माघे संक्रान्ति पर्व, देवघाटमा भक्तजनको भीड

भञ्ज्याङ समाचारदाता/तनहुँ

माघ महिनाको पहिलो दिन सोमबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाएका छन् ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले यसदिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।


तराइवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराइले बताए ।

यसदिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् ।

देवघाटमा भक्तजनको भीड

तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा माघे संक्रान्ति मेलाका लागि भक्तजनको भीड लागेको थियो । आइतबार बिहान कालीगण्डकी र त्रिशूली नदीको संगम बेनीमा बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेला विधिवतरूपमा सुरुआत गरिएको मेला सोमबार साँझसम्म भक्तजनहरु आउनेजाने क्रम चलिरहेको थियो ।


देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गर्नुका साथै देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको थियो ।

शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

माघे संक्रान्ति मेलाको अवसरमा आइतबार र आज नारायणगढ मुग्लिन सडक खण्डसमेत निर्वाधरुपमा सञ्चालनमा ल्याइएको छ । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारीसाधन रोकी काम गरिँदै आएको थियो । देवघाटमा भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् ।

विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको संख्या बढी हुने अपेक्षा गरिएको थियो । समितिले पाँच लाखभन्दा बढी भक्तजन आएको अनुमान गरेको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आहृवान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्रलाई सुरक्षित गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker