रोट्रयाकटले सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै

दमौली : रोट्रयाकट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष यहि पुस १३ गते शनिबार सचिनको स्मृतिमा गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा करिब १०० जना धावकहरुको सहभागिता रहने क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । उक्त दिन २ वटा एम्बुलेन्स, २ वटा बस, सुरक्षा निकाय र ट्राफिक प्रहरीको भ्यान धावकसँग सँगै हुने कार्यक्रमका संयोजक किरण श्रेष्ठले बताए ।
धावकहरुको सहजताका लागि आयोजकले उपलब्ध गराएको नम्बरमा फोन मार्फत पनि नाम दर्ता गर्ने सुविधा समेत रहेको उनले जानकारी दिए । स्थानीय तथा नयाँ धावकहरुलाई प्रोत्साहन गर्न प्रतियोगितामामा कुनै पनि विभागीय धावकलाई सहभागी नगराउने निर्णय गरिएको संंयोजक श्रेष्ठले बताए ।
दमौलीदेखि छाब्दीसम्म ९ किलोमिटरको उक्त दौड प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई क्रमशः १५ हजार ५ सय, १२ हजार ५ सय र ८ हजार ५ सय नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रम संयोजक श्रेष्ठ जानकारी दिए । दमौलीको अनसन चौतारीबाट सफा सडक, पृथ्वी राजमार्ग, गल्बुवेसी, भादगाउँ हुँदै छाब्दी बाराहीमा पुगेर दौडको समापन हुने क्लबले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भूपू सैनिक क्लब, भारतीय सैनिकमा आबद्ध व्यक्तिहरुलाई सहभागी नगराइने क्लबले जनाएको छ । महर्षि वेदव्यासको जन्मस्थल दमौली स्थित व्यास गुफा र धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही बिचको सम्बन्ध सुदृढ बनाई पर्यटक प्रबर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए ।
क्लवको संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लवले हरेक वर्ष देशव्यापी रक्तदान संगै दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । छाब्दी बाराही मन्दिरको प्रचारप्रसारमा समेत दौड प्रतियोगिताले योगदान गरेको क्लबले विश्वास लिएको छ ।
केही वर्षअघि आदिकवि भानुभक्त आचार्य र घासीको महिमासँग जोडिएको ऐतिहासिक स्थान घासीकुवाँसम्म दौड गर्दै आएको क्लबले विगत ५ वर्षदेखि छाब्दी वाराही मन्दिरसम्म दौड आयोजना गर्दै आएको छ ।










