद तथा प्रमाणपत्र तथा विर्खे टोपी प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने २ जनालाई जनही रु. एक हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
यस्तै रामायण वाचन तर्फप्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र एक हजार रुपैयाँका साथमा प्रमाणपत्र तथा टोपीद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
असार २९ गते विहान पञ्चकन्याबाट रामायण पाठ गराइ प्रभातफेरी कार्यक्रम गरिनेछ । सोही दिन ११ बजेदेखि झाँकी प्रदर्शन, कविता र रामायण वाचन प्रतियोगितामा, विजेतालाई पुरस्कार वितरण सम्मान समारोह लगायतका कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।










