माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छः अध्यक्ष दाहाल

भरतपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्नुभयो । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेलगायत काम गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राख्नुभयो ।
माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उहाँको भनाइ थियो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताउनुभयो । उहाँले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति सङ्गठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker