तनहुँका ९ पालिकाले सार्वजनिक गरे प्रस्तावित बजेट आँवुखैरेनीले ल्याउन सकेन

तनहुँको चार नगरपालिका र छ गाउँपालिका मध्ये ९ पालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । आँवुखैरेनी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बजेट भने सार्वजनिक गरेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम पालिकाहरुले सोमबार अनुमानि बजेट प्रस्तुत गरेका छन्।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐन अनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ ।
तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्व ४ करोड ९३ लाख ६७ हजारको अनुमानित आय व्यय विवरण सार्वजानिक गरेको छ । नगरपालिका स्थापनाकालदेखिको ४१औं नगरसभामा नगर उपप्रमुख इन्दिरा दरैले उक्त अनुमानित बजेट तथा आय व्यय विवरण सार्वजानिक गरेकी हुन् । जस मध्ये चालु तर्फ ९४ करोड ७३ लाख ५६ हजार तथा पुँजिगत तर्फ १ अर्व ९ करोड २० लाख २० हजार रुपैयाँ बाडफाँड गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १२ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। १५औं अधिवेशनमा नगर प्रमुख कृष्णराज पण्डितले अनुमानित आय पेश गरेका हुन् । संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ४६ लाख, संघीय सरकारबाट राजश्व बाडाफाँडतर्फ प्राप्त रकम १३ करोड १० लाख रुपैया, शर्सत अनुदान ६२ करोड ३६ लाख, विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान छ ।
यस्तै भानु नगरपालिकाको १४औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु ८५ करोड १६ लाख ७४ हजार रकम खर्च हुने अनुमान गरेको छ । भानु नगरपालिकाका नगर सभामा उप प्रमुख उमा गोतामेले कुल विनियोजन मध्ये चालुतर्फ रु ६४ करोड ११ लाख ९१ हजार, आन्तरीक स्रोत तर्फ रु ४५ करोड ३९ लाखमा चालु खर्च र पुँजीगत तर्फ रु २१ करोड ४ लाख ८३ हजारको बजेट प्रस्ताव गरिएको छ ।
भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६२ करोड ४७ लाख १४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। सोमबार भएको नगरसभामा नगर उपप्रमुख शारदा खनालले चालु तर्फ ६९.५९ प्रतिशत अर्थात ४३ करोड ४७ लाख ९ हजार रुपैयाँ र पुँजिगत तर्फ ३०.४१ प्रतिशत अर्थात १८ करोड ९९ लाख ५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
यस्तै, देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ४५ करोड ५८ लाख ८८ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाकाको १४औं गाउँसभामा सोमबार गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले उक्त बजेट प्रस्ताव गरेका हुन् ।
घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ । गाउँपालिकालको गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले आन्तरिक श्रोत अनुदान १३ करोड २१ लाख, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ४१ लाख, संघीय राजश्व बाँडफाँड ८ करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण १ करोड ५ लाख, प्रदेश सरकार राजश्व बाँडफाँड ५८ लाख, संघीय सशर्त अनुदान १७ करोड १८ लाख ४१ हजार, संघीय समपुरक अनुदान ३ करोड प्रदेश समपुरक अनुदान ६० लाख र प्रदेश सशर्त अनुदान ४० लाख अनुमानित बजेट सार्वजनिक गरेकी छन् ।
ऋषिङ गाउँपालिकाले ५२ करोड २४ लाख ४ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले कुल बजेट मध्ये ६३ प्रतिशत चालु र ३७ प्रतिशत पुँजिगत बजेट सार्वजनिक गरेकी छने ।
म्याग्दे गाउँपालिकाले ६७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ। गाउँपालिकाको गाउँसभा उपाध्यक्ष वालकृष्ण घिमिरेले चालु तर्फ ६६.४५ प्रतिशत अर्थात ४४ करोड ८४ लाख २९ हजार रुपैयाँ र पुँजीगत तर्फ ३३.५५ प्रतिशत अर्थात २२ करोड ६५ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।
बन्दीपुर गाउँपालिकाले ५४ करोड ४५ लाख ४४ हजार प्रस्तुत भएको छ । सोमबार आयोजित गाउँपालिकाको १५औं गाउँसभामा उपाध्यक्ष पन्चमाया गुरुङले उक्त बजेटमा प्रस्ताव गरेकी हुन् ।










