विश्वकप फुटबल : यस्त‍ा छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता

गोविन्दराज नेपाल

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् ।

अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ ।

यस पटक खेलका नतिजा सोचेभन्दा फरक आइरहेको छन् । उपाधि दाबेदा र नाम चलेका खेलाडीहरू भटाभट आउट भइरहेका छन् । यस्तै नयाँ टिमले पनि इतिहास बनाए ।

क्वाटरफाइनलमा ८ खेल सकिएपछि कतार विश्वकपले सेमिफाइनल पुग्ने चार टिम पाइसकेको छ ।

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । मोरक्को अफ्रिकाबाट विश्वकप सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।

विश्वकपका ६४ मध्ये ६० खेल सकिएको छ र अब जम्मा चार खेल बाँकी छ । तेस्रो स्थानको खेललाई छाड्ने हो भने अबको तीन खेल एकदमै प्रतिक्षित हुनेछ ।

अब बाँकी चार टिममध्ये कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम विजेता होला वा पुरानै टिमले उपाधि थाप्लान् ? त्यसका लागि पुस तीन गतेसम्म कुर्नुपर्नेछ ।

ब्राजिलसँगै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, नेदरल्याण्ड्स अनी क्वाटरफाइनलबाटै बाहिरिसकेका छन् ।

त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्कियो ।

यसपटक सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो सरप्राइज भने मोरक्को रह्यो । पूरा अप्रिकाको प्रतिनिधित्व गर्दै मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेको छ ।

सेमिफाइनल पुगेका मध्ये दुई पूर्व विजेता छन् भने दुई टिमले उपाधि जितेका छैनन् ।

अर्जेन्टिनाल र फ्रान्सले उपाधि जितिसकेका छन् भने क्रोएसिया साविक उपविजेता हो । मोरक्को नयाँ हो ।

अब फाइनल समीकरण जस्तो पनि बन्न सक्छ । दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिम फाइनल पुग्न पनि सक्छ।

यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउनेछ । पछिल्लो पटक विश्वकप जित्ने नयाँ टिम स्पेन हो । स्पेनले २०१० जितेको थियो ।

फिफा विश्वकप २०२२ को सेमिफाइनल पुगेका ४ टिम कस्ता छन् ?

अर्जेन्टिना : फिफा वरीयता नं. ३

सेमिफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा माथि रहेको टिम हो अर्जेन्टिना । दुई पटकको उपाधि विजेता । अनि ३६ वर्षपछि पहिलो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा अन्तिम चारको यात्रा तय गरेको छ ।

अर्जेन्टिनाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो । त्यसको ८ वर्षपछि अर्जेन्टिना सेमिफाइनल पुगेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको लागि यो अन्तिम विश्वकप हुने सम्भावना रहेकोले पूरा टिम र अर्जेन्टिना नै अहिले एकजुट बनेको छ विश्वकप जित्नका लागि । कतारमा पनि अर्जेन्टिनाले समर्थकको उत्तिकै साथ पाइरहेको छ ।

उपाधि दाबेदार मध्ये एक टिमको रुपमा कतार पुगेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासाग २-१ ले स्तब्ध भएको थियो । यसले समूह्यबाटै घर पर्काउने शंका उत्पन्न गरे पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपना बाँकी राखेका छन् ।

पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह बीको विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । साउदीसँग २-१ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गर्दै मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हरायो ।

अर्जेन्टिनाले अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाका कप्तान मेसी ४ गोल गर्दै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले दुई असिस्टसमेत गरेका छन् ।

क्रोएसिया : फिफा वरीयता १२

ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काउने टिम हो क्रोएसिया । ब्राजिलको उत्कृष्ट अट्याकलाई समेत रोकेको क्रोएसिया यस विश्वकपमा पेनाल्टी किंङको रुपमा देखा परेको छ ।

लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्दा क्रोएसियाले नकआउट चरणमा दुई खेल पेनाल्टी सुटआउटमै जितेको थियो ।

यस विश्वकपमा अपराजित टिममध्ये रहेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदा उपविजेतामै सीमित भयो ।

यस पटक पनि क्रोएसियाले त्यो प्रदर्शनलाई निरन्तरता दिएको छ ।

भेट्रान मिडफिल्डर लुका मोडरिचको प्रेरणादायी प्रदर्शन र नेतृत्वमा क्रोएसियाले प्रदर्शनलाई एकरुप दिएको छ र विपक्षी टिमको लागि चुनौती बनिरहेको छ । क्रोएसियाका गोलिकपर लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी पोष्टमा चुम्कजस्तै बनेका छन् ।

क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदा उनले तीन प्रहार रोकेका थिए । यस्तै ब्राजिलविरुद्ध क्वाटरफाइनलमा पनि उनले एक सेभ गरेका थिए।

क्रोएसिया समूह एफमा एक जित र दुई बराबरी खेल्दै समूह उपविजेता बनेको थियो । मोरक्को विरुद्ध गोलरहित बराबरीमा रोकिएको क्रोएसियाले दोस्रो खेलमा सुरुमा एक गोल खाएर पनि क्यानडालाई ४-१ ले पराजित गरेको थियो । त्यसपछि समहको अन्तिम खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसियाले नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

स्टार र नाम चलेका खेलाडी नभए पनि क्रोएसियाले संगठित प्रदर्शन गरिरहेको छ र विपक्षी फरवार्डका लागि बलियो डिफेन्सको नमूना प्रस्तुत गरेको छ ।

मोरक्को : फिफा वरीयता २२

यस विश्वकपमा मोरक्कोकोले नयाँ इतिहास बनायो । पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने टिमको रुपमा मोरक्कोले इतिहास बनाएको छ ।

सेमिफाइनल पुग्ने चारमध्ये फिफा वरीयतामा मोरक्को सबैभन्दा पछि अर्थात २२औं स्थानमा छ । तर कतारमा मोरक्कोको प्रदर्शन उत्कृष्ट छ ।

यस पटक मोरक्को जायन्ट किलर, डार्क हर्स, अन्डर डग जस्ता टिमको रुपमा देखिएको छ ।

एटलस लायन्सको उपनामले चिनिने यो मोरक्कोले समग्रमा अफ्रिकाको प्रतिनिधित्व गर्दै सेमिफाइनल खेल्नेछ ।

मोरक्कोले यसअघि सन् १९८६ मा विश्वकपको समूह चरण पार गरेको थियो । तर त्यसको ३६ वर्षपछि मोरक्कोले झन् धेरै सफलता हासिल गरिसकेको छ । अझ भनम इतिहास नै बनाएको छ । मोरक्कोले बनाएको इतिहासलाई अब सबैले सम्झनेछन् ।

बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूह एमा दुई जित र १ बराबरीको नतिजासहित मोरक्को समूह विजेता बनेको थियो ।

मोरक्कोको अर्को रोमाञ्चक तथ्य के छ भने यस पटक उसलाई विपक्षीले अहिलेसम्म गोल हान्न सकेका छैनन् । अझ पेनाल्टी सुटआउटमा समेत गोल खाएको छैन ।

क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २-० ले हरायो भने क्यानडालाई २-१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो ।

अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा मोरक्कोले ३-० को जित निकालेको थियो ।

ठूला टिमलाई हराउने क्रममा मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० ले स्तब्ध पार्दै इतिहास रच्यो । अब त्यसलाई सेमिफाइनलमा पनि कायम राख्दै मोरक्कोले फाइनल पुगेर नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ ।

फ्रान्स : फिफा वरीयता ४

पछिल्ला केही विश्वकपमा साविक विजेताहरु प्रदर्शन खराब रहेको अवस्थामा फ्रान्सले भने त्यसको ठीक विपरीत साविक विजेताको रुपमा यसपटक राम्रो प्रदर्शन गरिरहेको छ ।

ब्राजिल र अर्जेन्टिनापछि फ्रान्सलाई यस पटक उपाधि दाबेदारको रुपमा हेरिएको थियो । अर्जेन्टिना सेमिफाइनल पुग्दा ब्राजिल भने बाहिरिसकेको छ । दुवैले सेमिफाइनल जिते फाइनलमा भेट पक्का हुनेछ ।

फ्रान्स १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको छ ।

विश्वकपअघि र विश्वकप सुरु हुँदादेखि नै फ्रान्सले यस पटक चोटले पिरोलेको थियो । तर किलिएन एमबाप्पेको साथ पाएको फ्रान्सले सेमिफाइनल पुग्दै आफ्नो लक्ष्यको करिब नजिक पुगेको छ ।

क्वाटरफाइनलमा अर्को पूर्वविजेता इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

केही खेलाडी घाइते हुँदा पनि फ्रान्सको अट्याक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । अब फ्रान्स उपाधि रक्षाबाट दुई खेल टाढा छ । फ्रान्सले सेमिफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग खेल्नेछ । मोरक्को यस पटक जायन्ट किलर बन्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

फ्रान्सका लागि तुलनात्मक रुपमा सहज देखिए पनि मोरक्कोले स्पेन र पोर्चुगला जस्ता टिमलाई हराइसकेको छ ।

फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।

अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले सहजै हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ । त्यसपछि इंग्ल्याण्डलाई क्वाटरफाइनलमा २-१ ले पराजित गर्ने क्रममा रेगुलर टाइममा फ्रान्सले खेल जितेको हो । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker