छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन

डुम्रे : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।

महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख सङ्कलन गरिएको जानकारी दिनुभयो । यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले रु पाँच लाखभन्दा धेरै दान दिएका उहाँले बताउनुभयो । आँबुखैरेनी गाउँपलिका–३ निवासी अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले रु पाँच लाख ११ हजार १११ दान दिनुभएको थियो ।

यसैगरी अमृत केसी र गोमा केसीले रु पाँच लाख पाँच हजार ५५८, महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले रु पाँच लाख एक हजार १०१ र आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीले रु पाँच लाख ५५ हजार ५५५ दान गर्नुभएको थियो ।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन दिनुभएको थियो । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ । यहाँ गरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ अमिलीबोटे (हाटबजार) मा आयोजना गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker