ठाडोभाका लोकगीतका चर्चित गायक स्व. दीपबहादुर थापा
देव बस्न्यात

दीपबहादुर थापा मोतीलाल थापाका नाती वीरबहादुर थापा र छलिमायाँ थापाका छोरा हुन् । उनी वि.सं. १९९५ सालमा साविक तनहुँसुर गाउँ विकास समिति वडा नं. ९ को हाल व्यास न.पा. वडा नं. ९ पदेलचौर गाउँमा जन्मेका थिए । सात वर्षको कलिलो उमेरमा नै उहाँले आफ्ना बाबा आमालाई गुमाउन पुगेका टुहुरा थापाका जेठा दाजु जयबहादुर थापा पनि ब्रिटिस सेनाको तर्फबाट दोश्रो विश्वयुद्धको सन्दर्भमा युद्धमैदान खटिंदा वीरगति प्राप्त गरेका थिए । युद्धको मैदानमा खटिएका बैरीका फौजले उहाँको पल्टनलाई चारै तिरबाट घेरी सबै सैनिकहरुलाई मृत्यको घाटमा उतारेका थिए। माहिलो दाजु नजिर सिंह थापा स्टेट बैंकमा भर्खर भर्खर जागिरे बनेका थिए । आलो घाउमा मल्हमपट्टी नलाग्दा फेरि नुन खुर्सानी थपियो ।
त्यही बेला माहिला दाजु नजिरसिंह थापा पनि कारागारमा पर्न जांदा दीपबहादुर थापाको जीवन झन कष्टकरमय बन्न पुगेको थियो । कान्छो भाईले पनि यस धरतीबाट चाँडैनै बिदा लिंदा आफ्ना र आफन्तको सहारा लिनै पर्ने भयो । सबै सदस्यले क्रमस छोड्दै गएपछि दीपबहादुर थापा टुहुरो नै बने । घरमा अभिभावकको अभाव खडकिंदा फराकचौरमा विवाह गरेर दिएकी ठूलीदिदी र भिनाजु प्रेमबहादुर अधिकारीको संरक्षकत्वमा बस्न परेको थियो थापा काजीलाई । सानै उमेरदेखि घाँस, दाउरा, मेलापात, कुटो, कोदालो र हलोलाई अभिन्न मित्र बनाउँदा पढाइका कुरा गोलखाडी नै बने । घांस दाउरा र मेलापातमै रम्न जाँदा गीत र मादल अभिन्न अङ्ग बन्न पुगे । हरेक मेलापातमा झ्याउरेगीत, ठाडोभाका गीत गाउने कुरा सामन्य मानिन्थ्यो । “संगते जायते फलम” बिस्तारै उहाँले पनि स्वरमा स्वर मिलाउँदै जाँदा गीताङ्गे बन्नुभयो । दिन प्रतिदिन गीत गाउनमा रस बस्यो । मेलापात होस या गाउँमा लगाइने सत्यनारायण पूजाको समयमा बस्ने दोहोरी गीत गाउने गिताङ्गेमा सहभागिता जनाए । थापाको गीत सुन्नका लागि धुइरिने गर्दथे ।
गीतमा चाख बढ्दै जाँदा दमौलीको माघे सक्रान्ति बजार, कर्पुटार, शिःसाघाट,पुतली बजार र मिर्लुङ पोखरीछापको शिवरात्री, चैतेदशै र फागुपूर्णिमा जस्ता जात्राहरुमा अनिवार्य पुग्दथे । यसरी नै थापाजी ठाडोभाका लोकगीत फाँटका चर्चित कलाकार बन्न पुगेका हुन । दीपबहादुर थापाजी जादुमय ढङ्गले ठाडोभाका गीत गाउने गर्दथे । देउबहादुर दुरा, भेंडीखर्केसाइला उर्फ दीर्घराज अधिकारीसंग लमजुङको कर्पुटार, मानेचौका स्थित पुतलीबजार, मिर्लुङको ठूलोढुङ्गा, पोखरीछाप, क्यामिन जौवारी, चन्द्रावतीबजार, दमौलीको माघेसंक्रान्ति बजार, च्याङलिङको शिवरात्री मेलादेखि गाउँघरमा हुने सत्यनारायण पूजा, विवाह-व्रतवन्ध लगायतका मेलापर्वहरुमा रमेर गीतहरु गाएका छन् । दमौली बजारमा लाग्ने माघे सक्रान्ति मेलामा र गाउँघरमा लगाइने सत्यनारायण पूजा, व्रतवन्ध तथा बिहेजस्ता पर्वहरुमा क्यामिनकै मिना गुरुङ, जनुका सार्की, सन्तुमायाँ सिञ्जाली मगर, मैवलकी ज्ञानुमायाँ थापामगर लगायतका धेरै जनाहरुसङ्ंग दोहोरी गीतहरु गाएका थिए ।
दीपबहादुर थापाले आजको बजारमा या पूजामा ठाडोभाका गीत गाउँदैछन भन्ने सुनेपछि गाउँका नामचलेका उत्सुक गायक-गायीकाहरु उहाँसंग खाल जमाउन र वरपरका श्रोतागणहरु पनि थापाका गीत सुन्नको लागि नेर धुइरिने हुने गर्दथे । थापाजी सातदिन सात रात सम्म लगातार गीत गाउँदा पनि कहिले थाकेको महसुस गरेको भेटिएन भन्ने कुरा साविक फराकचौर हाल व्यास-१ गल्बुबेसी निवासी श्री विष्णुबहादुर अधिकारीले हामीलाई बताए । थपाको कला र गला सुनेका र प्रत्यक्ष देखेका प्रसिद्ध लोकगायक बमबहादुर कार्कीले एक पटक ठाडोाका गीत रेकर्ड गर्नकै लागि रेडियो नेपालमा बोलाएका थिए । तर बमबहादुर कार्कीले गीत रेकर्डकै लागि रेडियो नेपालमा बोलाउँदा पनि काठमाण्डौ जाने बाटो खर्चको अभाव रहँदा काठमाण्डौ जाने कुरा सपना बनेको तितो यथार्थ उहाँकै नातिनी अञ्जना थापाले हाम्रो साक्षात्कारमा बताएकी थिइन ।
युवाबस्थामा पाइलो राखेका दीप थापा रोजगारीको लागि भारतको समालपुर र हैदरवादमा सरकारी जागिरका लागि पुगेका थिए । उहाँको परिवारमा श्रीमती देउकुमारी थापा, छोराहरुमा मानबहादुर थापा, रेखबहादुर थापा र केशव थापा रहेकाछन् । हाल उहाँका परिवारहरु व्यास नगरपालिका वडा नं. ११ फराकचौरमा बसोबास गर्दै आएका छन् । अन्ततः वि.सं. २०६९ सालको माघ २१ गतेका दिन उहाँले सबैसंग बिदा लिई स्वर्गवास स्विकारेका थिए ।










