भू–संरक्षण दिवसका अवसरमा तनहुँमा पहिरो क्षेत्रमा वृक्षारोपण र संरचना निर्माण

तनहुँ : ५१औं भू–संरक्षण दिवस २०८२ को अवसरमा भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले वृक्षारोपण र संरचना निर्माण कार्यक्रम गरेको छ ।
“जलवायुजन्य प्रकोपको समग्र समाधान, प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापन” भन्ने नाराका साथ व्यास नगरपालिका–१२ स्थित कमलबारी सामुदायिक वनको पहिरो क्षेत्रलाई लक्षित गरी वृक्षारोपण तथा प्रवचन कार्यक्रम गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरण, डिभिजन वन कार्यालय तनहुँ, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँ, र कमलबारी सामुदायिक वन उपभोक्ता समूहको सहकार्य र समन्वयमा विभिन्न जातका विरुवा रोपण गरिएको थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यास–१२ का वडाध्यक्ष बमबहादुर आले लगायतका सहभागिता रहेको कार्यक्रममा दिवसको औचित्यबारे भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी गराएका थिए ।

नगरप्रमुख न्यौपानेले भूसंरक्षणको आवश्यकता औंल्याउँदै सबै सरोकारवालाबीच सहकार्यमा काम गर्नुपर्नेमा जोड दिए । प्रजिअ अधिकारीले विरुवा रोप्नुमात्र ठूलो कुरा नभएको तर रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
उक्त अवसरमा पहिरो क्षेत्रलाई हरियाली र संरक्षित बनाउन बांस ६० गोटा, अम्रिसो ५०० गोटा, डाले घाँस ५० गोटा तथा नेपियर घाँस १५०० गोटा रोपिएको थियो । साथै, भूक्षय रोक्न बांसको छेकबाँध र पालिसेड निर्माण समेत गरिएको थियो ।











