त्यो कथित जनयुद्ध हुदैन्थ्यो भने…!

- सन्तोष अधिकारी
गणतन्त्रको स्थापना अनि राजसंस्थाको अन्त्यको देन अझै पनि कतिले दश बर्षे शशस्त्र हिंश्रक आन्दोलनलाई नै दिदै आएको पाईन्छ । समानता, वाक स्वतन्त्रता, जातिय, क्षेत्रीय, लैंगिक अधिकार र आरक्षणलाई पनि त्यही गुरिल्ला आन्दोलनको उपलब्धी थियो भन्ने पनि गरिन्छ । समयक्रमसंगै ती भ्रमका पर्दाहरु विस्तारै खुल्दै जानेछन । अनि त्यो बुझाई र विश्लेषण भ्रम थियो भन्ने पुष्टी पनि हुँदै जानेछ । इतिहासको कठघरामा एक दशक लामो हिंसाले देशलाई कति पछि पारेको थियो र छ भन्ने कुरा भविश्यमा अझ पुष्टी हुदै जानेछ । अब खाश विषय तर्फलागौं । कथित रक्तपातपूर्ण छापामार युद्धलाई फागुन १ मा केहि समुहले जनयुद्ध दिबसको रुपमा पनि मनाई सकेका छन ।
साढे दुइ दशक अघि तत्कालिन माओबादीले देशमा ज्यान मार्ने श्रृंखलाको सुरुवात गर्दा देश भर्खरभर्खर एउटा प्रसव पीडाको भुमरीबाट मुक्त हुदै थियो । अर्थात वि.सं. २०४६/०४७ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रीक ब्यवस्थालाई संस्थागत गर्ने दिशा तर्फ उन्मुख भईरहेको थियो । वि.सं. २०५१ को निर्बाचनमा मत मार्फत जनताले तत्कालिन नेकपा एमालेलाई समृद्धी, विकास अनि समानताको जग बसाउन ठुलो दल बनाएका थिए । जनमत मार्फत स्थापित स्व मनमोहन अधिकारी नेतृत्वको सरकारले नौ महिनाको छोटो अवधिमै परिबर्तन कसरी सम्भव छ भन्ने सन्देश दिने गरेर काम गरी सकेको थियो । तर विडम्बना शिक्षा, स्वस्थ्या बाटोघाटो, सहकारी, बैकिङ, कृषि जस्ता क्षेत्रमा गाउँका बासिन्दालाई जोडेर परिबर्तनको रोडम्याप एकातिर एमाले सरकारले कोरेको थियो भने त्यती नै बेला माओबादीले रक्तपातपुर्ण आन्दोलनको विजारोपण गरेर गाउँमा विकास पस्नबाट रोक्न थालेको थियो । यो तितो सत्य कसैबाट छिप्न सक्दैन । यदि देशमा हिंसा मच्चिदैन्थ्यो भने कांग्रेस या राजावादीले निर्वाचन जितेपनि एमालेको नेतृत्वले निर्माण गरेको विकासको त्यो जगबाट उनीहरु पछि र्फकन सक्दैनथे ।
किनकी एक्काइशौ शताब्दीमा जनताको विकासको चाहनालाई रोक्ने तागात उनीहरु संग कदापी हुदैन्थ्यो । तर हिंसाको अगाडी परिर्बतनका ती रोडम्याप सहजै गरिब, निमुखाको बस्ति र घरसम्म पुग्न सकेन । हिंसा जित्दै गयो विकास र समृद्धि हार्दै गयो । गाउँका गरिब बस्ति माओबादी हिंसाको शिकार बनि राख्यो । विकास पुग्नुपर्ने बेला विनाश, हत्या, आतंक र काटमारको राज चल्न थाल्यो । यो यथार्थतालाई इन्कार नगरौं । राजसंस्था फलिन्थ्यो फालिन्थेन त्यो अर्को बहसको विषय बन्ला । तर वि.सं. २०५१ मा निर्माण भएको जनताको स्तर र अवस्था परिबर्तनको जग भने अवश्य बलियो बन्दै जाने थियो । एक्काईशौ शताब्दीमा त्यो पनि हिंसाबाट कुनै पनि देशले समृद्धि र शुशासन हाँसिल गरेको नजिर छ ? छैन । छ त केवल जनताले भोग्नु परेको सास्ती र संकट । जुन आम गरिब दुःखी नेपालीले एक दशकसम्म झेल्नु परयो । जसका कारण आज भन्दा पच्चिस बर्ष अघि ठडिएका विकासका विम्बहरु ढले । अनि भौतिक संरचना खडा गर्न उहि समयमा फर्कन अहिले हामी विवश छौं । हो यदि त्यो हिंसा हुँदैन्थ्यो भने विकासको लहरले आज एक चौथाई शताब्दी पार गरिसकेको हुने थियो । कल्पना गर्नुस त्यो लहर झांगिन पाएको भए साढे दुइ दशकमा हामी कहाँ पुगिन्थ्यो होला ?
गाउँगाउँमा सडक सञ्जाल विस्तारका काम नौ महिने शाशनकालमा सुरुवात हुँदै थिए त्यसले मुर्तरुप नपाउदै भएका सानातिना तुइनहरु काटिन थाले । पुलपुर्लसा र विद्यालयहरुमा बम बर्सन थाले । जसका कारण नयाँ संरचना बन्न त परै जावास भएका सिमित सुविधा उपयोग गर्नबाट पनि निरिह, निहत्था अनि गरिब नेपाली बिमुख हुन बाध्य भए। घाम जस्तै र्छलंग छ । २०५१ पछि गाउँगाउँमा पुग्ने कति बाटोहरु खनिएका थिए । कति स्वस्थ्याचौकीको जग बसालिएको थियो। विद्युतकरणका निम्ति कति पोलहरु ठड्याइएका थिए । तर बिडम्बना ती सबै संरचना निर्माणको महा अभियान गरिब बस्तिसम्म पुग्न नपाउदै मक्किन पुगे । विकास अभियान लिएर जानेको खुट्टा भाँचिन थाले । समृद्धिको नक्सा कोर्नेहरुको हात काटिन थालियो । कथित युद्धको नाममा सामन्त र दलालको संज्ञा दिदै सर्बसाधारणलाई सफाय गर्न थालियो । अनि यस्तो विभिषिकाको विचमा गाउँगाउँ अनि बस्तिबस्तिमा विकास भित्रन सम्भव नै भएन ।
नयाँ निर्माण गर्न दिन त परै जाओस भएका केही मध्यम स्तरका अस्पतालहरुलाई मिसनरी र बिदेशीको दलालाको आरोप लगाएर शहरोन्मुख गाउँबाट विस्थापित गराइयो । सोच्नुस त साढे दुइ दशक अघि ती काला दिनको आरम्भ हुँदैन थियो भने सायद आज कमरेड झलनाथ खनाललाई इलाज गर्नकै निम्ति डल्लुबाट दिल्ली जान नपर्न सक्थ्यो । सिता दाहालको उपचारको लागि सुविधा सम्पन्न अस्पतालको खोजीमा कमरेड प्रचण्डलाई कहिले न्युयोर्क, कहिले दिल्ली त कहिले सिंगापुर तिर भौतारी रहन पर्दैनथ्यो । गाउँगाउँमा स्तरीय क्लिनिक र अस्पताल अनि ठुला शहरहरुमा सुविधा सम्पन्न अस्पताल निर्माणको कामले पच्चीस वर्षसम्म त पुर्णता पाई सकेको हुने नै थियो । जुन कामको फेरी अहिले आरम्भ गर्न परेको छ । हो यहि नै हो हिसाले हामी माथी थोपरेका विडम्बना । त्यसैले अब त ननभेज आन्दोलन भन्दै नभन्नुस कामरेड प्रचण्ड ।
यदि त्यो हिंसा हुँदैन्थ्यो भने त्यति बेला जन्मिएर अहिले युवा बनेको एउटा नेपालीले परिवारको खुशीको निम्ति खाडीमा जानु पर्ने विवशताको अन्त्य भई सकेको हुने थियो । बरु कोही अहिले देशकै कुनै सुविधा सम्पन्न विश्वबिद्यालयमा खोज अनुसन्धानको विद्यार्थी बनिरहेका हुने थिए । कोही कृषि र प्रविधीको प्रयोगात्मक शिक्षा लिएर स्वोजगार बनिरहेका हुने थिए । कति अरुलाई रोजगार दिई रहेका पनि हुने थिए । अनि अर्का तर्फ तपाईहरुलाई याद नै छ अहिले विदेशिइ रहेका युवाको ठुलो पंक्ती त्यही दशक लामो द्वन्द्वको शिकार भएका निर्दोष युवाहरु नै छन् । कति डर, त्रास र धम्कका कारण पढाइबाट पलायन भए । कति अज्ञानताका कारण आशै आशमा युद्धमा लागेर डाक्टर, इन्जिनियर बन्ने सपनालाई तिलञ्जली दिए । भविष्य बर्बाद बनाए । के हिजो माओबादीले भने जस्तो नपढे पनि डाक्टर, इन्जिनियर, प्राध्यापक, आधुनिक कृषक, सक्षम प्रशाशक बन्न सम्भव रहेछ त ? रहेनछ । आखिर हिजो पढनेहरु नै आज देशको तत क्षेत्रमा सम्मानित र तुलनात्मक रुपमा सुखि जीवन बिताई रहेका छन ।
अब भन्नुस यदि त्यो हिंसा हुदैन्थ्यो भने देशमा अर्धशिक्षित नागरीकको तुलनामा शिक्षित योग्य जनशक्तिको आकार कत्रो हुने थियो ? हो त्यही छापामार लडांइले नै आज धेरै नेपालीलाई शिक्षित र योग्य हुनबाट रोकेको कुरालाई नजरन्दाज गरिनु हुँदैन । अमेरीका, युरोप जस्ता समृद्ध मुलुकमा अबसरको खोजीमा भासिनुपर्ने बाध्यताको उपज पनि शशस्त्र युद्ध नै थियो । कल्पना गर्नुस त । बाध्यता थिएन भने कोही किन आफनो स्तर र क्षमतालाई भुलेर विदेसिन विवश हुन्छ ? पैसाकै लागि पर्राईबाट हेपिन किन तयार हुन्छ ? ०५१ को त्यो समृद्धीको जग हिंसाको कारण ढल्दैन्थ्यो भने आज ती समृद्ध देशमा अबसरका लागि गएकाहरु अनुभव बटुलेर फर्कि सकेका हुने थिए । उतीबेला जन्मिएर अहिले युवा भएकाहरु पनि अवसरको खोजीमा खाडी र युरोप अमेरीकाको भिषाको पर्खाइमा हुने थिएनन् । अनि अमेरीका छिर्नकै निम्ति मेक्सीको र निकारागुवाको जंगलमा अलपत्र परेकाहरु सायद स्वदेशमै केही गरी राखेका हुने थिए । अब फेरी पनि कसैसंग चित्त बुझ्दो जवाफ छ भने भन्नुस् । यदि त्यो हिंसा हुँदैन्थ्यो भने पच्चिस वर्षमा हामी कहाँ हुन्थ्यौ होला । कसैको लडडमा चालिएको हिंश्रक कदमले हामीलाई कतिपछि धकेल्यो। इतिहासमा यसको नृशंसा रुपमा मुल्याङ्कन हुनैपर्छ ।
तुइन काटिएपछि, पुल भत्काएपछि ज्यानलाई हत्केलामा राखेर बल्लो गाउँबाट पल्लो गाउमा जान विवश को भयो ? गरिब निमुखा नेपाली कि शहरीया सुखसयलमा बसेका अनि सुरक्षित रुपमा भारतमा आश्रय लिई राखेका युद्धका नेतृत्वकर्ताहरु ? जगजाहेरै छ त्यो पीडा भोग्नु परयो त केवल तीनै गरिब निमुखाले । विकट गाउका विद्यालयमा बम पडकाइए पछि, शिक्षकहरु ल्ाखेटिएपछि पढनबाटको बञ्चित भयो ? शहरका महंगा निजी विद्यालयमा पढने धनाढयाका छोराछोरी कि विहान बेलुका घास दाउरा गरेर छाक टारिरहेका निमुखा नेपालीका सन्तान ? आखिर त्यो रक्तपातले फेरी पनि पछि पारेका थियो त केवल तीनै गरिब निरीह नेपालीका सन्तानलाई । उसो भए त्यो कसरी जनयुद्ध भयो। जसले केवल प्रताडित र पीडित बनायो त मात्रै पीडितहरुलाई नै । यसो हुँदा समाज अगाडी बढयो कि पछाडी धकेलियो ? के हिंसाको नेतृत्वकर्ताहरुसंग यसको चित्त बुझ्दो जवाफ छ ? अहं कदापी छैन ।
अर्को एउटा नजिर हेर्नुस । गाउँगाउँमा कृषी विकास बैंकहरु विस्तार भईरहेका थिए । सर्बसाधारण जनता उतिबेला नै बैंकिङ पहुचमा आउने क्रम सुरुवात भई सकेको थियो । तर युद्धको उद्घोष बैंकमा लुटपाट अनि विस्फोट गरेर भयो । ग्रामीण बस्तिमा पुगिसकेका बैंकहरु बिस्थापित भए । जसले नगद र बैंकसंग जोडिन पाउने गरिवहरुको अवसर बिचमै रोकिदियो । जुन अभियानको फेरी आरम्भ गर्नपरेको छ । फेरी पनि भन्नुस त्यती बेला नै बैंकसंग जोडिएर अर्थतन्त्रमा ग्रामीण जनताको पहुच पुग्न सकेको भए आज उनीहरुको अवस्था र स्तर कहाँ पुग्ने थियो होला ? के रक्तपातपुर्ण युद्धको शंखघोष गर्नेहरुलाई यसको हेक्का छ ? अवश्य छैन । सायद हुन्थ्यो भने निर्दोष नेपालीलाई दशकौ पछि पार्ने गरी रगतको खोलो बग्ने थिएन ।
अन्त्यमा भन्नैपर्छ माओबादीको त्यो रक्तपातपूर्ण छापामार युद्धलाई कुनैपनि कोण बाट सहि थियो भन्ने आधार नै भेटिदैन । हो यर्सथ हिंसालाई प्रश्रय दिने हरेक गतिबिधी बर्जित हुनैपर्छ । जसले देशलाई फेरी पछि धकेल्नेछ । यदि पच्चिस बर्ष अघि त्यो हिंसाको उल्टो यात्रा आरम्भ हुँदैन्थ्यो भने आज हामी परिबर्तनको कुन स्टेजमा पुगिसकेका हुने थियौं । जुन हाम्रो लागि हिंसाकै कारण यथार्थतामा कल्पना गर्नु बाहेक अरु केही रहेन । यर्सथ आजको एक्काईसौ शताब्दिमा समाज रुपान्तरण हिंसाबाट होईन समृद्धि, शिक्षा र समयसापेक्ष भौतिक बिकासबाट मात्र सम्भव छ ।










