पृथ्वीराजमार्गको गाँछेपानी-कोत्रे सडक खण्ड मर्मतको माग गर्दै आन्दोलन
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्गको तनहुँ स्थित दुलेगौडाको गाँछेपानी-कोत्रे सडक खण्ड मर्मत सुधारको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदै आएको यो सडक खण्डकको मर्मत सुधारमा सधैं बेवास्ता गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको अवस्थाले यहाँका स्थानीयवासी आजित छन् । सडकको धुलो खाना पकाउने भान्छा, सुत्ने बिस्तारा र कोठा कोठासम्म पुग्ने गर्दा आफूहरुको स्वास्थ्य बिग्रिदै गएको स्थानीय बताउँछन् । शुक्रबार सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षा गर्न १५ मिनेट राजमार्ग बन्द गराएका छन् ।
बाटो स्तरोन्नति नभएसम्म आफूहरुको आन्दोलन चलिरहने संघर्ष समितिका संयोजक ठाकुर खनालले बताए । उनका अनुसार शुक्रबार कोत्रे चोकमा दिउँसो १ बजेपछि १५ मिनेट राजमार्ग बन्द गरिएको थियो ।
शनिबार दिउँसो साढे १ बजे शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा ३० मिनेट र आइतबार गाँछेपानीमा एक घण्टा राजमार्ग बन्द गर्ने संघर्ष समितिको तयारी छ । यति गर्दा पनि मर्मत सुधारको काम सुरु नभए राजमार्ग नै ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् ।
आफूहरुले स्थानीय सरकार, प्रदेश सरकार र सडक डिभिजन कार्यालय सबैलाई गुहार्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर बन्द गर्नु परेको स्थानीय युवा शंकर पन्तले बताए । स्थानीय व्यापारी सिर्जना खनालले आफूहरुको पीडा कसैले नबुझेको गुनासो गछिन् ।
खनालले अहिलेको चुनावमा कुनै पनि राजनीतिक दल र पार्टी नेता भोट माग्नका लागि योग्य नभएको भन्दै गाछेपानीदेखि कोत्र क्षेत्रमै नआउन नेताहरुलाई चेतावनी दिइन् । सरकारले आफूहरुलाई पशुको जस्तो व्यवहार गरेको उनको भनाई छ।
पर्यटकीय सहर पोखरा जोड्ने सडक खण्डको यो दुरावस्था देख्दा समेत मर्मतका लागि कुनै पहल नभएकोमा पर्यटन व्यवसायीहरु पनि आक्रोशित छन् ।
सडक डिभिजन कार्यालय तनहुँले भने मुग्लिङ पोखरा चार लेनको बाटो निर्माण सुरु भएको र राजमार्गको सम्पुर्ण जिम्मा निर्माण आयोजना कम्पनीलाई दिइएकाले कार्यालय केही गर्न नम्लिने बताउँदै आएको छ । यता आयोजना कम्पनीले तत्कालै काम सुरु हुन्छ भन्दै जनतालाई झुक्याउँदै आएको छ ।










