तनहुँको दमौलीमा एपेक्स मलमा क्युएफएक्स शुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा आधुनिक मल एपेक्स मलमा क्युएफएक्स सिनेमा शुरु भएको छ । मलले सोमबार एक विशेष शोको आयोजना गरी क्युएफएक्स सिनेमा शुरु गरेको हो । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा मलले पत्रकारलक्षित शो गरेर मल अब पूर्ण सञ्चालनतर्फ अघि बढेको जानकारी दिएको छ । मलको सञ्चालक संस्था एपेक्स मल्टिप्लेक्सका प्रवन्ध निर्देशक गणेश श्रेष्ठले दमौली मात्र नभएर आसपासमै अत्याधुनिक सुविधासहित मलमा क्युएफएक्स सिनेमा सञ्चालनमा आएको जानकारी दिए । अब मलमा क्युएफएक्समा रिलिज हुने कलिउड, बलिउड तथा हलिउडका चलचित्र प्रदर्शन हुने उनले जानकारी दिए ।
मलमा दुइ हलमा छुट्टाछुट्टै चलचित्र प्रदर्शनमा आउनेछन् । मलका आन्तरिक व्यवस्थापक उज्वल भट्टराइले चलचित्र नियमित प्रदर्शनमा आउने र मलको स्टलहरुमा समेत व्यवसाय सञ्चालनमा ल्याउने तयारी भएको बताए । उनका अनुसार ४५ स्टल रहेको मलमा ब्राण्डेड स्वदेशी तथा विदेशी कपडाका अलावार् इलेक्ट्रोनिक्स ब्राण्ड बिक्री हुनेछन् । लिफ्ट तथा एस्केलेटरसहितको दमौलीकै ठूलो व्यवसायिक मलले व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।










