प्रणय दिवसमा बन्दीपुरमा नेपथ्यको कन्सर्ट

बन्दीपुर : ऐतिहासिक तथा पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा प्रणय दिवसको अवसरमा नेपथ्य कन्सर्ट गरिने भएको छ । खड्गदेवी बन्दीपुर युवा क्लवले फागुन २ गते सांस्कृतिक गतिविधिमार्फत पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यका साथ उक्त कन्सर्ट गर्न लागेको हो ।

बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा आयोजित कन्सर्टले नेपाली मौलिक सङ्गीतलाई केन्द्रमा राखेर बन्दीपुरलाई सांस्कृतिक तथा सङ्गीतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचका साथ कार्यक्रम अघि बढाइएको बताइएको छ । आयोजनाका संयोजक रवि श्रेष्ठका अनुसार बन्दीपुरलाई प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानसँगै सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । उनले भने, ‘यस प्रकारका राष्ट्रियस्तरका सांस्कृतिक कार्यक्रमले बन्दीपुरको पर्यटनलाई वर्षभरि सक्रिय बनाउन सहयोग पुग्छ ।’

प्रणय दिवसलाई केवल पश्चिमी शैलीको उत्सवमा सीमित नराखी सकारात्मक सामाजिक सन्देशसहित मनाउने प्रयास गरिएको संयोजक श्रेष्ठले बताए। उनले भने, ‘नेपथ्यजस्तो नेपाली समाज, प्रकृति र राष्ट्रिय भावनालाई गीतमार्फत अभिव्यक्त गर्ने ब्याण्डलाई बन्दीपुरसँग जोड्नुले युवा पुस्तामा भाषा, संस्कृति र सङ्गीतप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।’

कन्सर्टमा करिब छ हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ । त्यसअनुसार सुरक्षा, यातायात व्यवस्थापन, पार्किङ, स्वास्थ्य सेवा, सरसफाइ तथा आपतकालीन व्यवस्थालाई प्राथमिकतामा राखेर तयारी भइरहेको आयोजकले जनाएको छ । कन्सर्ट सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त खर्च टिकट बिक्री, प्रायोजन तथा विभिन्न सहकार्यबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

यस्तै, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले नेपथ्य कन्सर्ट बन्दीपुरका लागि गौरवको विषय भएको बताउँदै यसले पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरे। बन्दीपुरले सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’ र सन् २०२६ लाई ‘ग्रामीण पर्यटन वर्ष’का रूपमा मनाउने घोषणा गरिसकेको सन्दर्भमा यस्ता कार्यक्रमले ती अभियानलाई थप सशक्त बनाउने उनको भनाइ छ ।

प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिसँगै नेपथ्यको प्रत्यक्ष प्रस्तुति जोडिँदा बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकका लागि अझ आकर्षक गन्तव्य बन्ने बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker