र्‍यान्डमको शतक शृङ्खलामा ‘अन्तर’को चर्चा

पोखरा । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो ।

उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्त्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकहरूका बारेमा जान्न चाहनेले यो कृति पढ्नैपर्ने उनको जिकिर थियो ।

‘सायनले अन्तरमार्फत् यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’ उनले भने, ‘तर पूरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरूको सम्मानित जीवन र उनीहरूको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।’

मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो । उपन्यासले समलिङ्गीले भोग्नुपर्ने अप्ठ्यारा र गर्नुपर्ने सङ्घर्षको कथा भनेको बताउँदै उनले उपन्यास सकेपछि समलैङ्गिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीका बिचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उनले यस्तो सोच जटिल समस्या भएको बताए ।

पाठकहरूले राखेका जिज्ञासाको जबाफ दिँदै उनले सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताए । उनले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिए । कृतिका पात्रहरूले बोकेको चरित्रको अवस्था केही मात्रामा परिवर्तन भए पनि अझै पनि लुकिरहनुपरेको आफूले देखेको भन्दै सायनले कृति लेखनका क्रममा यौनिक अल्पसङ्ख्यकसँग प्रशस्त भेटघाट गरेको अनुभव सुनाए । आफ्नो अधिकारका लागि लड्नेहरूले सुन्दर समाज निर्माणका लागि अरूको अधिकारका बारेमा पनि सोच्नुपर्ने सायनको भनाइ थियो ।

यसअघि भागेर भूगोलभरि (कविता सङ्ग्रह) र छुटेका अनुहार (निबन्ध सङ्ग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति ‘अन्तर’ बुक हिल प्रकाशनले केही समयअघि बजारमा ल्याएको थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक गनेस पौडेलले र्‍यान्डमको मञ्चले लेखकलाई अझै खारिने अवसर प्रदान गर्दै आएको अनुभव सुनाए । फरक यौनिक अल्पसङ्ख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा आफूले पाएको पौडेलले बताए ।

लैङ्गिक अल्पसङ्ख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हाँसोको पात्र बनाइने गरेकोमा दुःख व्यक्त गरिन् । तेस्रो लिङ्गीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा देखाइएकोमा उनले धन्यवाद दिइन् । यस्ता विषयमा कृति तयार पार्दा सम्बन्धित पक्षसँग समन्वय गर्न पनि उनले आग्रह गरिन् ।

कार्यक्रममा रीता अधिकारी ‘ऋतु’, डा. भूमिराज बस्ताकोटी, गीता लामिछाने, प्रेम बाबा, तानिया क्षेत्रीलगायतले लेखकलाई प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker