सपनकोटका तीन दिदी-बहिनी र महर्षि वेदव्यास जन्म प्रसङ्ग

देव बस्न्यात

आज भन्दा धेरै वर्ष पहिला बाह्रबिसेबाट तल्लो श्याम्घा जाने बाटोमा सपनकोटको वन थियो र अद्यापि रहेको छ। त्यही सपनकोट भन्ने ठाउँमा मगरहरुको ठुलो बस्ति रहेको थियो । अहिले उक्त गाउँ पुरै खण्डहरु बन्न पुगेको छ । त्यसबेला गाउँमा सबैभन्दा पाका उमेरका मनधर नाम गरेका एक जना बुढा मानिस सपरिवार बस्ने गर्दथे । उनको दिलसरा नाम गरेकी श्रीमती पनि थिईन । गाउँका सबैले यी दुबै जनालाई बाजे र बज्यै भनेर बोलाउँथे । सपनकोटको माथिपट्टि तल्लो श्याम्घा, उपल्लो श्याम्घा, लोध, हटिया र किरियापानी भन्ने गाउँहर थिए भने तलपट्टीका सपनकोट, चुंदेर, फोकसिन, बाह्रविसे, रानीटारी र साँगेपत्यानी जस्ता गाउँहरु भेटिन्छन् ।

यी गाउँहरुमा ब्राह्मणक्षेत्री, मगर, कुमाल र दरैहरु लगायत विभन्न जमजातिहरुको बसोबास रहेको पाईन्छ। मनधर र दिलसराको घरमा उनीहरुका मामालीघर चुंदेरका अद्रिकासरा, हर्कीसरा र चिरीकासरा नाम गरेका अति सुन्दर चेलीहरु पनि रहने बस्ने गर्दथे । सपनकोट, चुंदेर, फोकसिन बीचको अध्येरीभञ्ज्याङ मृग सिकारका लागि प्रख्यात स्थल मानिन्थ्यो। कहिले गाउँघरका मानिस सपनकोटमा सिकार गर्थे भने कहिले चेदीदेशका राजा सुधन्वा पनि सिकारका लागि सपनकोटको अंध्येरीभञ्ज्याङसम्म आईपुग्ने गर्दथे । सपनकोटमा सिकारीको संख्या बढ्दै जाँदा सपनकोटमा सिकारको मात्र कम हुँदै गयो ।

वृद्धअवस्थाका बाजेबज्यै दुबैजना तीर्थव्रतको लागि मादी लामाडीको दोभान पित्तरघाट तर्फ लागे भने त्यही बेला शिवभक्त राजा सुधन्वा सपनकोटको भद्राधिवास कैलाश पर्वतमा पुगे। सपनकोटका वनको माझमा राजा सुधन्वाले शिव निवास सर्वतोभद्र भद्राधिवास गोलाकारको घुमाउनेघर (कैलाशकुट भवन) बनाए । राजा सुधन्वा आफैले बनाएको कैलाशकुट भवन हाम्रो शरिरको शिरमा लगाइने शिरपोश (ढाकाटोपी), हाम्रा मठमन्दिरमा राखिने घण्टाहरुको तल्लो घेरा र राजमुकुटको तल्लो घेरा जस्तो बाटुलो आकारको देखिन्थ्यो ।

त्यही घुमाउने घर अर्थात कैलाशकुट भवनमा बसेर राजा सुधन्वाले अन्नापूर्ण हिमाल तर्फ फर्केर घोर तपश्या गरे । राजा सुधन्वाको तपश्याले स्वर्गको राजा ईन्द्रको इन्द्रासन पनि डगमगायो । स्वर्गका राजा इन्द्रले राजा सुधन्वालाई फकाउने ध्येयले राजा सुधन्वालाई तपश्वी नबनी भूस्वर्गको सुखसयल प्राप्त गर्न सकुन भनि आफुले प्रयोग गर्दै आईरहेको वैजन्ती माला र पुष्पक विमान उपहार दिएर चेदीदेशको राजा बनेर आनन्दसाथ रहनु भन्ने आशिर्बाद दिए । राजा सुधन्वा पनि खुसी साथ चेदीदेशको राजा बनेर पुष्पक विमानमा चढेर प्रजाहरुको सुखदुःखको ख्याल राख्दै देशदेशावर घुमी रहने गर्दथे। राजा सुधन्वा आफ्ना नागरिकहरुले साँझ बिहान खान पाए–नपाएको हेरविचार गर्दथे। प्रजाहरुले खाना नखाँदासम्म राजा पनि खाना खाँदैनथे । राजा उपरीचर पुष्पक विमानमा बसेर पृथ्वी उपरको आकासमार्गको बाटो हिंडने भएकोले उनलाई अन्ततः उपरीचर बसु नामले संवोधन गर्न थालियो ।

उता अद्रिकासरा, हर्कीसरा र चिरीकासरा नामका चेलीहरु पनि आफ्ना बाजे बज्यै पछि लाग्दै लाग्दै अगाडि बढे। पित्तरघाट नजिकै उत्तरतर्फको मोदी–मादी बेनी समिपमा रहेको विशाल गणेश ढुङ्गाको आडैमा एउटा कालीरह देखिन्थ्यो। त्यही काली रहमा तल्लो श्याम्घाका बढुउपाध्याय स्नान, तप र ध्यान गर्दथे । चिनेजानेका पण्डित हुनाले मनधर बूढाले “नुहाउँदै” बाजे भनेर बोलाए। आज एकादशी भएकाले गण्डकी स्नान गरेर गणेश भगवानको पूजा गरुँ भनेको भनेर बढुले सहजताको साथ जवाफ दिए । वास्तवमा बढु उपाध्याय बिस एक्काइस वर्षको लक्का जवान देखिन्थे ।

त्यस माथि लंगौटीको भरमा मात्र नाङ्गै गण्डकी स्नान गरेको देखेर अद्रिकासरा, हर्कीसरा र चिरीकासरा तीनै दिदी बहिनीहरु कामवासनाले आकर्षित भए । कामवासनाले पीडित महिलाहरुलाई मन थाम्न हम्मे हम्मे भयो। मन थाम्न नसकेपछि हाउभाउका साथै तीनै दिदी बहिनीहरु झटपट नदीमा डुबुल्की मारी हाले । अद्रिकासराले भने माछाको स्वभाव देखाएर पानी भित्रभित्रै पौडेर बाहुन बाजेको गोडा समाएर कालीरह तिर तान्दै लग्ने प्रयास गरिन् । पानी भित्रबाटै कसैले आफूलाई तानी रहेको र कालीरहतर्फ लग्ने प्रयास गरिरहेको देखेर बढू उपाध्यले हकार्दै आद्रिसरालाई के गर्न लागेकी नकचरी भनेर हप्काए पनि । लाजै नमानी आदिसराले भनी हे ब्राह्मणवर ! म हजुरको दिव्य शरीर देखेर कामवासनाले साह्रै आशक्त बनेकी छु । बाजे मसँग यौन सहवास गरेर मेरो मनोकांक्षा पूर्ण गरी दिनुहोस् भनेर आद्रिकासराले ब्राह्मणसँग अष्टोत्तर सय पटक अनुनय विनय गरी । ठाउँ न ठहर बूढीको रहर अर्थात बेला न कुबेला रति क्रिडा गर्न लाज लाग्दैन भनेर ब्राह्मणले आद्रिकासरालाई खुबै हकारे । पानी भित्रै पौडने माछाले गर्ने व्यवहार जस्तै आद्रिकासराले पनि ब्राह्मणसंग त्यस्तै व्यवहार गरी ।

अझ अद्रिकासराले ब्राह्मणलाई पानी भित्र भित्रै पौडेर बिस्तारै कालीरहतर्फ तानेर पानीभित्र यौन पीडा शान्त गर्न चाँही । नखरमाउली अद्रिकासराको चालामाला देखेर यौन चाहाना राख्ने हे! अद्रिकासरा आजै अहिल्यै नै तं यो नदीमा माछी भै जा भनेर श्राप दिए । हे प्रभु बल्ल बल्ल पाएको मानिस जुनी पनि माछा भएर बाच्न पर्ने भयो । मानव जुनीमा माछा भएर जीवन बिताउन अति गाह्रो हुन्छ । मलाई श्रापबाट छिट्टै मुक्ति दिनुहोस् भनि एकहजार आठ पटक बिन्ति गरी । तैपनि ब्राह्मणले टेर पुच्छर नै लाएनन् । मनधर बाजेले ‘‘हे प्रभु मेरो नातिनीले गल्ती गरी विन्ती छ । मेरो मामाकी छोरी अद्रिकासराले नजानेर गल्ति गरी । हे बाजे म बूढाको मुख हेरेर पनि मेरो चेलीलाई माफ गरी दिनुहोस्’’ भनेर पटक पटक बिन्ती गरे । बूढाबाको बिन्ति सुनेर बढु उपाध्यायको पनि मन पग्लियो। त्यसो हो भने माछीको जुनीमै जुम्ल्याहा सन्तान जन्माउनु र माछा रुपि शरिरलाई यही पाथ्रातिर शिला रुपमा स्थापित गरेर आफू घर गएस् भनी श्राप मुक्तिको बाटोको सुझाए । केही समयपछि नै बाजे बज्यै दुबैजनाको त्यहीं मृत्यु भयो । आफ्ना बाजे बज्यैको सद्गत गर्न नानीहरुलाई साह्रै गाह्रो भयो ।

अद्रिकासरा, हर्कीसरा र चिरिकासराले मादी नदीमा माछालाई जाल हानी रहेको क्यामिन तिरको तारासिंहलाई देखे । आफ्ना पितृको लाश सतगत गर्नलाई तीनैदिदी बहिनीले तारासिंहलाई सहयोग गरिदिनका लागि अनुनय विनय गरे । तारासिंह मञ्जुर भयो। लासको सतगत भयो । बाजे बज्यैको सतगत भएपछि अद्रिकासरा माछा बनेर मादी रुपि यमुना नदीमा पौडिन थाली भने हर्कीसराले त्यही तारासिंहसँग विवाह गरी दाम्पत्य जीवन बिताउने अठोट गरी । बिचरी कान्छी बहिनी चिरीकासरा भने आफ्नै बाबाको घर चुंदेर फर्केर रम्न थाली। बाजेको मुक्तिको लागि हर्कीसरा र तारासिंह दुबैले बाजे–बज्यैको मुक्तिको लागि करापुटार स्थित इशानेश्वर महादेवको दर्शन र प्रार्थना गर्ने विचार गरे ।

अन्ततः दुबै जना मादी मिदिमको दोभानमा पुगे । मादी मिदिमको दोभानमा रहेको दहमा पौडी रहेका जगल्टे मानव शरीरका महादेव पार्वतीलाई देखेर तारासिंहले खुबै हप्कायो । मैले पौरी खेल्ने पोखरी किन धमिल्याइस् भनेर गाली पनि ग¥यो। पाखामा बसेर गाई तार्ने तरिकाले महादेवलाई पानीमा ढुङ्गाले लगतार हानी रह्यो । आफु माथि ढुङ्गाले हान्न थालेपछि महादेवलाई साह्रै रिस उठ्यो । महादेवजी दहबाट बाहिर निस्केर आए । तारासिंह र भगवान शिवजीको मल्ल युद्ध भयो। मल्ल युद्धमा महादेवको अगाडि तारासिंहको केही सिप लागेन। तारासिंहले वाण झिकेर महादेव माथि प्रहार ग¥यो । यही बेला शिवजीले तारासिंहलाई त्रिशुलले भेदन गरे । महादेवको त्रिशुल प्रहार भयानक भएकाले तारासिंह बेजोडले भाग्यो । दौडँदा दौडंदै पहिलो पटक त्रिशुलको प्रहार छल्न सफल भएकाले तारासिंह बेजोडले हास्यो । तारासिंह हाँसेको स्थान हुनाले सो स्थानको नामनै हंसपुर रह्यो । त्यहाँबाट पनि तारासिंह कुलेलम ठोक्यो । यस पटक भने शिवजीको त्रिशुलले धोका खाएन। तारासिंह म¥यो । मरेको तारासिंहको लाशलाई सद्गत तथा पोलेको ठाउँलाई पोल्याङ भन्न थालियो । शिवको हात लागेको हुनाले तारासिंह तारकेश्वर महादेवको रुप लिइ त्यही उत्पति भयो ।

ताराकासुरको लाशको लिङ्ग सहितको अस्तु नजलेको हुनाले शेषअङ्ग मादी मोदी संगम वेनी रहेको शेषटारमा शेष–अस्तु जलाइयो। शेष–अस्तु जलाइएको स्थान हुनाले यस स्थानको नाम नै शेखाटार भन्न थालियो । शेष–बस्तु जलाइ सकेपछि हर्किसराले आफ्ना बाजे बज्यै र पति तारकासुरलाई पित्र र पित्तर सम्झी मादीको पानी हातको अञ्जुलीले उठ्याई गण्डकीमा जलतर्पण चढाएको हुनाले त्यो घाटलाई पित्रघाट, पित्तरघाट भन्दा भन्दै अहिले शब्द अपभ्रंश भई पात्थरघाटबाट पाथ्राघाट भन्न सुरु भएको पाउँदछौं ।

यही बेला राजा उपरीचर पितृतारणका लागि सपनकोटको वनमा आईपुगे । प्राकृतिक छटाले राजा उपरीचरमा कामवासनाले सतायो । अचानक राजा उपरीचरको वीर्य पतन भयो । वीर्यलाई पातको खोचीमा राखेर राजाले रानी गिरिकाको सन्तान प्राप्त गर्न सकिने वस्र्यरुपि कोसेली वाज मार्फत सुनाघठेरी दरवारमा पठाए । राजा उपरीचर वसुले पठाएको बाज पनि अचानक बसुको वीर्य बोकेर आकाश मार्गबाट त्यतै आइरहेको थियो । मिठो खानेकुरा ल्याएको सम्झी सो बाज माथि अर्को बाजले आक्रमण गर्दा रानी गिरिकाको सन्तान उत्पादन गर्न मिल्ने कोसेली वसुविर्य मादीनदीको काली रहमा खस्न पुग्यो। अचानक त्यही बेला आद्रिका पनि सोही स्थानमा आइपुगेकी हुनाले झटपट त्यही वीर्य पान गरी । वीर्य पान गरेको हुनाले माछारुपि आद्रिका गर्भवती भई । नवौं महिनाको गर्भ पुरा भएपछि माछीले आफ्नो ज्यान धान्नै सकिन । मादी नदीले गर्भवती माछीलाई बगाउँदै तलतल लग्यो ।

दमौलीबाट पाटन जाने भङभङे पुग्न पुग्न लागेको बेलामा धिम्वर नामको माझीले मादीमा जाल खेल्दै थियो । माझीले हानेको जालमा अद्रीकासरा रुपि माछा पर्न गई । कालिन्दी नदीमा ठूलो न ठूलो पेट भएको अनौठो खालको एउटा माछी देखियो। ठूलो माछा भेटिएकोले थिम्वर नामक माझी खुसी हुँदै नदीमा जाल हान्दो भयो । माझीको जाल भित्र एक अदभूत खालको माछा पर्यो । माझीले माछीको शल्यक्रिया गरेर माछा भित्र रहेका मानव शरीरका मत्स्यराज र मत्स्यगन्धा नामक दुबै बच्चाहरु झिकेर राजा सुधन्वामा भेट चढायो । माझीले चढाएको सौगातहरु मध्ये राजाले बालक चाहीं आफैसँग राखे भने बालिका मत्स्यगन्धा माझी धिम्वरलाई नै फिर्ता गरी दिए । उता माझीले पनि अद्रीकासरा नामकी माछीलाई पुनः सिलाइ दिएर मादी नदीमा नै लगेर छोडी दिए ।

अद्रीकासरा नामकी माछा पनि पौडदै पौडदैं पुनः त्यही पितृघाट पुगी । पाथ्रा नजिकको बढु उपाध्यायको बेसीघरको पछाडि भूभागमा पुगेर माछारुपको शरीरलाई शिला रुपमा स्थापना गरेर आफू र बहिनी हर्कीसरा चुँदेर पुगेर चिरिकासरालाई भेट गरिन्। आफ्ना बाजे बज्यैलाई सम्झेर चुंदेरमा बो–बराजुको पूजा व्यवस्थापन गराईन। पछि तिनै बाजेका वंशजमा चक्रधर रानाको जन्म भयो । उनै चक्रधर राना गलेखामकोटका राजा भएका थिए। राजा चक्रधर रानाको वर्षेकालीन राजधानी गलेखामकोट र शरदकालीन राजधानी सपनकोटमा रहेको जनश्रुति सुन्नमा पाइन्छ । अद्रिका, हर्की र चिरिका तीनै बहिनीहरु चुँदेरमा शक्तिशाली भगवतीहरु बनेर एक आपसमा मिलेर बसेका थिए ।

विवाहित तर विधवा बनेकी हर्कीसरालाई अद्रिकासराले बेलाबेलामा हेपेर बोल्न थाली । हर्कीसरालाई साह्रै रिस उठेर दिदी अद्रिकालाई पिटिन् । दिदीले बहिनीलाई पिट्न लाग्दा हर्कीसरा दिदी अद्रिकासरासँग रिसाएर आफू अब कहिल्यै सपनकोट नफर्कने भनी हर्कपुरमा गएर चण्डीमाई बनेर बसिन् । बहिनी चिरिकासरा चुंदेरमा चिरिकामाई बनेर बस्न थाली भने अद्रिकासराले आफ्ना चिन्टे र पुण्टीलाई चिन्तुटारमा घरजग्गा जमिनको व्यवस्था गरी आफू भने फोक्सिनको बनमा गएर मगरहरुको कुलदेवी रानी वाराहीमाई बनेर बसिन् । फोकसिनको बसाइ उपयुक्त नहुनाले पिरलो मानेर छट्पटिन् ।

माझीको घरमा हुर्केबढेकी मत्स्यागन्धा दिन प्रतिदिन उमेर चड्दै गएपछि १८ वर्षको लक्का तरुनी भई। दशहराको दिन माझीहरु गण्डकी पूजामा व्यस्त भएका हुनाले दूधपोखरी पुगेर फर्केका पराशर ऋषिलाई सिमली डुङ्गाबाट कालिन्दी नदी पार गरिदिन मत्स्यागन्धा आइपुगिन् । काली भएपनि रुप र यौवनले परीपूर्ण भएकी मत्स्यगन्धालाई देख्ने बित्तिकै पराशर ऋषि मनमुग्ध भए। कामवासनाले पीडित ऋषि पराशरले मत्स्यागन्धासँग सहवासको लागि अनुरोध गरे । लाज र लौकिक मान्यताको डरले मत्स्यगन्धा मानिनन् । ऋषि पराशरले पुनः अनुरोध गरे । मत्स्यागन्धा अझ लाजले रातो पिरो भइन् । शास्त्रमा पारंगत पुत्रप्राप्तिको कामनार्थ, मत्स्यागन्धाको शरीरको माछाको गन्ध हटाइ सुगन्धावती बनाउन सहवासको लागि पुनः अनुरोध गर्दा पराशरले दमौली कुहिरोको सृष्टि गर्नासाथ मत्स्यागन्धाको कन्याव्रत भङ्ग नहुने सर्तमा दुबै जना एक अर्कामा एकाकार भए ।

दशहराको ठिक नौ महिना पश्चात मत्स्गन्धाले ब्यासनदी र दुग्धभा नाम गरेको सेतीमादी नदीको मजुवामा रहेको वयरघारी वनको बीचमा अवस्थित शिलाशैल गुफामा व्यासलाई जन्म दिइन् । महर्षि वेदव्यास जन्मना साथ दमौलीको एकादशी बजार लाग्ने स्थलसँगसँगै सटेको शिलाशैल गुफा देउरालीबाट उत्तर लागि व्यासगुफामा पुगेर तपश्यमा लिन भए । उनै व्यासलाई अहिले द्वैपायन वेदव्यास भनेर चिनिन्छ । व्यास जन्मनासाथ माता मत्स्योदरीको अनुरोधमा हजुरआमा आद्रिकाको बसाइ व्यवस्थित गर्ने ईच्छा पुरा गर्ने दृढता व्यक्त गरे । माताकै चाहना अनुसार महर्षि द्वैपायन वेदव्यासले आफ्नी हजुरआमा आद्रिकालाई छाब्दीमा बसोबासको व्यवस्था मिलाइ दिएका हुन् भन्ने जनश्रुति दमौली वरपर जतासुकै सुन्नमा पाइन्छ । पछि तिनै फोकसिन वाराहीमाई अद्रिकासरा छाब्दी पुगेर छाव्दी वाराहीमाई देवीको रुपमा पूजित हुँदै आएकी छिन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker