परिवार, भविष्य र समाज निर्माणका मौन अभियन्ता

विष्णु पौडेल 'निरिस'

नेपाली समाजमा सफलताको चर्चा हुँदा प्रायः पद, प्रतिष्ठा, तलब र बाहिरी उपलब्धिका उदाहरणहरू अगाडि आउँछन् । कोही सरकारी सेवामा उच्च पदमा पुगेको हुन्छ, कोही निजी क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको हुन्छ, कोही व्यवसायमा सफल बनेको हुन्छ। यस्ता उपलब्धिहरू निश्चय नै प्रशंसनीय छन्  तर यिनै सफलताका पछाडि मौन रूपमा उभिएका केही पात्रहरू छन् जसको योगदानको चर्चा अपेक्षाकृत कम हुने गर्छ। ती हुन्-आफ्नो परिवार, सन्तान र घरको जिम्मेवारीलाई केन्द्रमा राखेर जीवन बिताइरहेका लाखौं महिलाहरू। नेपालका गाउँदेखि शहरसम्म यस्ता असंख्य महिलाहरू भेटिन्छन्  जो शिक्षित छन्, सक्षम छन्, अवसर पाए बाहिरी क्षेत्रमा पनि उत्कृष्ट काम गर्न सक्ने क्षमता राख्छन् तर पारिवारिक अवस्था, बालबच्चाको जिम्मेवारी, वृद्ध अभिभावकको हेरचाह, जीवनका प्राथमिकता वा आफ्नै निर्णयका कारण उनीहरूले आफ्नो अधिकांश समय घरपरिवारलाई दिएका छन् । उनीहरूको दिन बिहानको पहिलो उज्यालोसँगै सुरु हुन्छ र रातको अन्तिम निद्रासम्म जिम्मेवारीले भरिएको हुन्छ।

उनीहरूको कामको कुनै निश्चित कार्यालय हुँदैन तर पूरा घर नै उनीहरूको कार्यक्षेत्र हुन्छ। कुनै निश्चित समय हुँदैन तर चौबीसै घण्टा जिम्मेवारी रहिरहन्छ। कुनै पद हुँदैन तर उनीहरू परिवारका वास्तविक व्यवस्थापक हुन्छन् । कुनै औपचारिक तलब हुँदैन तर उनीहरूको श्रमले परिवारको अमूल्य सम्पत्ति विश्वास, संस्कार, अनुशासन र खुसी निर्माण गरिरहेको हुन्छ। समाजमा अझै पनि कतिपयले प्रश्न गर्ने गर्छन्  यति पढेर पनि घरमै बस्ने ? केही जागिर गरे हुन्थ्यो नि! आफ्नो करियर बनाउनुपर्थ्यो।  यस्ता प्रश्नहरू गलत नियतले गरिएका नहुन सक्छन् तर यसले एउटा महत्त्वपूर्ण पक्षलाई बेवास्ता गरिरहेको हुन्छ। त्यो हो, घरभित्रको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण काम हो भन्ने यथार्थ।

एउटा बच्चाको पहिलो विद्यालय घर हो र पहिलो शिक्षक आमाबुबा हुन् । बच्चाको व्यवहार, संस्कार, आत्मविश्वास, अनुशासन र जीवनप्रतिको दृष्टिकोण निर्माणमा परिवारको भूमिका निर्णायक हुन्छ। जब कुनै महिला आफ्नो समय र ऊर्जा सन्तानको हेरचाह, शिक्षादिक्षा र व्यक्तित्व विकासमा लगानी गरिरहेकी हुन्छिन् उनले केवल आफ्नो परिवारलाई मात्र होइन, भविष्यको समाजलाई पनि आकार दिइरहेकी हुन्छिन्। यस्ता महिलाहरूको जीवन सधैं सजिलो हुँदैन। कहिलेकाहीँ उनीहरूलाई पनि लाग्छ सायद आफूले केही छुटाइरहेकी छु। साथीहरू आफ्नो क्षेत्रमा प्रगति गरिरहेका हुन्छन्, नयाँ अवसरहरू प्राप्त गरिरहेका हुन्छन्। त्यस्तो बेला मनमा अनेक प्रश्न उठ्नु स्वाभाविक हो। तर समयसँगै धेरै महिलाहरूले एउटा गहिरो सत्य बुझ्ने गर्छन् । जीवनको मूल्य केवल बाहिरी उपलब्धिले मात्र निर्धारण हुँदैन। आफूले माया गरेका मानिसहरूको प्रगति, परिवारको स्थिरता र सन्तानको उज्वल भविष्यमा पनि ठूलो उपलब्धि लुकेको हुन्छ।

एउटा सफल परिवार केवल महिलाको त्यागले मात्र बन्दैन न त पुरुषको कमाइले मात्र। परिवार भनेको सहकार्य, सम्मान र समझदारीको साझा यात्रा हो। घरभित्रको जिम्मेवारी सम्हाल्ने महिलाको भूमिका जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण त्यो भूमिकाको सम्मान गर्ने पुरुषको सोच पनि हो। आज धेरै पुरुषहरू आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै समाज र राष्ट्रको सेवामा जुटिरहेका छन्। उनीहरूको सफलताका पछाडि घरलाई व्यवस्थित राख्ने, बालबच्चाको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने र मानसिक रूपमा परिवारलाई बलियो बनाइराख्ने जीवनसाथीको योगदान जोडिएको हुन्छ। त्यसैगरी, घरभित्र समर्पित महिलाहरूको आत्मविश्वास र सन्तुष्टिको आधार बन्ने, उनीहरूको योगदानलाई सम्मान गर्ने र निर्णयलाई कदर गर्ने पुरुषहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। वास्तविक समानता भनेको सबैले एउटै काम गर्नु होइन । वास्तविक समानता भनेको एकअर्काको भूमिकाको सम्मान गर्नु हो। कोही कार्यालयमा बसेर जिम्मेवारी निभाइरहेको हुन्छ, कोही घरभित्र बसेर। कोही बाहिरी संसारको चुनौती सामना गरिरहेको हुन्छ, कोही परिवारको दैनिक जीवनलाई सहज बनाइरहेको हुन्छ। दुवै भूमिका उत्तिकै आवश्यक छन्, दुवै सम्मानका पात्र छन्।

नेपालको सामाजिक संरचनामा परिवार अझै पनि सबैभन्दा बलियो संस्था हो। यही परिवारलाई बलियो बनाइराख्न अनगिन्ती महिलाहरूले आफ्नो समय, भावना र ऊर्जा समर्पित गरिरहेका छन्। उनीहरू समाचारका मुख्य शीर्षक नबन्न सक्छन्, पुरस्कारको मञ्चमा कम देखिन सक्छन् तर उनीहरूको योगदान बिना धेरै परिवारहरूको सफलता अधुरो रहन्छ। त्यसैले घरभित्रको जिम्मेवारीलाई कहिल्यै सामान्य काम ठान्नु हुँदैन। एउटा घर व्यवस्थित हुनु, बच्चाहरू सही संस्कारमा हुर्कनु, परिवारमा आत्मीयता कायम रहनु र सदस्यहरू आफ्नो-आफ्नो क्षेत्रमा निश्चिन्त भएर अघि बढ्न सक्नुका पछाडि कसैको निरन्तर समर्पण, धैर्यता र प्रेम लुकेको हुन्छ। आज आवश्यक कुरा तुलना होइन, सम्मान हो। कसैले जागिर गरेर योगदान दिइरहेको छ भने त्यो प्रशंसनीय छ। कसैले परिवारलाई प्राथमिकता दिएर घर सम्हालिरहेको छ भने त्यो पनि उत्तिकै प्रशंसनीय छ। जीवनका बाटाहरू फरक हुन सक्छन्, तर जिम्मेवारीप्रतिको निष्ठा र समर्पण नै सबैभन्दा ठूलो मूल्य हो। हामीले समाजको विकासको कुरा गर्दा सडक, भवन, कार्यालय र संस्थाको चर्चा गर्छौं तर एउटा सभ्य समाजको आधार भनेको असल परिवार हो र असल परिवार निर्माणमा मौन रूपमा समर्पित महिलाहरू तथा उनीहरूको योगदानलाई सम्मान गर्ने पुरुषहरूको भूमिका अमूल्य हुन्छ।

नेपालमा 2022/2023  (Nepal Living Standards Survey IV)  र पछिल्ला Central Bureau Statistics तथ्यांक अनुसार महिलाको रोजगारी प्रदेशअनुसार फरक भए पनि समग्रमा देशभर उनीहरूको Labor Force Participation करिब 37 प्रतिशत देखी 54 प्रतिशतको बीचमा देखिन्छ जसमा सबैभन्दा उच्च बागमती प्रदेशमा (झण्डै 55 प्रतिशत) र सबैभन्दा कम कर्णाली तथा सुदूरपश्चिममा देखिन्छ। तर यी तथ्यांकले सरकारी वा निजी जागिर मात्र होइन, कृषि र अनौपचारिक कामलाई पनि समेट्छ जसले गर्दा नेपालमा महिलाको ठूलो हिस्सा अझै पनि घरधन्दा, पारिवारिक कृषि र अनपेड काममा केन्द्रित रहेको स्पष्ट हुन्छ। सरकारी जागिरको अवसर मुख्यतः बागमतीमा केन्द्रित छ भने अन्य प्रदेशहरूमा निजी तथा अनौपचारिक क्षेत्रमा महिलाको सहभागिता बढी देखिन्छ तर Formal Salaried Employment अझै सीमित छ। यसरी समग्र चित्र हेर्दा नेपालमा महिलाको आर्थिक सहभागिता बढ्दै गए पनि उनीहरूको ठूलो श्रम अझै पनि औपचारिक रोजगार प्रणालीभित्र पूर्ण रूपमा गणना हुन नसकेको अवस्था कायम छ।

अन्ततः घरभित्रको श्रम अदृश्य हुन सक्छ तर यसको प्रभाव अत्यन्त गहिरो हुन्छ। परिवारप्रति समर्पित महिलाहरू नै भविष्यका पुस्ताको आधार निर्माण गरिरहेका छन्। उनीहरूको मेहनतको मूल्य तलबको अंकले नाप्न सकिँदैन किनकि त्यसमा एउटा परिवारको खुसी, सन्तानको भविष्य र समाजको परिवर्तन जोडिएको हुन्छ। त्यसैले आजको यो मेरो सम्मान परिवारलाई प्रेम, जिम्मेवारी, त्याग र समझदारीका साथ अगाडि बढाइरहेका सबै महिला तथा पुरुषहरूप्रती जोडिएको छ । किनकि बलियो परिवारबाटै बलियो समाज र बलियो राष्ट्र निर्माण हुन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker