व्यासनगर प्रज्ञा प्रतिष्ठानको टोलीद्वारा नगर क्षेत्र भित्रका पुरातात्विक सम्पदाको अवलोकन भ्रमण

दमौली : साहित्यिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको पहिचान गरी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिका भित्रका अवलोकन भ्रमण गरिएको छ । व्यासनगर प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा बिहीबार एक दिने भ्रमण गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख एवं नगर प्रज्ञा प्रतिष्ठानका कुलपति बैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाकी उपप्रमुख एवं सहकुलपति इन्दिरा दरै, उपकुलपति काशीनाथ न्यौपाने, व्यासनगर प्रज्ञा परिषद्का सदस्यहरू देवीबहादुर बस्नेत, हरिसिंह गुरुङ, नारायणी अधिकारी सहित व्यासनगर प्रज्ञा प्रतिष्ठानका सदस्यहरू सहितको टोलीले नगरपालिका भित्र रहेका विभिन्न सम्पदाहरुको अध्ययन अवलोकन गरेको थियो ।
व्यासनगर परिसरबाट सुरु गरेको भ्रमण टोलीले व्यास–१० स्थित दरै जातिको पहिचान बोकेको चौतारा दरै चौतारा हुँदै व्यास–८ मा रहेको क्यामिन कालिकाथान पुगेको थियो । टोलीले व्यास–६ शिसाघाट हुँदै सोही वडाको धार्मिक एवं प्राचीनस्थल गलेखामकोटमा पुगेर भ्रमण टुङ्गाएको बताइएको छ ।
व्यास–१० स्थित दरै चौताराको पहिचान एवं संरक्षणका बारेमा स्थानीय दरै समुदायसँग छलफल गरी भ्रमण टोली क्यामिन कालिकाथान पुगेको थियो । क्यामिन कालिकाथानको स्थापना, यहाँको महत्व, लगायत कालिका मन्दिरको संरक्षण र चुनौतीका बारेमा छलफल पश्चात भ्रमण टोली जौबारी होमस्टे हुँदै बिर्ता माझफाँट, कलेस्तीबाट व्यास–६ स्थित शिसाघाट पुगेको बताइएको छ ।
भ्रमण टोलीलाई शिसाघाट बासीले यहाँ स्थित हात्ती गौरा र शिव र गणेशको चिनारी गराएका थिए । उनीहरूले शिसाघाट क्षेत्रमा रहेका साँस्कृतिक, पुरातात्विक एवं धार्मिक सम्पदाहरूको संरक्षण गर्नका लागि प्रज्ञा सभाबाट आवश्यक खोज अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए ।
शिसाघाट क्षेत्रको पहिचान बोकेका स्थानहरूको परिचय लिएर अगाडि बढेको भ्रमण टोली व्यास ६ स्थित गलेखामकोट पुगेको थियो ।
गलेखामकोट व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख एवं व्यासनगर प्रज्ञा प्रतिष्ठानका कुलपति बैकुण्ठ न्यौपानेले व्यास नगरपालिका पालिकाभित्रका साहित्यिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पहिचान र संरक्षणमा लागि परेको बताए ।
उनले नगर प्रज्ञा प्रतिष्ठानले नगर क्षेत्र भित्र रहेका साहित्य, कला, संगीत र संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वर्द्धन र विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए । उनले नगरपालिका भित्रका भाषा साहित्य, कला, संस्कृति, सङ्गीत क्षेत्रमा विविध विषयको खोज, अनुसन्धान, अन्वेषण गर्न सम्भव भएसम्मको लेखन÷सृजनवृत्ति प्रदान गर्ने र पैरवी गर्ने कार्यमा व्यासनगर प्रज्ञा प्रतिष्ठानलाई नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अवलोकन भ्रमणका क्रममा टोलीले विभिन्न स्थानमा रहेका प्राचीन स्मारक एवं ऐतिहासिक स्थलहरूको समेत अवलोकन गरेको बताइएको छ ।










