कृषकलाई प्राविधिक ज्ञान दिन बारीमै पुगे कृषिका कर्मचारी
भञ्ज्याङ समाचारदाता/दमौली

व्यवसायिकरूपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञानकेन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् । सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीलगायत प्राविधिक कृषकको बारीमै पुगेका हुन् ।
ऋषिङ गाउँपालिका-३ दुवुङमा सुन्तला खेती गरिरहेका कृषक तिलबहादुर थापा र देवघाट गाउँपालिका-२ खाल्टेमा कागती खेती गरिरहेका कृषक मनिष मल्ललाई भेटेर उक्त खेतीका सम्बन्धमा गर्नुपर्ने प्राविधिक ज्ञानका बारेमा जानकारी गराइएको तिवारीले जानकारी दिनुभयो ।
तिवारीले भन्नुभयो, “कृषक कार्यालयसम्म आउनुपर्ने बाध्यता र ज्ञानको अभावमा खेती राम्रो नहुने भएकाले सम्बन्धित ठाउँमै पुगेर प्राविधिक ज्ञान दिइएको हो, यसले गर्दा कृषकलाई पनि सहज हुन्छ ।”
ऋषिङ-३ का थापाले छ रोपनी क्षेत्रफलमा दुइ सय ५० बोट सुन्तला खेती गर्नुभएको छ । सुन्तला खेतीका लागि उहाँले मल्चिङ प्रविधि अपनाउनुभएको छ । मल्चिङ गर्दा सुन्तलाका बोट राम्रो हुने भएकाले प्राविधिकको सल्लाह बमोजिम नै मल्चिङ गरिएको थापाले बताउनुभयो । “कृषि ज्ञान केन्द्रले गत वर्षतालिमका क्रममा सुन्तला खेतीमा मल्चिङ गर्दा हुने फाइदाका बारेमा सिकाएको थियो, सोही प्रविधि अपनाएर यो वर्षखेती गरिएको छ”, थापाले भन्नुभयो ।
ज्ञान केन्द्रका प्रमुख तिवारीले मल्चिङ गरेको प्रविधि एकदम राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तालिममा पनि यसबारेमा भनेका थियौँ, तालिम अनुसार मल्चिङ भएको रहेछ, यो क्षेत्र दक्षिण भाग रहेकाले सुख्खायाममा पानीको अभाव हुन्छ, यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”
कृषिमा प्राविधिकको नियमित अनुगमन महत्वपूर्ण रहेको जनाउँदै तिवारीले भन्नुभयो, “हरेक स्थानीय सरकार र प्रदेश सरकारबाट अनुगमन भए कृषकलाई हौसला मिल्नेछ, कृषकलाई सुधार गर्न सजिलो हुन्छ ।” देवघाट-२ का मल्लले २० रोपनी क्षेत्रफलमा छ सय बोट कागती खेती गर्नुभएको छ । मल्लले कागती खेती गरे पनि काँटछाँटको समस्या हुँदा झाडी भएकाले त्यसलाई व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
“कागतीका बोटका हाँगालाई व्यवस्थित नगरेको पाइयो, बाक्लो हाँगा राख्न हुँदैन, चोर हाँगा समय समयमा कटान गर्नुपर्छ”, तिवारीले भन्नुभयो, “कृषकलाई यसबारेमा जानकारी नहुनसक्ने भएकाले फिल्डमै पुगेर जानकारी गराएका हौँ ।”
कृषि कार्यालयका प्रमुख सहितको टोलीले फिल्डमै आएर प्राविधिक ज्ञान दिँदा सहज भएको कृषक मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सबै कुराको थाहा हुँदैन, सदरमुकामसम्म पुग्न टाढा छ, बारीमै आएर यसरी अनुगमन गर्दा सजिलो भयो ।”










