बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?

एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी–उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने हाम्रो नैसर्गिक स्वभाव हो तर, अहिले जो नयाँ पुस्ता छन्, उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् ।

अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । तुलनात्मक रुपमा धेरै सन्तानलाई स्यहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो हुन्छ । जबकी एउटा बच्चा हुर्काउनका लागि अभिभावकलाई धेरै व्यायभार पर्दैन । बोझिलो हुँदैन । तर, बच्चाको कोणबाट हेर्ने हो भने, यो राम्रो मानिदैन । किनभने, घरमा एउटा मात्र बच्चा छ भने उनीहरु एक्लो हुन्छन् । उनीहरुको खेल्ने साथी हुँदैनन् । आफु समानका साथी नभएपछि उनीहरु एक्लिन्छन् ।

जब बच्चा एक्लिन्छन्, उनीहरुलाई आफ्नो मन बहलाउनका लागि मोवाइल चाहिन्छ । टेलिभिजन चाहिन्छ । खेल्ने साथी नभएपछि उनीहरु मोवाइलमा गेम खेलेर समय कटाउँछन् । टिभीमा कार्टुन हेरेर आफुलाई भुलाउँछन् ।

अहिलेको अवस्था के छ भने, शहरी क्षेत्रमा बच्चाहरुलाई खेल्ने ठाउँ छैन । टोलमा साथीहरु पनि पाइदैन । त्यसैले उनीहरु घरभित्रै बस्छन् । एउटा कोठाभित्र बसेर कम्प्युटर, ल्यापटप, मोवाइलमा गेम खेल्छन् । आमाबुबालाई त लाग्न सक्छ, ‘मेरो बच्चाले लुगा फोहोर बनाएन । लड्ने, चोट लाग्ने डर भएन । छिमेकका छोराछोरीसँग झगडा गरेनन् ।’ तर, यस विपरित बच्चाहरु कोठाभित्र खुम्चिएर बस्दा उनीहरुमा सामाजिक भावनाको विकास हुन पाउँदैन ।

तपाईं–हामीले अनुभव गरेकै छौं कि, बच्चालाई बच्चाजस्तै साथीहरु चाहिन्छ । उनीहरुले आफ्नो उमेर समानका दौतरी खोज्छन् । यसरी एकअर्का खेल्ने क्रममा उनीहरुले धेरै कुरा सिक्छन् । बुझ्छन् । बच्चासँग बच्चा नै साथी छ भने उनीहरुले आमाबुबा खोज्दैनन् । मोवाइल खोज्दैनन् । टेलिभिजन खोज्दैनन् । एकअर्का खेलेर, उफ्रिएर, झगडा गरेर (बच्चाबीचको झगडालाई सामान्य मान्नुपर्छ) समय कटाउँछन् । यसले प्रत्यक्ष रुपमा धेरै कुरामा फाइदा मिलिरहेको हुन्छ ।

बच्चाहरु आपसमा रमाउँछन् । खुसी हुन्छन् । उनीहरु खेल्ने कुरा, खानेकुरा साझेदार गर्छन् । यसले उनीहरुमा सहकार्यको भावना विकास हुन्छ । खेल्ने क्रममा कसले राम्रो गर्ने भन्ने वा कसले राम्रो बनाउने भन्ने हुन्छ । यसले प्रतिस्पर्धाको भावना विकास हुन्छ । एकअर्कासँग मिल्नु, जुध्नु, सहयोग आदनप्रदान गर्नु सिक्छन् ।

अहिलेका बच्चाहरुलाई हामीले पढाएका छौं । सफासुग्घर राखेका छौं । सुकिलो–मुकिलो बनाएका छौं । बच्चाहरुले राम्ररी पढिरहेका होलान् । परीक्षामा राम्रै नतिजा हासिल गरिरहेका होलान् । तर, सामान्य जीवनयापनका कुराहरु कति जानेका छन् ?

के उनीहरु घरमा आएको नव आगन्तुकलाई हार्दिकतापूर्वक स्वागत गर्छन् ? बाटोमा भेटिएका कुनै अनाथ साथीलाई सहयोग गर्छन् ? घरमा आमाबुबाको काममा सहयोग गर्न तत्पर हुन्छन् ?

बच्चालाई हामीले व्यवहारिक जीवन बाँच्न सिकाउनुपर्छ । उनीहरुलाई खान, बस्न, शिष्टचार पालना गराउन, सहयोग गर्न, सहकार्य गर्न, प्रतिस्पर्धा गर्न सिकाउनुपर्छ । सामाजिक भावनाको विकास गराउनुपर्छ ।

हामीले हाम्रो स्कुलमा बच्चाको जन्मदिन मनाउने फरक विधी अपनाएका छौं । जुन बच्चाको जन्मदिन हो, उसले चकलेट किनेर बाँड्ने होइन । बरु चकलेट किन्ने पैसा जम्मा गर्न लगाउँछौं । उनीहरुले आफ्नो जन्मदिनको मेसोमा बचत गरेको पैसा कुनै सामाजिक सेवामा खर्चन लगाइन्छ। भलै यी काम सामान्य लाग्छ । यद्यपी यीनै स–सना कामले उनीहरुमा सामाजिक भावनाको विकास गराउँछ ।

अहिलेका बच्चाहरुलाई विद्यालयमा होस् वा घरमा, सामाजिक आचरण सिकाउनुपर्छ । कहिले सामाजिक काममा लगाउने, कहिले आफन्तकहाँ लाने, कहिले साथीभाईसग घुलमिल गराउने जस्ता काम गर्नुपर्छ । यस्ता कुराले उनीहरुलाई सामाजिक जीवन बाँच्न सिकाउँछ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker