कृषि पर्यटन र गाउँघरको अवस्था

के.बि. मसाल

कृषि र पर्यटनको आ-आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन दुबैको बिकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको छैन भन्दा पनि हुन्छ । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुन्छ । तर गाउँघरको अवस्था भने फरक छ ।

पर्यटनको क्षेत्रको एउटा भनाइ लिने हो भने जुन ठाउँमा पर्यटकहरु पुग्दछन त्यहाँ पर्यटकहरुले केहिन केही खर्च गर्नु पर्दछ । खर्चै नगरी फर्कन्छ भने त्यो पर्यटक नभै केवल अवलोकनकर्ता मात्र मानिन्छ । घुमफिर गर्ने जो कोही पर्यटकहरुसंग केहिन केही पैसा हुन्छ । पर्यटकहरु कुनै पनि पर्यटकीयस्थलमा पुगेपछि उसलाई आवश्यक पर्ने कुनै पनि वस्तु किन्न सकोस । तर दाङ जिल्लाका ग्रामीण पर्यटक पुग्ने ठाउँमा खर्च गर्ने ठाउँ छैन । बगलाचुली र छिल्लीकोटमा भ्युटावर निर्माण भएको छ तर पर्यटकहरुले आवश्यक वस्तु खरिद गर्ने त परैका कुरा चिया चमेना खाने ठाउँ पनि छैन । यो उधारण मात्र हो । गाउँमा पुग्ने पर्यटकहरुलाई खर्च गर्ने ठाउँ हुनु पर्दछ । यो भनेको गाउँघरमा उत्पादन बढाउनु हो । गाउँमा कृषिलाई पर्यटनसंग जोडेर उत्पादन गर्ने हो भने आय-आर्जन बढछ । गाउँमै रोजगारीका अवसरहरु सृजना हुन्छन र गाउँमा पनि पर्यटनको बिकास हुन्छ ।

तर, गाउँघरमा कस्तो छ त कृषिको अवस्था ? कृषि पेशामा लागेका कृषकहरुले आजभोली कृषि पेशामा रुचि राख्दैनन् । कृषि पेशालाई बाध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरुले पनि खेती गर्नु भन्दा अरु कामको खोजीमा हुन्छन । कृषि पेशामा लागेका युवाहरुले पनि आफुलाई कृषक भन्न रुचाउँदैनन् । कसैले पेशा सोधिहाल्यो भने आफुलाई बेरोजगार छु भन्न रुचाउछन । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । उन्नत बिउ, मल छैन । गाउँघरमा पशुपालन ब्यवसायलाई दुःखको पेशा भन्ने गरिन्छ । गाईबस्तु पालेर मल उत्पादन गर्ने प्रचलन हराएको छ । कृषकलाई प्रविधि सिकाउने प्राविधिक गाउँमा पुग्दैनन् । गाउँघरमा बेच्ने बजार छैन तर किन्ने बजार छ ।

कृषि ज्ञान केन्द्र अथवा पालिकामा रहेका कृषि शाखामा सिमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुचमा वितरण हुने गरेको छ । कस्तोसम्म पनि देखिएको छ भने जस्को जमिन छ तर उ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा ट्याक्टर अथवा अन्य केही औजार दिने कार्यक्रम भयो भने पहुचको भरमा उसले ट्याक्टर अथवा औजार पाउँछ र अरुलाई बेच्दछ । अनि कसरी कृषिमा पर्यटनको विकास हुन्छ ? कृषिको अनुदान रकम कस्ता मानिसले पाएका छन् ? वर्षौदेखि दिन रात खटेर कृषि ब्यवसाय सञ्चालन गर्ने कृषकहरुले किन अनुदानको रकम पाउन सकेनन् ? यसको तथ्याङ्क लिने हो भने सबै निरास बन्नु पर्ने अवस्था आउँछ । त्यसैले पनि बेरोजगार युवाहरु कृषि पेशामा रुचि राख्दैनन् । के अब सरकारको नीति तथा कार्यक्रमले बिदेशबाट फर्किएका युवा र स्वदेश भित्र रहेका बेरोजगार युवाहरुले रोजगारीका लागि कृषि, साना तथा मझौला उद्योग र निर्माण क्षेत्रमा रुचि देखाउलान ? यो अध्यनको बिषय भएको छ ।

अहिले गाउँको अवस्था हेर्ने हो भने छोराछोरी पढाउन तिनका आमाहरु नजिकका शहर बजारमा आएका छन् । वैदेशिक रोजगारमा गएका युवा र छोराछोरी पढाउन सहर पसेका तिनका पत्नीहरु के अब गाउँ फर्कलान् ? जबानीको शिखर विदेशमा पसिना बगाएर थाकेकाहरु स्वदेश फर्केपछि फेरि त्यही दुःख गर्न उनीहरु गाउँमा फर्केलान् ? फर्कन मन गर्नेलाई पनि तिनका पत्नी र छोराछोरीले गाउँमा फर्कन देलान् ? सम्पूर्ण ग्रामीण जनजीवनका लागि यो अहं प्रश्न भएको छ । वैदेशिक रोजगारमा गएका पुरुष र छोराछोरी पढाउन सहर झरेका तिनका पत्नीहरुले गाउँघरका दुःख भोग्नसम्म भोगेका छन् । लेक-बेंसी, उकाली-ओराली, घाँस-दाउरा, ढिकी-जाँतो, टाढाको पँधेराको पानी, झरी-बादल, डोको-नाम्लो, कुटो-कोदालो, हलो-जुवा, खेताला-बाउसे, वस्तुभाउको स्याहार, असिना-पसिनाको जीवनचक्रमा पिसिएर, पिल्सिएर र थिचिएर जीवन चलाइरहेकाहरु ती सबै दुःखबाट मुक्त भएर केही वर्ष शहरको सुविधायुक्त जीवनको स्वाद चाखेर बानी बिग्रिसके को छ । अब के उनीहरु फेरि त्यही दुःख भोग्न गाउँ फर्कन तयार होलान् –

नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौ ? अरु त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौ । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर गाउँघरमा युवा वेरोजगारी छन् । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौ । आज हामी तरकारी, फलफूल, खाद्यान्न लगायत जिविकोपार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौ । हाम्रो बास्तविक अवस्था यहि हो । यस्तो अवस्थामा हामी कृषि पर्यटन भनि राखेका छौ । जबसम्म कृषिमा उत्पादन बढाउन सक्दैनौ, कृषि पर्यटनको विकास हुँदैन । कृषि पर्यटनको विकास गर्न सबै स्थानीय तहले अब कृषि पर्यटनको बिकास गर्न निर्वाहमुखी कृषिलाई आधुनिक करण गर्दै लानु पर्दछ । अहिले नगरपालिका क्षेत्रभित्र मात्र होइन गाउँमा सडक निर्माण एवं विस्तार भइसकेकाले मानव बस्ति विकासको क्रम बढेको छ । शहर र गाउँलाई सडक सञ्जालले जोडने क्रममा खेतीयोग्य जमिन मासिदै गएका छन् । परम्परागत रुपमा रहेको बाटोघाटो, कुवा, प्राकृतिक हरियाली नष्ट गरी जथाभावी रुपमा खन्ने, डोजर चलाउने, भूमिगत पानीको मुहान थुन्ने, भत्काउने जस्ता कार्य भएको छ । हरियाली डाँडापाखा डोजरकै कारण सुक्खा भएका छन् । पानीका स्रोत पनि सुक्दै जान थालेका छन् ।

कृषि पर्यटनको विकास बोल्दैमा हुने होइन । कृषि पर्यटनका लागि आवश्यक नीति, योजना, कार्यक्रम, रणनीति र भौतिक एवं मानवीय पूँजीको प्रवर्द्धन गर्नु पर्दछ । त्यसैले अब सबै स्थानीय तहले आफ्नो ठाउँमा के खेती गर्दा राम्रो उत्पादन हुन्छ । त्यसको पकेट एरिया बनाउनु पर्दछ । धान, मकै, तोरी, गहु, मात्र होइन आय आर्जन हुन सक्ने सिउँडी प्रजातिको ड्रागन फ्रुट, एभोकार्डो, आँप, लिच्ची, मेवा, केरा, कटहर, अम्बा, कागती, अमिलो जस्ता फलफूलको पकेट एरिया कहाँ बनाउने ? भन्ने योजना हुनु पर्दछ । पकेट एरिया बनाएर खेती गर्न सकियो भने गाउँमा पर्यटकहरु पुग्दछन । कृषकले लगाएको खेती पर्यटकहरुले अवलोकन गर्ने मात्र होइन पर्यटकहरुले आवश्यक परेको बस्तु खरिद गर्दछन् । गाउँघरमा पर्यटकहरुलाई आकर्षा गराउने माध्यम भनेको कृषि पर्यटन हो । ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो । कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा पर्यटकहरुलाई अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउछ ।

कृषि पर्यटनको बजारको खासै समस्या पनि छैन । उत्पादित वस्तुले सहज रुपमा बजार पाउन सक्दछ । कृषि पर्यटनको पकेट एरिया विकासले कृषि उत्पादनमा वृद्धि मात्र नभएर बजार समेत प्रभाव पार्दछ । कृषिका लागि प्राविधिक विषय र सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि पर्यटनको विकासले पर्यटन क्षेत्र विस्तार भई मौलिक संस्कृति र सामाजिक सदभाव बढन सक्छ । कृषि पर्यटन विकासले गाउँमै होमस्टेको विकास हुन्छ । ग्रामीण पर्यटकहरुलाई गाउँमा बस्न खान होमस्टेको सुबिधा भएपछि पर्यटकको आकर्षा बढन जान्छ । पर्यटकको माग हुन थालेपछि मौलिक घरेलु वस्तुहरुको उत्पादन बढछ । चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहारले बजार विस्तार हुन्छ । यसबाट व्यक्ति र समुदायले फाइदा उठाउँछन् ।

अहिले दिन प्रतिदिन जीवनशैली रुपान्तरित भइरहेको छ । हप्ताको एकचोटि बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भइरहेको छ । हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ । सरकारी, गैह्रसरकारी संघ संस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर घुमफिरमा निस्कने अहिले फेशन जस्तै बनेको छ । जुन पर्यटनको क्षेत्रमा सकारात्मक पक्ष हो । अहिले शहर बजारमा जन्मे हुर्केका बालबालिकाहरु कृषिका कुरा थाहा हुन छाडेको छ । दुध कहाँ पाइन्छ भन्ने हो डेरीमा भन्ने अवस्थामा पुगेका छन् । सुन्तला, काफल खान्छन तर त्यसको बोट कस्तो हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुन्न । यो उदहारण मात्र हो । कृषि पर्यटनले यस्ता कुराहरुलाई अवलोकनका माध्यमले थाहा दिलाउँछ । कृषि पर्यटनको क्षेत्रमा आफ्ना बालवालिकासंग गाउँमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउँदाको अनुभव छुट्टै हुन्छ । अबको हाम्रो पहल भनेको घुमफिरमा निस्कने यी प्रत्येक पाइलालाई गाउँगाउँ र बस्तिबस्तिमा पुर्‍याउन सक्नु पर्दछ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहरिया जीवन बिताउनेहरुलाई कृषि पर्यटनको गाउँमा जादा कृषकले हलो, कुटो, कोदालोले खेतवारीमा काम गरेको देख्न पाउँछन् । जुन कारणले उसलाई पनि आफ्नो करेसाबारीमा तरकारी फलाउने उत्सुकता जगाउँछ ।

कृषकसंगै प्रत्यक्ष रुपमा कृषि कार्यमा संलग्न भएर गाउँघरको घुमघाम सबैलाई रमाइलो हुन्छ । शहरीया बालकवालिकाका लागि आफ्नै आँखाकै अगाडि भैँसीको दुहेको, काठको ठेकीमा दही मोथेको, दहीबाट मही, नौनी उत्पादन प्रक्रिया हेर्दा रमाउछन् । यो मात्र होइन कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गराउँछ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले समाजिक सदभाव बढ्छ । र्फम-स्टे, होम-स्टेले पर्यटकको आकर्षण बढदै गाउँमा जाने पर्यटनको संख्या बढ्छ । कृषिलाई पर्यटनसँग जोडन सके कृषिप्रतिको नैराश्यता हराउदै रुचि बढछ । ग्रामीण पर्यटकको संख्या बढदै कृषि उपजको बजारीकरणमा टेवा पुग्छ । अब प्रत्येक स्थानीय तहमा ठूला कृषि फार्महरुको सम्भाव्यता अध्ययन र माटोकोे गुणस्तर परीक्षण गरी नमूना सामुहिक कृषि फार्महरुको विकास गर्नु पर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नु पर्दछ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रुपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको कानुन ल्याउन पर्दछ । बाँझो जग्गाआधुनिक कृषिगर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनु पर्दछ ।

अब ब्यवसायी कृषिमा अर्गानिक वस्तुको उत्पादन गर्न पर्दछ । कृषि पेसालाई मर्यादित र सम्मानित बनाउने र कृषिका लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानीय सरकारबाट हुनु पर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिन प्रतिदिन युवा विदेश पलायन हुने विषयलाई रोक्न पनि कृषिमा आकर्षण र सम्मान दिन सक्नु पर्दछ । सहज रुपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त हुने अवस्था भए कृषिमा लगानीकर्ता सुरक्षित र आकर्षित हुन्छन । कृषि क्षेत्रलाई हरेक तहबाट अनिवार्य प्राथमिकतामा राख्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्दछ ।

कृषि क्षेत्रको समस्या भूमि सरोकारसँग धेरै जोडिएको छ । भूउपयोग नीति र जग्गाको वैज्ञानिक वर्गीकरण गरी कृषियोग्य जमिनको खण्डीकरण रोकी जग्गा एकीकरण र क्षेत्रगत कृषि कार्यक्रम लागु गर्नु पर्दछ । कृषियोग्य जमिनमा रहेको सामन्ती भूस्वामित्वको अन्त्य गर्न जरुरी छ । अहिलेको अवस्थामा रहेको निजी स्वामित्वका जग्गाको अतिरिक्त सार्वजनिक जग्गा तथा सामुदायिक वन क्षेत्रमा समेत कृषि उपयोगिताका आधार खोज्नु पर्दछ । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुको जमातलाई आफ्नो गाउँमानै रोजगारीको अवसर सिर्जना गर्न, बसाइँसराइ गरी सहर जानेहरुको जमातलाई पुनः फिर्ता गरी खेतीयोग्य जमिन पुनः स्थापित गरी गाउँघरमानै अर्थतन्त्रको विकास गर्नको लागि सरकारले कृषि क्षेत्रमा नीतिगत उपायहरु अबलम्बन गर्नु पर्दछ ।

अर्को महत्वपूर्ण कुरा कृषिमा भएको लगानीको सुरक्षा हो । अहिले बेला बखत खडेरी, असिना जस्ता मौसममा आएको प्रतिकुलता, रोगव्याधी, बांदर, किरा आदिबाट हुने जोखिम तथा न्यूनगुणस्तरको बिउ बिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नोक्सानी पुर्‍याइरहेको छ । यसबाट कतिपय किसानको लगानी बर्षोनी खेर गएको छ । प्राकृतिक विपत्ति वा रोगजन्य कारणबाट हुने क्षतीबाट जोगाउन बाली तथा पशु बीमाको व्यवस्था गरिनु पर्दछ । औद्योगिक बीमाको व्यवस्था गर्ने हो भने ब्यवसायी कृषि सुरक्षित बन्न सक्दछ । दाङमा कृषि पर्यटनको सम्भावना धेरै छ । कृषिलाई आधुनिक करण गर्न सक्ने हो भने कृषि पर्यटनको बिकास हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker