मिर्गौला र क्यान्सरका बिरामीलाई व्यासले गर्यो आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका १०५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिनादेखि औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
चिकित्सकको सिफारिसमा वडा कार्यालय मार्फ चालु वर्षमा १०५ जनाको निवेदन परेको उनले बताए । जसमा क्यान्सरका बिरामी ६४ जना, डायलाइसिस गरेका बिरामी ३४ जना, मृगौला प्रत्यारोपण गरेका ६ जना र मेरुदण्डको पक्षघातको १ जना बिरामीले औषधी खर्चवापत ९ महिनाको ४५ हजार रुपैया पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
सरकारको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका १सय ५ जना बिरामीलाई औषधि खर्चबापत ४० लाख १० हजार रकम प्रदान गरिएको उनले बताए।

सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् । उनको अनुसार सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर नगरपालिकामा निवेदन दिनुपर्छ ।
मेरुदण्ड पक्षघात भएका बिरामीको हकमा भने अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित काम गर्ने उनले बताईन् ।











