शुक्लागण्डकीमा शिवरात्रीको अवसरमा भजन प्रतियोगिता हुने
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा शिवरात्रीका अवसरमा भजन प्रतियोगिता गरिने भएको छ । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा पुगेकाले च्यवनधामले भजन प्रतियोगिता गर्ने भएको हो ।
भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले बताए । उनले भने, ‘फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता आयोजना गरिएको छ ।’
प्रतियोगितामा प्रथमलाई ५१ हजार रुपैयाँ, द्वितीयलाई ३६ हजार रुपैयाँ, तृतीयलाई २१ हजार रुपैयाँ र सान्त्वनालाई पाँच हजार एक सय रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने लम्सालले बताए । महाशिवरात्रि पर्वका अवसरमा सामूहिक व्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनि पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ । साथै सोही दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको सांगीतिक प्रस्तुति रहनेछ ।
धार्मिकस्थलका रुपमा विकास भएको च्यवनधाम परिसरमा एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचना रहेका छन् । शिवरात्रि, साउने सोमबार, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायतका पर्वमा यहाँ भक्तजनको आवागमन हुने गर्दछ । यहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गरिएको छ ।










