नेपालमा दराइजाति र थातथलो
देव बस्न्यात

विषय प्रवेश
दराइ जाति दरै हुन की दराइ हुन गर्भगृहमै रहेको छ । भनाइ र लेखाइमा पनि अन्तर पर्दै आएका छन् । कोही बस्नेत लेख्छन् कोही बस्न्यात, कोही पौडेल लेख्छन् कोही पौड्याल, कोही पोख्रेल लेख्छन् त कोही पोख्र्याल लेखछन् । यस्तै यस्तै पाइन्छन् सबै थरहरुमा । दरै र दराइमा पनि त्यही देखिएको हो । बोलचालको भाषामा दरै भनेर संवोधन गरिएता पनि पुराना सरकारी लिखितहरुमा दराइ लेखिएको पाइएकोले यिनिहरु दराइ हुन भन्न सक्दछौं । हेर्दा मङ्गोलियन अनुहार परेका दराइहरु कालोवर्ण, छोटो कद, नेप्टोनाक, साना आँखा, उठेका गालाका हाड अलिकता दुब्ला पाताला देखिने यिनीहरुको शारिरिक विशेषताहरु हुन् । हजारौ वर्षदेखि बेसीका कुनाकन्दरा तथा खोंचहरुमा बसोबास गर्ने दराइहरुमा मूल रुपमा सातथर रहेको छ भन्ने सुन्दछौं । (श्रोत : चितवन दर्पण धर्मराज थापा)। तर दराइ जातिहरुमा राना, बूढाथोकी, गिन्देल, चितृराना, वनपाली, शिवकाशी, खजवार, राइ, राजपुत, बूढा, थापा, कोकलसाही, सूर्यवंशी, नरबंशी, साही, सिंह, चन्द्रवंशी श्रेष्ठ, बँशी, जहादरे र झ्यामतोना लगायतका उपथरहरु भेटिएका छन् । (श्रोतः विकीपिडिया)
दराइहरु कलाप्रेमी र सहनशील गुणले भरिएका पाइन्छन्। यसैले त दराइहरु आफ्ना सामाजिक कुराहरु सभा गरेर हल गर्दछन्। ३२ दराइ गाउँका आफ्नै मुखिया र पुर्खाहरु मिले बनाएको चौतारो हाल पनि व्यास न.प. १० डिहीगाउँ अद्यापि भेटिन्छ । पुर्खाले बनाएको सोही चौतारामा जम्माभइ हालसम्म दराइहरु सभाकचहरी गर्दै आएका छन् (श्रोतः चितवन दर्पण -धर्मराज थापा)आफ्नै जातिको महामुखियाको निर्देशनमा दराइहरुमा गुठी चल्दथ्यो । उनीहरु संस्कृतिका बारेमा बृहत छलफल गर्दथे भन्ने कुरा व्यास-१० डिही गाउँका तुल बहादुर दरैले बताएका हुन् । छलफलको निचोडलाई महामुखियाले सबैलाई आदेशात्मक आवाजमा सुनाउने गर्दथे । व्यास १० डिहीगाउँ दराइहरुको भलाकुसारी गर्ने चौतारी थियो भन्न पाउँदा तत्कालिन दरैहरुको राजा सुधन्वाको राजधानी गल्बुबेसीको सुनाघडेरी नै थियो भन्ने बल मिलेको छ । (श्रोतः दमौली महात्म्यम्-देब बस्न्यात र विकास खनाल) । यसैलाई उनीहरुको प्राकृतिक स्वभाव एवं पैतृक सम्पति मान्दै आएका छौं । वि.सं. १९४० सम्म तनहुँमा अमाली प्रथा रहेको थियो । तनहुँ ३२ दरै गाउँका तत्कालिन अमाली डिट्ठा महावीर अधिकारी क्षत्री रहेका थिए । उनैले दरै गाउँको तिरोभरो असुली गर्दथे ।
नेपालमा दराइहरुको आगमन
दरैहरु कहाँबाट आए ? कसरी यहाँसम्म आइपुगे ? यिनीहरुको रहनसहन र संस्कृति कस्तो छ यस बारेमा जानकारी राख्नु त्यत्तिकै आवस्यक देखिन्छ । हेर्दा दुरा र दराइहरु मङ्गोलमूलका देखिन्छन् । दुरा र दराइ एउटै मूलका हुन् कि भन्न सकिने आधारहरु पनि छन् । अर्को तर्फ दराइ र मगर एउटै आँतका छोरा हुन् कि भन्नु पर्ने पनि हुन्छ । दुरा र मगरहरु डाँडाकाँडामा बस्ने र दर्राईहरु पहाडका खोंच र मैदानमा बस्न रुचाउँछन् । दुराहरु बनेली जनावरको सिकार गर्छन भने मगर र दर्राईहरुको प्रमुख माछाको सिकार गर्दछन् । दराइहरुको मुख्य पेशा माछा मार्नु हो भने मगर र मगर्नीहरुको फूर्सदको क्षण बिताउने समयमा वैकल्पिक पेशा भनेको माछा मार्नु नै हो। मगर दुरा र दरै भोटबर्मेली मूलका भएकाले शारीरिक सुसंगठनका हिसावले हट्टा-कट्टा र होचो कदका भेटिन्छन । दुरा, दराइ र मगरहरु प्राकृत धर्मालम्वी हुन् । यी तिनै जाति आफ्ना पितृहरुलाई सम्झेर फागुन महिनामा बाजेबज्यै पूजा गर्दछन । बैसाख पूर्णिमाको दिन चण्डी पूजा गर्दछन् । बिस्तारै यिनीहरु सबै प्राकृतधर्मबाट वोनधर्म र बौर्द्धधर्म अङ्गीकार गर्दै अन्त्यमा हिन्दुधर्ममा दिक्षित हुन पुगेका हुन् ।
कोही कोही दुराहरु रुद्राभोट नेपाल पसेका हुन् भन्छन् भने मगर र दरैहरु पनि खार प्रदेशबाट हुम्लाको जडान भेगबाट नेपाल पसेका हुन् भन्दछन् । अघि भारतमा मुसलमानहरुको आक्रमण बढ्दै गयो । हुन त दुरा र दराइहरुका दुबै जाति दुष्मनहरुको आक्रमणबाट बच्नका खातिर नेपाल पसेका देखिन्छन् । केही ब्यक्तिको मतमा दुराहरु भारतको चितौडगढबाट र दरैहरु भारतको दरभङ्गाबाट नेपाल प्रवेश गरेका हुन् । भोटबर्मेली मूलमा रहँदासम्म दरैसंग मगर र दुराहरुसंग गुरुङ नजिकका देखिन्छन । यसैले दुरा र दरै एकैआँतका दाजुभाइ हुन् भन्न गाह्रो छ । नाममा अपभ्रश भइ दुरा या दरै हुँदै दराइ भएका होइनन् भन्न सकिन्छ ।
मुसलमानसंगको युद्धमा दराइहरुको राजा र काजीहरुको मृत्यु भयो । मुसलमानको निरन्तरको अक्रमणबाट बच्न दराइका रानीहरु र सेवकहरु नेपालको भावर क्षेत्रमा प्रवेश गरेका थिए । तिनै रानी र सेवकका सर्ंर्सगबाट दराइहरुको जन्म भयो । तिनै दर्राईहरु दरभङ्गाबाट कोशीका आसपासको क्षेत्रमा पुगेर बसोबास गर्न थालेका हुन् भनिन्छ । युद्धमैदानबाट डराएर भागेर आएकी रानीका सन्तान भएकाले यिनीहरुलाई डराउ खलक भन्दा शब्द अपभ्रंश भइ दराइ भनिएको हो भन्ने मत पनि रहेको पाउँदछौं । धेरै पहिले खम्बादेवीको धंसार झेंडे दरैले निर्माण गरेका हुन् भन्ने गरिन्छ । उही झेंडे दरैले घर छाउने झिंगटी बनाउने गर्दा रहेछन् । यसैले झेंडेलाई झिंगटे पनि भन्ने गरिंदो रहेछ । पूर्वको कोशी क्षेत्रमा आफ्नो कालीगढी फैलाएकोले झेंडेको प्रगती त्यहाँका कुमालहरुले देख्न सकेनन रे ! अन्त्यमा कुमालहरुले दरैहरुलाई त्यहाँबाट पनि बसाइ सर्न बाध्य बनाए रे ! अन्ततः दरैहरु कोशी क्षेत्रबाट सप्तगण्डकीको प्रसवण क्षेत्र भित्रमा पनि त्रिशुली र सेती नदीको किनार किनारै दमौली आएर आफ्नो मूलथलो बनाएका हुन् । (श्रोतः चितवन दर्पण-धर्मराज थापा) । यसैले कुनै आपद विपदमा पनि नडराउने जाति भएकाले दह्रैबाट दरै हुँदै दराइ थर कायम भएको बुझिन्छ । बातरहरु पूर्वबाट पश्चिम नलागे पनि बोटे र दरैहरु नदीमा माछा मार्ने, घाट चलाउने पेशा अंगाल्दै गण्डकी प्रस्रवण क्षेत्रमा फैलन पुगे । प्रायशः संस्कार, संस्कृति र भेषभुषा बोटे बातर र दराइहरुमा समनता भेट्न सकिन्छ ।
अधिकाँश दराइहरु स्थानीय बजारमा सस्तो श्रम बेचेर आफ्नो जीवन चलाइ रहेका छन् । खास गरेर घर बनाउने, सडक बनाउने, जस्ता आबश्यक पर्ने शारीरिक श्रमका काम गरी रहेका पाइन्छन् । भारत तथा ब्रिटिस सेनामा भर्ती हुन चाहने कतिपय दराइहरुले मगर थर लेखाएर जागिर खाएका देखिन्छन् । तर आज उनीहरु आफ्नै थर उल्लेख गरेर विदेशी प्रशासनिक तथा सैनिक केन्द्रमा भर्ति हुने र नेपालका सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा गर्दै आएका पाउँदछौं ।
दराइ र सेनराजा बीचको अन्तरसम्वन्ध
दरैहरु यहाँका स्थायी वासिन्दा हुन । दराइहरु बसोबास गरेको तनहुँका अधिकाँश क्षेत्र गुठी र किपटले भरिएको स्थान हो । यहाँको गुठीलाई तनहुँसुर लालविहारगुठी भनिन्छ । तनहुँसुर दरवारमा डोको र पोको गर्नेलाई किपट भनिने रहेछ । वास्तवमा तनहुँका किपटियाहरुमा दराइ, बोटे र कुमालहरु मात्र पर्दछन् । मङ्गोल मूल जस्तो देखिएता पनि दक्षिणी सभ्यताका बाहक ३२ दराइ गाउँका दराइहरुको खस साम्राज्यको समयमा बत्तिसदराको नामको तनहुँमा एउटै छुट्टै संघीय राज्य स्थापना भएको आभास मिल्दछ । बत्तिसदराका निवासी भएकाले दरा शब्द अप्रभंश भइ यिनीहरुलाई दरै/दराइ भनिएको हो कि भनेर सोच्न बाध्य बनाएको छ । बत्तिस दराइ गाउँको हकमा तनहुँका राजाले राज्यको प्रशासन तथ आन्तरिक र बाहृय सुरक्षा व्यवस्था आफैमा राखेर उनीहरुलाई परम्परागत सामाजिक तथा साँस्कृतिक प्रथा एवं दराइहरुबीचका मुद्दामामिला दराइहरुकै मिजार एवं महामुखियाहरुद्वारा नै छिनोफानो गर्ने निर्णय सुम्पेर आदिवासी दराइहरुको सम्मान गरेको जीवन्त इतिहास पाउन सकिन्छ । (श्रोतः तनहुँसुरको सेरोफेरो-देब बस्न्यात)
एकपटक दराइहरुलाई तनहुँका सेन राजाको छोराको बिहेमा भोज खाने निम्तो आएछ । दराइहरुलाई भोजमा सामेल हुन साँझमा बोलाइएको हुनाले उनीहरु दिनभरी खोलामानै माछा मार्न व्यस्त भएछन् । दराइहरु तनहुँसुर दरवारमा राजाको छोराको विवाहभोज खान पुग्दा अबेला नै भएछ । भोजभतेर उठ्नै लागेकाले भतेरमा दाल सकिएको रहेछ । राजाको छोराले दिएको विवाह भोजमा दराइहरुले दाल खानै पाएनन् । त्यही बेलादेखि दराइहरुले बाहुनहरुले पकाएको दाल अहिलेसम्म खाएको देखिंदैन । त्यो परम्परा आजसम्म जीवन्त रहेको छ । (श्रोतः चितवन दर्पण-धर्मराज थापा) ।
दराइहरुको थातथलो
नेपालको उच्च हिमाली तथा मध्यपहाडी क्षेत्रमा बस्ने खस, मगर, नागर, गुरुङहरुको जस्तै दराइहरुको पनि घुमाउने घर देखिनाले दराइहरु दरभङ्गाबाट आएको नभइ महाभारत पर्वत श्रृंखलाका खसत तथा मगरका संसर्गबाट जन्मेका सन्तान हुन की भन्न अनुमान गर्न सकिने भएको छ । दरैहरुको थातथलोका विषयमा धर्मराज थापाले आफ्नो चितवन दर्पण कृतिमा मादी, सेती, दरौंदी, मर्स्याङदी, बूढीगण्डकी, कालीगडकी र त्रिशुलीकै पाखा पखेराहरु नै दराइहरुको मूलथलो मानेका छन् । वास्तवमा मर्स्याङदी र त्रिशुलीका पाखा पखेरामा दराइ जाति भन्दा बढी चेपाङ जातिको सघन बसोबास देख्न पाउँदछौं । यसैले तनहुँ, गोरखा र पाल्पानै दराइहरुको मुख्य थातथलो हो भन्नै पर्दछ ।
त्यसमा पनि मगरात क्षेत्रका मादी र सेती नदीका दायाँबायाँ किनारका औलमय दमौली, भादगाउँ, गल्बु, रतौली, खकौली डिहीगाउँ, सेवर, दुम्सीचौर, फराकचौर, पत्यानी, सेवर, बैरेनी, कुमालटारी लगायतका ३२ दरै गाउँनै दराइजातिको मुख्य थातथलो हो भन्नै कर लाग्दछ । पाल्पा र तनहुँकोबीचबाट बग्ने काली गण्डकीको दायाँवायाँका क्षेत्रहरु पुट्टार पिपलटार, रुपटार । रामजाकोट अत्रौलीमा यी जातिहरुको सघन बसोबास देखिन्छ । यहीबाट दराइहरु यत्रतत्र छरिएका हुन् । औलसंग पौठीजोरी खेल्न सक्ने दराइ जातिहरुलाई तनहुँसुरका सेनराजाहरुले चितवनतर्फको वनमा र पाल्पाका सेनराजाले नवलपुरतर्फको वनमा सिकार खेल्न लैजाँदा त्यतै बसोबास गराएका प्रमाणिक तिथिमितिहरु भेट्न सकिने देखिएको छ । चितवनका देवीदत्त दराइले हामी दरौंदी मादी सेतीको काख दमौलीका औल्यानी क्षेत्रबाट चितवनको भंमकपुरदेखि नारायणी किनारै किनार लाउने खाने चिन्ताले बाजे चिन्ते दरै चितवनकै बाटो चंपारन कालाबञ्जर बरुवामा बस्न पुगेको बताए । चंपारनमा बसाइ हुन नसक्ने देखि चितवनकै ढड्डी फाँडेर चिन्ते दराइले चितवनको गुल्जार गरेका हुन् । चिन्तेको छोरा कुथुरा दराइ र कुथुराको छोरा देवीदत्त दरै र तिनका वंशज अहिले पनि चितवनको रमाइलो डाँडामा बसोबास गर्दै आएका छन् । (श्रोतः चितवन दर्पण-धर्मराज थापा)
दराइहरुको घरको बनोट
दराइहरुका अधिकाँश घर घुमाउनेघर हुने गर्दछन् । घुमाउनेघरमा दह्रा सिठा गाडेर बनाइने गरिन्छ । सिठामा माथि माटो र खरको लिउन लगाएर पोत्ने गरिन्छ । प्रायः सबै घर घुमौरे बान्कीले बनेका हुन्छन् । घुमाउने घरसंगै अल्को पिंडी बनाइने गर्दछ । घुमाउने घरका दुइ ढोकाहरुमा एउट दक्षिण र अर्को पूर्व मुख फर्काएर बनाउने गर्दछन् । त्यसै भित्र दुइवटा ढोका आ-आफ्नै सुत्ने कोठा खाना बनाउने मूलअंगेना -चुलो) र माथिल्लो तल्लामा उक्लने भर्याङ र अनाज राख्ने भकारी रहने गर्दछन् । घरको पिंडी माथिको पालीमा छत्री, माछा राख्ने फुर्लुङ, सराङ्गो, सिप्री, घिम्री, र माछामार्ने जाल लगायतका सामानहरु राख्ने गर्दछन् । दराइहरुको घरको पिंढीसंगै आँगन र आँगनको अगाडि एउटा बसिंवियाँलो गर्ने कटेरो बनाउने गर्दछन् । यसै गरी पिंडीको तल्लो भागमा हाँस तथा कुखुरा थुन्ने खोर, आँगनको केही पर एउटा खम्बामा परेवाको गुँड, सुङ्गुर पाल्ने खोर समेत बनाउने गर्दछन् । पुरानो परम्परालाई तोड्दै आजकाल दराइहरुले आर.सि.सि. ढलान युक्त घरहरु बनाउँदै गरेको पाइन्छ । अन्त्यमा अर्को लेखमा दराइहरुको संस्कार संस्कृति विषय लिएर उपस्थित हुने नै छु ।
श्रोत सन्दर्भ :
– चितवन दर्पण (धर्मराज थापा)
– तनहुँसुर र सेरोफेरो (देब बस्न्यात)
– दराइलाई पराइ व्यवहार (प्रेमप्रकाश चौधरी- इण्डिजिनियस भ्वाइस)
– दुरा इतिहास र संस्कृति (यम बहादुर दुरा)
– तनहुँ दमौलीका दराइ जातिको अन्तिम संस्कारमा सोहराइ पाब्नी
(देब बस्न्यात)
– दराइ सन्देश पत्रिका चितवनबाट प्रकाशित
– नेपालको इतिहास र संस्कृति एक झलक (हरि प्रसाद श्रेष्ठ)
– नेपाली समाज र संस्कृति
(कमलराज शर्मा)










