सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्नुहुन्छ ।

घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उहाँको दैनिकी बनिसकेको छ । “घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन”, उहाँले भन्नुभयो ।

छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्नुहुन्छ । स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जानुहुन्छ । “दिवाकालीन आश्रम दिन बिताउने ठाउँमात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय ९१ वर्षीय मानसिं दर्लामी पनि नियमित दिवाकालीन आश्रममा आउनुहुन्छ । “घरमा बस्यो अल्छी लाग्छ, न्यास्रो लाग्छ, बरु आश्रममा आउन थालेदेखि आनन्द महसुस हुन थालेको छ”, उहाँले भन्नुभयो । उहाँहरूका अतिरिक्त यहाँ दैनिक ५० जना ज्येष्ठ नागरिक आउँछन् । बिहान १० बजेदेखि ३ बजेसम्म दिवाकालीन आश्रम सञ्चालन गरिएको छ । दिउँसोका समयमा ज्येष्ठ नागरिकलाई भुलाउने ठाउँ बनाउने उद्देश्यसहित दिवाकालीन आश्रम सञ्चालन गरिएको सङ्कीर्तन समूहका अध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

“कोही कोही ज्येष्ठ नागरिक त नातिनातिनीलाई पनि लिएर आउनुहुन्छ, घरमा बस्दा उहाँहरूलाई दिन कटाउन गाह्रो हुने भएपछि दिवाकालीन आश्रम सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो । दिवाकालीन आश्रममा आउने ज्येष्ठ नागरिकलाई आश्रमले नै दिवा खाजाको व्यवस्था गरेको छ । दिवाकालीन आश्रम हप्ताको छ दिन सञ्चालन हुने र आइतबार बन्द हुन्छ । “शनिबार र चार्डपर्वका दिनमा झन बढी ज्येष्ठ नागरिकको आगमन हुन्छ”, उहाँले भन्नुभयो, “भजनकर्ीतनका लागि वडाभित्रकै टाढा टाढाबाट समूह पनि आउँछन् ।”

ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एकापसमा भलाकुसारी गर्ने गरी सङ्कीर्तन समूहले दिवाकालीन आश्रम निर्माण गरेको थियो । विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएका थिए ।

“दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस गर्‍यौँ, यसकारण उहाँहरू अन्यत्र ठाउँमा गएर दिन कटाउन थाल्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरेर वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ”, उहाँका अनुसार यहाँका ज्येष्ठ नागरिक २०-२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे ।

वृद्धवृद्धाको सम्मान र अभिरुचि अनुरुप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई आश्रममा विभिन्न संगीतका सामान उपलब्ध गराइएको छ । “वृद्धवृद्धा दैनिक आएर विभिन्न भजनकीर्तन गर्ने, गाउने, बजाउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । आश्रममा विभिन्न व्यक्तित्वले जन्मोत्सवको अवसरमा आएर सहयोग गर्ने गरेका छन् । संकीर्तन समूहले विसं २०७२ सालदेखि कृष्णअष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको थियो ।

उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको दुइ तल्लाको भवन निर्माण गरिएको समूहका सचिव शरण खनालले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि रु ३५ लाख खर्च भएको छ । “प्रत्येक वर्ष देउसीभैलो खेलेर रकम जम्मा गरेका थियौं, वडा कार्यालयबाट पनि केही सहयोग भएपछि भवन निर्माण सम्पन्न गर्न सक्यौँ”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker