महामारीका बिच वैकल्पिक सिकाइ एक मात्र विकल्प

देवेन्द्र तिमिल्सिना/तनहुँ

सन् २०१९ डिसेम्बर ३१ मा चिनको वुहानमा देखा परेको कोरोना भाइरस अहिले विश्वभरी तीव्र गतिमा फैलिराखेको छ । विश्वलाई नै आक्रान्त तुल्याइ महामारीको रुप लिइ रहेको छ । कोरोना भाइरसका कारण विश्वमा संक्रमण हुने दर करोडौँ र मृत्युदर लाखौ भइ राखेको विद्यमान अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा कोरोना भाइरस फैलिने क्रम सुरुवाती चरणभन्दा अहिले बढी राखेको अवस्था छ । विश्वभरी यसले गर्दा अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रमापनि ठुलो असर पारेको छ । विश्वमा रहेका विकसित देशले त कोरोना भाइरस नियन्त्रण गर्न नसकि राखेको अवस्था छ ।

नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो विरामी देखिएको केही समय लगत्तै नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि देश लकडाउन गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरेको थियो । देशको अर्थतन्त्रमा आएको गिरावट, व्यवसायिकहरुले गरेको दबाव, देशमा भोकमारीले निम्त्याएको समस्या र दैनिकी सञ्चालनमा परेको समस्याका कारण लामो बन्दाबन्दी पछि लकडाउन खोलेसँगै कोरोना भाइरस संक्रमण फैलिने क्रम बढी राखेको छ । यसले गर्दा शैक्षिक सत्र नै खेर जाने सम्भावना देखिन थालेको छ । पठनपाठनलाई निरन्तरता दिन नसकिने अवस्था बढ्दै गएकाले बैकल्पिक उपायहरु बेलैमा नखोज्ने हो भने शैक्षिक सत्र खेर जाने अवस्था देखिन्छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले पठनपाठनबाट बञ्चित भएका बालबालिकाहरुलाई बैकल्पिक माध्यमद्वारा शिक्षा दिने उद्देश्यका साथ सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ निर्देशिका २०७७ जारी गरी असार १ गतेदेखि रेडियो, टि.भी, अनलाइन र टोलटोलमा शिक्षकको सहजिकरणका माध्यमबाट शिक्षादिनथालेको पाइन्छ । यो शिक्षा लागु हुन नपाउँदा बजारमा टिकाटिप्पणी हुनथाली सकेको थियो । त्यसले गर्दा भर्चुवल कक्षालाई प्रभावित बनायो । कोरोनाको कहरसँगै नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउने एउटा सुनौलो अवसरका रुपमा रहेको थियो । त्यो अवसर नेपाल सरकार र सरोकारवालाहरुले गुमाएको पाइन्छ ।

नेपालको शिक्षालाई प्रविधिमैत्री बनाउन नचाहनेको जमात धेरै र शिक्षालाई पुरातनवाद भन्दा माथि उठाउन नचाहनेहरुको कारण एउटा अवसर गुमेको पाइन्छ । सरकारले हतारोमा निर्देशिका मात्र जारी गरी कुनै योजनाविना सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ प्रभावकारी हुन सकेन । यस्तो महामारीका बेलायो योजना धेरै राम्रो भएपनि यसमा दूरदराजमा रहेका विद्यार्थीहरुको समस्यालाई अध्ययन अनुसन्धान नगरी सञ्चालनमा ल्याइएको कारण कार्यक्रम प्रभावकारी हुन सकेन। कोरोना कहर बर्षौ रहने हो भने वैकल्पिक शिक्षाको विकल्प देखिदैन ।

यसका लागि ग्रामिण क्षेत्रमा रहेका विद्यार्थी र अति विपन्न वर्ग छुट्याउन स्थानीय तहलाई छिटो भन्दा छिटो र्सर्वेक्षण गर्न लगाई साधन र स्रोतको अभाव भएको वर्गलाई स्रोत साधनको व्यवस्था मिलाउन सकिएको खण्डमा वैकल्पिक शिक्षा प्रभाकारी हुने देखिन्छ । हाल वैकल्पिक शिक्षाको विकल्प बाहेक शैक्षिक सत्र पूर्ण हुने अवस्था देखिदैन। शिक्षक तथा शिक्षामा सरोकार राख्ने व्यक्तिहरुले एक अर्कालाई दोषारोपण गर्नु भन्दा तुरुन्त विकल्पको खोजी गर्नुपर्ने अवस्था देखिन्छ। सरकारलाई दवावदिएर विद्यालय त खोलिएला तर आधा अभिभावकले कोरोनाको महामारीको डरले आफ्ना बालबालिकाहरुलाई विद्यालय तुरुन्तै पठाउन सक्ने अवस्था देखिदैँन ।

विद्यालय तुरुन्तै खोल्दा महामारी फैलिने खतरा पनि उत्तिकै छ । यसले गर्दा बालबालिकाहरु कोरोनाको डरले विद्यालय बाहिर रहने खतरा बढी हुन्छ। यदि ढिलो गरी विद्यालय खोल्दा विद्यालय छोड्ने दर बढ्ने युनिसेफले बताइ सकेको भएकाले जति सक्दो वैकल्पिक सिकाइलाई प्रभावकारी ढंगले लागु गर्न आवश्यक देखिन्छ। अर्को तर्फबजारमा शिक्षकले पढाउन अल्छी गरेर विद्यालय उनीहरुको कारण बन्द भएको विचार राख्ने जमातपनि धेरै छ । विद्यालय बन्द हुनुमा न सरकारको दोष हो न शिक्षकको यो त महामारीले निम्त्याएको बाध्यता हो ।

यसमा सबै पक्षगम्भीर भइ वैकल्पिक शिक्षालाई देशको साधन स्रोतले भ्याएसम्मको प्रयोग गरी शिक्षालाई प्रविधिमैत्री वातावरणबाट घरमै बसेर विद्यार्थीले सिकाइ ग्रहण गर्न सक्ने वातावरण तयार गर्न आवश्यक छ । कोरोनाको महामारीले आक्रान्त पारेको मुलुकलाई शिक्षामा नयाँ फड्को मार्ने अवसरका रुपमा लिनु पर्छ । विद्यालय खोल्दा मात्र शिक्षामा गुणस्तर कायम हुन्छ भन्ने साघुरो सोचलाई हटाउन आवश्यक देखिन्छ ।

नेपाल सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि चालिएको वैकल्पिक शिक्षा सुविधा सम्पन्न क्षेत्रलाई मात्रपरिकल्पना गरी लागु गरेकोले प्रभावकारी रुपमा कार्यन्वयनमा आउन सकेन र नेपालका केही शिक्षाविद र सरोकारवालाले सुरुवातमै सम्भव नहुने बताइदिदा यो कार्यक्रमको प्रभावकारितामा केही हदसम्म असर परेको देखिन्छ । नेपालमा कुनै पनि काम गर्नु अघि नसकिने कुराबाट बहसको थालनी गर्ने परिपाटीले सफलता हासिल हुदैन । त्यही भएर अन्तर्राष्ट्रिय बजारमा हामी कमजोर हुदै गएका छौँ । सरकारले पनि होचुवाको भरमा वैकल्पिक सिकाइ लागु गर्न खोज्नुले यसको प्रभावकारीतामा प्रश्न चिह्न खडा भएको हो। नेपाल सरकारले दुरदराजमा रहेका बालबालिकाहरुलाई समेत ख्यालमा राखि वैकल्पिक शिक्षा लागु गरेको भए शिक्षामा यो अवस्था आउने थिएन ।

नेपालमा इन्टरनेटको सुविधै नभएको त होइन । इन्टरनेट सुविधा भएका जिल्लाका बालबालिकाहरुलाई पठनपाठन प्रयोजनका लागि निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेर अध्ययन अध्यापन गराउन सकिन्थ्यो। त्यसमा पनि राज्यको ठुलै लगानी चाहिदैन थियो । विद्यालयलाई प्रदान गरिदै आएका विभिन्न अतिरिक्त शीर्षक कटौती गरी निःशुल्क इन्टरनेटको सुविधा दिन सकेको भए कम्तिमा नेपालको शिक्षाको पठनपाठन शैलीमा परिर्वतन आउन सक्ने अवस्था रहन्थ्यो । इन्टरनेट सुविधाबाट बञ्चित बालबालिकाहरुलाई निःशुल्क रेडियो र टि.भी लगायत विद्युतीय साधन वितरण गरी सिकाइलाई ग्रामीण स्तरसम्म पुर्याउन सकिन्थ्यो । नेपालको शिक्षामा गडेर बसेको घोकन्ते शिक्षण विद्यालयमा मात्रै सम्भव छ भन्ने सोच जबसम्म हटेर जादैन तबसम्म शिक्षाले फड्को मार्ने अवस्था देखिदैन ।

अभिभावक लगायत शिक्षामा सरोकार राख्ने धेरैको सोच शिक्षक र विद्यार्थी आमुनेसामुने भएमात्र पठनपाठन हुन्छ भन्ने विचार विकास भएकै कारण शिक्षाले नविनतम प्रविधितिर फड्को मार्न सकेको छैन । अभिभावकले पनि आफ्नो बालबालिकाहरुको पठनपाठनमा त्यति ध्यान दिइएको पाइदैन किनभने वैकल्पिक शिक्षा हुने खानेका लागि हो हाम्रो लागि होइन भन्ने सोचाइका कारण र जुनदिन विद्यालय खुल्छ त्यही दिनमात्र बालबालिकालाई पठनपाठनमा लगाउने सोचको विकास भएकाले शिक्षामा नयाँपन आउन नसक्नु अर्को कारण बनेको छ ।

अर्को कुरा आधाजसो शिक्षकहरु आफू प्रविधिमैत्री बन्न नचाहने मानसिकताले गर्दा पनि यस्ता कार्यक्रम प्रभावित हुने गरेको छ । त्यसैले शिक्षासँग सरोकार राख्ने सबैको उदासिनताका कारण पनि यो सिकाइ प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको अवस्था हो । खाली हुदै गर्न सकिदै भन्ने रोगबाट ग्रसित सोच हटाएर शिक्षामा नविनतम सोचको विकास गर्न जरुरत छ । विद्यालयले पनि आफ्ना मतहतका शिक्षकलाई जबसम्म प्रविधिसँग घुलमेल हुने वातावरण सिर्जना गराउन सक्दैँनन तबसम्म शिक्षामा केही परिर्वतन होला जस्तो लाग्दैन ।

कोरोनाको कारण अहिले जताततै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको विषयमा मात्र बहस चलेको पाइन्छ । यहाँ विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुका विषयमा चिन्ता र चासो कतै देखिदैन । उनीहरुको अक्षर आरम्भ गर्ने उमेर धकेलिने सम्भावना बढ्दै गएको छ । यि बालबालिकाहरुलाई घरमा नै अक्षर आरम्भ गराउन सकिने भएपनि अभिभावक शिक्षक कै भर परिराखेका छन् । यस्ता बालबालिकाहरुलाई घरमै हात बसाउनका लागि अक्षर आरम्भ गराउन सकिन्छ । यस्ता बालबालिकाहरुलाई अक्षरको धारणा विकास गराउन पहिलो भूमीका घरमा आमाबुवाले खेल्नुपर्छ । बेलैमा उनीहरुलाई अक्षरको धारणा बसाउन आवश्यक छ ।

यदि घरमा अभिभावक अशिक्षित भए ठुला छोराछोरीबाट सहयोग लिएर सिकाइ गर्न सकिन्छ । यसो गर्न सम्भव नभए छिमेकीहरुको समेत सहयोग लिइ ति बालबालिकाहरुको अक्षर आरम्भ गराउन आवश्यक छ । कोरोना भाइरसको महामारीका कारण शैक्षिक सत्र खेर जान नदिनका लागि अभिभावक, शिक्षक, नेपाल सरकार र सरोकारवाला निकाय सबैले यसमा भूमीका निर्वाह गर्न नसकेको खण्डमा यो महामारी कहिलेसम्म र कसरी नियन्त्रण हुने कुनै ठेगान छैन त्यसैले यस विषयमा सबै पक्ष गम्भीर हुनुपर्छ । सरकारले आफ्नो स्पष्ट धारणा र योजना सहित प्रविधिमैत्री शिक्षा गाउँगाउँमा पुर्‍याउन आश्वयक छ ।

लेखक : प्रधानाध्यापक, भगवती सेवा आधारभूत विद्यालय, शुक्लागण्डकी-१०, तनहुँ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker