कोरोना कहरबाट थलपरेको बन्दिपुर : पर्यटकको पर्खाइमा
नारायण खड्का

गोरखा भूकम्पबाट थिलोथिलो बनेको पर्यटन क्षेत्र पूर्णरुपमा तङ्ग्रिन नपाउँदै पुनः कोरोना कहरले थला पार्यो । पर्यटन क्षेत्रलाई लयमा फर्काउँदै पर्यटकीय गतिविधि मार्फ मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० कार्यक्रम ल्याएको थियो । तर, त्यो कार्यक्रम शुरु हुन नपाउँदै कोरोना कहरको चपेटामा परी थलपरेको पर्यटन व्यवसायलाई अब कसरी उठाउने भन्ने चिन्तामा पर्यटन व्यवासयी छन् ।
ग्रामीण पर्यटनका हिसावले तनहुँ जिल्ला आकर्ष गन्तव्य हो। यहाँको साँस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा साहित्यिक क्षेत्र पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक छन् । समुन्द्री सतहबाट १८४ मिटर उचाइमा रहेको पवित्र धार्मिक स्थल देवघाटधामदेखि २ हजार १३४ मिटर उचाईमा अवस्थित महाभारत श्रृंखलाको अग्लो पहाड छिम्केश्वरी धार्मिक, प्राकृतिक एवं जैविक विविधतायुक्त छ ।
पहाडकी रानी उपनामले परिचित बन्दिपुर तनहुँको आकर्षक पर्यटकीय नगरी हो । समुन्द्री सतहबाट १ हजार मिटरदेखि १ हजार ३१७ मिटर उचाईसम्म फैलिएको बन्दिपुर हिल स्टेशनका रुपमा पनि परिचित छ । हिमश्रृंखला, सांस्कृतिक एवं धार्मिकस्थल, एग्रोर्/इको टुरिज्म, सहासिक पर्यटन लगायतका कारण बन्दिपुर पर्यटकको रोजाइ र खोजीमा पर्ने बन्दिपुरका अग्रज मणिककुमार प्रधान बताउँछन् ।
पर्यटकीय नगरी बन्दिपुर अहिले पर्यटकको पर्खाइमा छ । दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भिड लाग्ने बन्दिपुर कोभिड-१९ संक्रमण फैलिएसंगै अहिले प्रायः सुनसान आवस्थामा छ । नेपाली नयाँ वर्षनजिकिएसंगै यहाँका पर्यटन व्यवसायीहरु अब त पर्यटक आउछन् कि भन्ने आशामा बसेको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए।
वि.सं. २०७२ सालको गोरखा भूकम्पबाट थिलोथिलो बनेको बन्दिपुरको पर्यटन व्यवसाय पूर्णरुपमा तङ्ग्रिन नपाउँदै पुनः कोरोना कहरको चपेटामा परेको अध्यक्ष प्रधान बताउँछन् । उनले भने, ‘सरकारले घोषण गरेको नेपाल भ्रमण वर्षसन् २०२० लाई लक्षित गरी यहाँका व्यवसायीहरुले करोडौं रुपैयाँ लगानी गरी पर्यटन लक्षित पुर्वधारहरु निर्माण गरे तर, त्यो प्रयोगमा ल्याउन नपाउँदै कोरोनाको चपेटामा परियो ।’
‘कोरोना कहरको चपेटामा परी थलपरेको पर्यटन व्यवसायलाई अब कसरी उठाउने भन्ने चिन्तामा यहाँका पर्यटन व्यवासयीहरु छन्’, उनले भने, ‘कोरोना कहरका कारण पर्यटन र होटल व्यवसायीहरु निरास छन् । अहिले अधिकांश नागरिकहरुको पहुँचमा कोरोना विरुद्धको खोप पुगिसकेको र नेपाली नयाँ वर्षपनि नजिकिएको हुँदा फेरी बन्दिपुरमा पहिलेको जस्तै चहलपहल हुन्छकि भन्ने आशामा व्यवयसायीहरु छन् ।’
पृथ्वीराजमार्गको डुम्रे बजारबाट करिब ८ किलोमिटरको दुरीमा पर्ने बन्दिपुर प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक आयमले भरिपूर्ण छ । सहरको भिडभाडबाट टाढा, प्राकृतिक सौन्दर्य र सफा वातावरणमा रम्न चाहानेका लागि बन्दिपुर आकर्षक गन्तव्य भएको होटल व्यवसायी विपिन प्रधानले बताए ।
‘यहाँको परम्परागत कला, संस्कृति तथा प्राकृतिक मनोरम दृष्यका साथै स्वच्छ वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरु आउनुहुन्छ’, उनले भने, ‘हप्ताको दुइ दिन शुक्रबार र शनिबार त पर्यटकको भिड थामिनसक्नु हुन्थ्यो । पछिल्ला दिन भने प्रायः सुनसान नै देखिन्छ। दिनमा केही पर्यटकहरु घुम्नका लागि आउने गरेपनि रात बिताउने गरी आउने संख्या न्यून छ ।’
कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै गरिएको बन्दाबन्दी, निषेधाज्ञाले पर्यटन क्षेत्र पनि नराम्रोसंग थल परेको क्षेत्रीय होटल संघ बन्दिपुरका अध्यक्ष संगिता प्रधान बताउँछिन् । उनले भनिन्, ‘अहिले कोरोना संक्रमण दर केही घट्दै गएको र कोरोना विरुद्धको खोपको दायरा पनि बढ्दै गएपछि होटल तथा पर्यटन क्षेत्र खुल्न त थालेका छन् । तर, पर्यटकहरु भने खुलेर आउन नसक्दा बन्दिपुर करिब दुइ वर्ष पूर्णरुपमै बन्द जस्तै अवस्थामा पुगेको छ ।’
‘कोरोना कहरका कारण बन्द रहेको बन्दिपुरका पर्यटकीय गतिविधिहरु गएको दशैं पर्वमा आन्तरिक पर्यटकको आगमनले व्यवसायीमा केही उत्साह थपेको थियो’, उनले भनिन्, ‘तर, पुनः कोरोना भाइरस संक्रमणको तेश्रोलहरले थला पर्न गयो । फ्याट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटकहरु दिउँसो घुम्न आएपनि रात बिताउने गरी पर्यटक नआउदा विशेष गरी होटल व्यवसायी चलायमान बन्न सकेको छैन ।’
कोरोना भाइरस संक्रमण दर कम हुँदै गएको र लगभग सबै व्यवसायी तथा नागरिकहरुको पहुँचमा कोरोना विरुद्धको खोप समेत पुगिसकेको हुँदा अब पर्यटन क्षेत्रलाई लयमा फर्काउन सरकार तथा सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्ने तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका सभापति घनश्याम उपाध्याय बताउँछन् ।
यहाँका व्यवसायीहरुले बन्दिपुर सबै किसिमले सुरक्षित छ भन्ने सन्देश दिने गरी कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएपनि गाउँपालिकाले कुनै समन्वय नगरेको सभापति उपाध्यायले बताए ।
उनले भने, ‘बन्दिपुरमा पर्यटन लक्षित व्यवसायका लागि करोडौं रुपैयाँ लगानि भएको छ । होटल तथा भौतिक पूर्वाधारमा ठूलो लगानि गरेपनि कोरोना कहरको चपेटामा पर्दा बैंकको ऋण तिर्न सकेका छैनन्, बैंकको ऋण र घर भाडा तिर्न नसक्दा कतिपय होटल व्यवसायी पलायन पनि भएका छन् यस तर्फसरकार तथा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’
बन्दिपुरमा साना ठुला गरी करिब ७० बढी होटल रेस्टुरेन्ट सञ्चालनमा छन् । आसपासका गाउँहरुमा आधादर्जन बढी होमस्टे सञ्चालनमा छन् । सहरको कोलाहलबाट टाढा गई प्राकृतिक सौर्न्दर्यतामा रमाउन चाहानेहरुका लागि बन्दिपुर उत्कृष्ट गन्तव्य हो। बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला देखिन्छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र, निर्माणाधिन मिनि ग्रेट वल, साइकल लेन, केवलकार लगायतका क्षेत्रले पर्यटकलाई लोभ्याउने गर्दछ ।










